तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कतै बेलिब्रिज जडान हुँदै त कतै लामो बेलिब्रिजको प्रतीक्षा, कतै पहिले बाटो बनाउनुपर्ने बाध्यता
- Author, प्रदीप बस्याल
- Author, ईश्वर जोशी
- Role, कृष्णभीर
- Published
- पढ्ने समय: ३ मिनेट
गल्छी-विदुर सडक खण्डमा पर्ने देवीघाटमा तादी खोलामाथि जारी बेलिब्रिज जडानकार्य आउँदो "करिब दुई दिनमा" सकिने अपेक्षा गरिएको सडक विभागका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
त्यहाँ यसअघि रहेको ५५ मिटर लामो पुल बगाएपछि हाल नेपाली सेनाले आफूसँग रहेको बेलिब्रिज प्रयोग गर्दै सडक सञ्चालन गर्न लागेको हो।
सडक विभागसँग ५० मिटर लम्बाइका पुल मात्र रहेकाले उसको डिजाइन प्रयोग गर्दै सेनाले जडानको काम गरिरहेको बताइएको छ। सेनासँग ७६ मिटरका बेलिब्रिज छन्।
अधिकारीहरूले अबको आफ्नो मुख्य प्राथमिकता भनेको सक्दो छिटो रसुवालाई राष्ट्रिय राजमार्गबाट जोड्ने एवं बाटो भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने रहेको बताएका छन्।
सरकारले रसुवा बाढीबाट ४१ वटा मोटर चल्ने पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर लम्बाइको सडक क्षतिग्रस्त भएको जनाएको छ
रसुवा जोड्ने चुनौती
१० भदौमा आएको रसुवा बाढीपछि रसुवा मुख्य सडक सञ्जालबाट टुटेको छ।
"हाम्रो प्राथमिकता सक्दो छिटो ब्रेत्रावतीसम्म बाटो खुलाउँदै रसुवाको धुन्चेलाई राष्ट्रिय राजमार्गसँग जोड्ने छ," विभागका प्रवक्ता इञ्जिनियर शुभराज न्याैपानेले बीबीसीसँग भने।
"बेत्रावतीमा यसअघि सडक भएको करिब ५०० भागमा खोला नै बगेकाले पहिलो काम त्यसलाई फर्काउनुपर्ने देखिएको छ। बेत्रावती बजारमै समेत ३-४ मिटरसम्म थुप्रिएको ढुङ्गा-माटो हटाउनुपर्ने चुनौती छ।"
बेत्रावतीमा बेलिब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकेको भए पनि पुलअघि सडकको पुर्ननिर्माण चुनौतीको रूपमा देखिएको हो।
सामान्यत: दुईदेखि तीन साताभित्र बेलिब्रिज जडान सम्भव हुने अधिकारीहरू बताउँछन्।
"तर त्यसअघि ट्र्याक खोल्न सकियो भने कहिलेकाहीँ खोलामा पाइपहरू राखेर गाडी गुडाइहाल्न सकिने विकल्प पनि हुन सक्छन्," न्यौपाने भन्छन्।
कृष्णभीरमा अझै पहिरोको चिन्ता
बाढीका कारण सडक भासिएपछि धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गसँग जोडिएको भित्तो काटेर एकतर्फी ट्र्याक खोल्न लागिए तापनि अझै प्राविधिकहरूले "सम्भावित पहिरो" मूल्याङ्कनको काम भइरहेको अधिकारीहरूले बताएका छन्।
त्यसकै आधारमा कति भित्तो काट्ने, कति सोएल नेलिङ (भित्तोलाई स्थिर बनाउन फलाम ठोक्ने विधि) अपनाउने, कति माइक्रोपायलिङ (जग बलियो बनाउने विधि) गर्ने भन्ने निर्क्यौल हुने सडक विभागका प्रवक्ता न्यौपाने भन्छन्।
"हाम्रो लक्ष्य त केही दिनमै ट्र्याक खोल्ने भन्ने हो। तर प्राविधिकहरूले माथि पहिरोमै गएर जोखिमको मूल्याङ्कन गरेपछि मात्र त्यसबारे प्रस्ट भन्न सकिने छ," उनले भने।
"जसकै आधारमा कति चौडाको ट्याक खोल्ने र कहिलेबाट सवारी चलाउन दिइने भन्ने निर्णय हुन्छ।"
आइतवार प्राविधिकहरूसाथ कृष्णभीर पुगेका सडक विभागका महानिर्देशक विजय जैसीले पुरानो "जटिल पहिरो" स्थलमा ट्र्याक खोल्न थालेसँगै त्यसको पछिल्लो अवस्थाबारे थप कुरा थाहा भइरहेको बीबीसीलाई बताए।
"पहिरोमा माथिसम्मै केही चिरा देखा परेका छन्। त्यसलाई तत्काल रोक्दै सक्दो छिटो खोल्ने प्रयास छ। त्यसको समयसीमाबारे अहिल्यै प्रस्ट भन्न सकिँदैन," जैसीले भने।
सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार पृथ्वी राजमार्गकै परेवाभीरमा समेत तलपट्टिबाट कटान भए पनि त्यहाँ भित्तोतर्फबाट बाटो खोल्न कृष्णभीरमा जस्तो समस्या देखिँदैन।
फुर्केखोलालाई १०० मिटरको बेलिब्रिजको प्रतीक्षा
सडक विभागका अधिकारीहरूले धादिङबेसी जोडिने फुर्केखोलामा सहायतामा चीनबाट आउन लागेको बेलिब्रिजको प्रतीक्षा भइरहेको बताएका छन्।
उक्त स्थानमा नेपालमा हाल उपलब्ध कुनै पनि बेलिब्रिजहरू उपयोगी हुने नदेखिएपछि सडक विभागका अधिकारीहरूले कम्तीमा ८० मिटर लम्बाइको बेलिब्रिज "कतैबाट खोज्ने" वा स्टीलको पुलको समेत विकल्प सोचिराखिएको बताएका थिए।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले गत शुक्रवार चीनले नेपालतर्फ पठाएका सहायता सामग्रीमा दुई बेलिब्रिजहरू १०० मिटर लम्बाइको रहेको बीबीसीसँग पुष्टि गरे। चीनबाट आउने बेलिब्रिजहरू कोरला नाका हुँदै आउने बताइएको छ।
"ती नेपालसँग हाल छोटा बेलिब्रिजहरू मात्र रहेको अवस्था र तत्कालको आवश्यकता हेरेर १०० मिटर लम्बाइका डबल लेन बेलिब्रिजहरू सहायता स्वरूप दिइएका हुन्," निरौलाले भने।
"हामीले विभिन्न लम्बाइका ३० वटा बेलिब्रिज सहायता स्वरूपमा मागेकामा वहाँहरूले यस क्रमलाई निरन्तरता दिइने बताउनु भएको छ।"
अधिकारीहरूले आंशिक रूपमा असर पुगेका पुलहरू समेत केही रहेको बताउँदै त्यसमा बेलिब्रिज जोडेर सञ्चालन गर्नका लागि समेत अध्ययन गर्ने लागिएको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।