सुनमा 'भारतमा जस्तै' भन्सारदर बनाइँदा नेपालमा भाउ ह्वात्तै घट्यो, अब 'आयात कोटा बढाउन' व्यवसायीको माग

नेपालमा सुनको भन्सार दर छ महिनामा आधाले घटाइएको छ
तस्बिरको क्याप्शन, नेपालमा सुनको भन्सार दर छ महिनामा आधाले घटाइएको छ
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपालले यस साताको सुरुमा सुनमा लिँदै आएको भन्सार दर आधाले घटाएसँगै आकासिएको सुन मूल्य हजारौँ रुपैयाँले घटेपछि अब सुन आयातको सीमा बढाउन व्यवसायीहरूले माग गरेका छन्।

सरकारले २० प्रतिशत भन्सार दर १० मा झार्ने निर्णय गरेको भोलिपल्ट आइतवारको तुलनामा सोमवार झन्डै १६ हजार रुपैयाँले नेपालमा सुन सस्तियो। आइतवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।

मङ्सिर ११ गते मङ्गलवार सुनको मूल्य थप घट्दै १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले भारतमा सुनको भन्सार दर ६ प्रतिशत हुँदाको व्यापक अन्तरले यसबीचमा "एकदमै अस्तव्यस्त" बनेको बजार अब सहज बन्ने आफूहरूको आशा रहेको बताउँछन्।

"त्यस्तो अन्तरले यसअघि एकातर्फ सीमा क्षेत्रका नेपाली ग्राहकहरू सुन किन्न भारततर्फ जाने गरेको र अर्कोतर्फ भारतबाट पनि गैरकानुनी बाटोमार्फत् सुन नेपाल भित्र्याइने अवस्था बनेको थियो," अध्यक्ष रसाइली भन्छन्।

"अब बजारमा देखिएको त्यस्तो विकृतिको अन्त्य हुन्छ भन्ने हामीहरूले ठानेका छौँ। तर अब ब्याङ्कहरूले सुन भित्र्याउन पाउने मात्रा नबढाइए फेरि तस्करलाई नै बढावा दिएजस्तो हुन्छ।"

कस्तो सीमा?

नेपाल राष्ट्रब्याङ्कले तोकेको हालको सीमा अनुसार दैनिक २० किलो सुन आयात गर्न पाइने व्यवस्था छ।

सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइली भन्छन्: "हामीले उक्त सीमा दैनिक ३० किलो पुर्‍याउन माग गरेका छौँ।"

सुन

तर नेपाल राष्ट्र ब्याङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेलले भन्सार दर दुई देशमा "उस्तै उस्तै पार्दा तस्करी नहुने" तत्काल लाभको विषय भएको बताउँछन्।

"मुख्य उद्देश्य वैध व्यापार होस् भन्ने नै हो। सुन पैसा सरहको वस्तु भएकाले त्यसमा कोटा तोक्ने काम राष्ट्र ब्याङ्कले गर्ने गर्छ। विगतमा त्यस्तो सीमा हामीले दैनिक १० किलो पनि पुर्‍याएका थियौँ," उनी भन्छन्।

"अहिले हामीसँग विदेशी मुद्राको सञ्चिति प्रशस्त छ तर त्यो सुन मात्रै किन्नमा खर्च गर्नुपर्छ भन्ने होइन।"

राष्ट्र ब्याङ्कका सहप्रवक्ता पोखरेलले अहिले अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटिरहेको र भन्सार दरमा गरिएको समायोजनले उपभोक्तालाई ठूलो राहत हुने बताउँछन्।

"यसको मतलब अब धेरै सुन आयात गरिहाल्नुपर्छ भन्ने चाहिँ होइन," पोखरेलले भने।

सुन नेपालले आयात गर्ने मुख्य २० वस्तुमध्येमा पर्ने भए तापनि त्यसलाई बिलासी वस्तुका रूपमा हेर्ने गरिन्छ।

ठूलो असर

सुन आयातको कोटा नेपाल राष्ट्रब्याङ्कले निर्धारण गर्नेगर्छ

यसअघि भारत र नेपाल दुवै देशमा सुनको भन्सार महसुल १५-१५ प्रतिशत रहेकामा यो वर्षको सुरुतिरबाट त्यसमा असन्तुलन देखिन थालेको थियो।

लोकसभा चुनावका कारण भारतमा यस पटक पूर्ण बजेट केही ढिलो गरी साउन आठमा आएको थियो।

तर नेपालमा जेठ १५ मै ल्याइएको बजेटमा सुनको भन्सार दर १५ बाट बढाएर २० प्रतिशत पुर्‍याइयो। पछि भारतमा भने १५ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याइयो।

जसले गर्दा नेपालमा औपचारिक बाटोबाट नभईकन खुला सीमाको लाभ उठाउँदै गैरकानुनी तवरबाट भारतबाट सुन आउने क्रम बढेको अधिकारी तथा व्यवसायीहरूले बताउँदै आएका थिए।

"अब कायम रहेको सानो मार्जिनका लागि तस्करहरूले ठूलो जोखिम उठाउने सम्भावना हुँदैन त्यसैले दुवैतर्फबाट सुन तस्करी हुने जोखिम कम हुन्छ," रसाइली भन्छन्।

"अहिलेसम्म भन्सारकै कारण व्यवसायीले ब्याङ्कबाट सुन उठाउन सकेका थिएनन्। बजारमा सुनको भाउमा निकै थपघट भएर बिक्री भएका अवस्था देखिए। अब नेपालभर सबैतिर एकनासले विश्वस्त भएर सुनको कारोबार पुरानै अवस्थामा फर्कन सक्नेमा हामी आशावादी छौँ।"

त्यसबीचमा अन्तर्राष्ट्रिय बजारमा धेरैतिर देखा परेको अनिश्चितताले गर्दा स्थिर लगानीको क्षेत्रका रूपमा सुनमा लगानी गर्नेहरू बढेसँगै त्यसको दोहोरो मार नेपाली बजारमा देखिएको विज्ञहरू बताउँछन्।

जसक्रममा मध्य कात्तिकमा नेपालमा हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको छापावाल सुनको मूल्य सोमवार घटेर १ लाख ५१ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ।

गत वर्षको कात्तिक र यस वर्षको कात्तिकबीचको एक वर्षमा नेपालमा सुनको मूल्यमा ५५ हजार रुपैयाँको वृद्धि देखिन्छ।

सुन कि डलर!

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजासँगै यसबीचमा अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्दै सुनको भाउ केही खस्किन थालेको देखिन्छ।

सामान्यत: अमेरिकी डलर बलियो हुँदा सुनमा लगानी गर्नेहरू घट्ने र त्यसको मूल्य समेत घट्ने अन्तर्राष्ट्रिय प्रवृत्ति हुने गर्छ।

यद्यपि नेपालमा डलर बलियो हुँदा सुन किन्न चाहनेहरू पनि बढ्ने गरेका पाइन्छन्। पछिल्लो एक वर्षमा नेपालमा अमेरिकी डलर र सुन दुवैको मूल्य बढिरहेको प्रवृत्ति देखिन्छ।

"अन्तर्राष्ट्रिय खुला बजारमा चाहिँ डलरमा लगानी गर्ने कि सुनमा भन्ने समय समयमा छुट्टिने गर्छ। तर हाम्रो हकमा त्यो हुबहु लागु भइरहेको हुँदैन," राष्ट्रब्याङ्कका सहप्रवक्ता पोखरेल भन्छन्।

"जस्तो, अमेरिकामा लगानीको परिदृश्य राम्रो देखिँदाको अवस्थामा सुनमा नभईकन डलरमा लगानी गर्नेहरू बढ्छन्।"

अमेरिकी डलर

उनले कनै बेला ठूल्ठूला केन्द्रीय ब्याङ्कहरूले ठूलो परिमाणमा सुन विक्री गर्दा समेत सुनको मूल्य तलमाथि पर्ने गरेको बताउँछन्।

राष्ट्रब्याङ्कका एकजना पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले अन्तर्राष्ट्रिय बजारमा धेरैतिर देखा परेको अनिश्चितताको असर सुन बजारमा पनि देखा परेको हालैको एक कुराकानीमा बीबीसीलाई बताएका थिए।

"रुसमाथि प्रतिबन्ध लगाउने क्रममा उसका धेरै खाताहरू रोक्का गरिएका छन्। त्यसले गर्दा कैयौँ देशका केन्द्रीय ब्याङ्कहरूले धेरै पैसा डलरमा राख्नु जोखिम हुने ठान्न थालेको देखिन्छ," मानन्धरले भनेका थिए।

अमेरिकामा राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले गरेका ब्याजदर र करका दरहरू घटाउने वाचाले खास गरी व्यावसायिक क्षेत्रलाई उत्साहित बनाएको जानकारहरू बताउँछन्।

ट्रम्पको जितको सम्भावना बढेदेखि नै पूँजीबजार उकालो लाग्नुलाई त्यसको असरका रूपमा हेरिएको बताइन्छ र त्यसयता डलर बलियो बन्ने क्रममा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।