'मिठो मानेर खानूस्, तौल घट्न सक्छ'

सुन्तलाको केस्रा

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ५ मिनेट

तपाईँले के खानुहुन्छ भन्दा पनि खाने कुराबारे कसरी सोच्नुहुन्छ, त्यसले ठूलो अर्थ राख्छ। हाम्रो मस्तिष्क र शरीरको सम्बन्धले पाचन प्रक्रिया निर्धारण गर्छ किनभने खाएको कुराप्रति हाम्रो अपेक्षाले हाम्रो मस्तिष्कको भोक र सन्तुष्टिबारेको बुझाइ प्रभावित गर्न सक्छ।

तपाईँले स्वादिलो चकलेट बार र कम क्यालरीको प्राकृतिक रूपमै गुलियो विकल्प छान्नुपरे कुन छान्नुहुन्छ?

खास गरी तौल घटाउने प्रयासमा आहार अनुशासनमा रहेका हामीमध्ये धेरैलाई दोस्रो विकल्प छान्नुपर्छ भन्ने तर्क जायज लाग्छ। तर स्वादिलो खानेकुरा छोड्न पनि कठिन पर्छ।

हामी स्वभावैले मिठो र ऊर्जायुक्त खानेकुरा मन पराउँछौँ। त्यो किन पनि भने हाम्रा पुर्खाहरू कुनै समय त्यसैमा निर्भर थिए।

अनि यो चुनौतीमा थपिएका छन् हाम्रो वरपर पाइने उच्च क्यालरीयुक्त र अतिप्रशोधित खानेकुराहरू। जब हामी त्यस्ता खानेकुरा खान्छौँ, हामीलाई हाम्रो आहार अनुशासन बिग्रिएको महसुस हुन्छ र बिनाकारण खाइयो भन्ने पछुतो पनि हुन सक्छ।

"अतिप्रशोधित खानेकुराहरू हेभी मेटल कन्सर्टजस्तै हुन्। तिनीहरूले बाँकी सबै कुरालाई त्यहाँबाट बाहिर राख्छन्। अनि मानिसहरूलाई शास्त्रीय सङ्गीतजस्तो लाग्ने फलफूल र सागसब्जी मन पर्न छोड्छ," मिशिगन विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक एश्ली गिअर्हार्ट भन्छिन्।

तर अनुसन्धानले स्वस्थ तौल कायम राख्नका लागि हामीले के खान्छौँ भन्नेमा मात्रै ध्यान दिन नहुने देखाएको छ। बरु खानेकुराप्रतिको हाम्रो सोचमा ध्यान दिनुपर्ने अनुसन्धाताहरूको राय छ।

वास्तवमा मिठो मानेर खाँदा स्वास्थ्यमा हुन सक्ने धेरै फाइदाहरू छन्। हामी खानेकुराबाट सन्तुष्ट हुँदा त्यसले हामी कति भोको छौँ भन्ने कुरालाई बिर्साउन सक्छ।

सन्तुष्टि नदिने 'स्वस्थ' मिल्कशेक

मिल्कशेक

तस्बिर स्रोत, Getty Images

अहिले चर्चामा रहेको आजभन्दा १५ वर्षअघिको परीक्षणमा वैज्ञानिकहरूले हामीले खाइरहेका छौँ भन्ने कुराको आभासले हाम्रो शरीरले जनाउने प्रतिक्रिया फरक पर्ने उल्लेख गरेको छ।

अमेरिकाको स्ट्यान्ड्फर्ड विश्वविद्यालयकी मनोवैज्ञानिक एलिआ क्रम नेतृत्वको टोलीले मानिसहरूको एक समूहलाई उच्च क्यालरी भएको मिल्कशेक खुवाएर उनीहरूले खाएको क्यालरीको परिमाणभन्दा पनि के खाए भन्ने आधारमा होर्मोनले जनाउने प्रतिक्रिया अध्ययन गरेको थियो।

अनुसन्धानका सहभागीहरू सबैलाई ३८९ क्यालरीको बराबर मात्रा मिल्कशेक दिइएको थियो। तर केहीलाई १४० क्यालरीको स्वस्थकर मिल्कशेक दिइएको भनियो र केहीलाई ६२० क्यालरीको स्वादिलो शेक दिइएको भनियो।

स्वादिलो शेक खाएको ठानेका व्यक्तिहरूमा भोक जगाउने 'ग्रेलिन' होर्मोन छिटो कम भएको देखियो। तर जब उनीहरूले खाएको शेक स्वादिलो नभएर कम क्यालरीको र स्वस्थकर चाहिँ रहेको भनियो, उनीहरूमा भोक निम्त्याउने होर्मोन निकै कम मात्र घट्यो।

यसले खानेकुराबारे उनीहरूको अपेक्षासँग शरीरले कसरी प्रतिक्रिया जनाउँछ भन्ने खुलासा गर्‍यो। "हामीले पर्याप्त खाएका छौँ भन्ने ठान्दा हाम्रो शरीरले पनि त्यो पर्याप्त नै भएजसरी प्रतिक्रिया जनाउँछ," क्रम भन्छिन्।

स्वस्थ तौल कायम राख्ने मामिलामा यो निकै महत्त्वपूर्ण छ किनभने यसले हाम्रो पाचन प्रक्रियामा 'ग्रेलिन' होर्मोनलाई तलमाथि पार्न ठूलो भूमिका खेल्छ। यदि हामीले अघाएको महसुस गरेनौँ भने हाम्रो 'मेटाबोलिजम' कम देखिन्छ र हामीले धेरै ऊर्जा खर्च गर्दैनौँ।

स्वस्थ तौल कायम गर्न खानेकुरामा नियन्त्रण कायम गर्नुपर्छ भन्ने सोच प्रत्युत्पादक पनि हुन सक्छ। "यदि तपाईँ तौल घटाउन प्रयासरत हुनुहुन्छ अनि तपाईँले गुलियो, चिल्लो र क्यालरीयुक्त खानेकुरा कम गर्नुभयो र तपाईँ कम खानुपर्छ भन्ने सोचमा हुनुहुन्छ भने त्यसले तपाईँलाई धेरै तौल घटाउन दिँदैन," उनी भन्छिन्।

क्रमले पनि यस्तो अध्ययनमा अघाएको महसुस गर्ने आनुवंशिक बुझाइमा समान किसिमका परिणाम निकालेकी थिइन्।

खानेकुरामा 'लेबलिङ'को महत्त्व

खानेकुरा समातेका एक व्यक्ति

तस्बिर स्रोत, Getty Images

खाद्य उत्पादनमा प्रयोग गरिएको 'लेबलिङ'ले पनि पाचन प्रक्रिया र तौलमा फरक पार्न सक्छ। अर्को एक अध्ययनका सहभागीहरूलाई 'स्वादिलो' वा 'स्वस्थकर' लेखिएका तर समान पोषण भएका प्रोटीन बार खान भनियो। तेस्रो समूहका मानिसहरूलाई त्यो बार कस्तो देखिन्छ भनेर मूल्याङ्कन मात्रै गर्न भनियो।

'स्वस्थकर' बार खाएका सहभागीहरूले कम सन्तुष्ट भएको र थप भोको भएको महसुस गरे। अनि उनीहरू थप खानेकुरा खानतिर लागे। उनीहरू प्रोटीन बार नै नखाएका मानिसहरू भन्दा भोकाएको महसुस गरेका थिए।

यसले के देखाउँछ भने 'स्वस्थकरको लेबलले मानिसहरूले त्यो खानेकुरा खाएर सन्तुष्ट नहुने देखाउँछ। अर्थात् 'स्वस्थकर' लेखिएका खानेकुरा खाएका मानिसहरू कम सन्तुष्ट महसुस गर्न सक्छन्।

स्वास्थ्य र पोषणभन्दा खानेकुरामा 'स्वस्थकर' र 'आनन्ददायी'को 'लेबल' लगाउँदा पनि मानिसहरूले ती खानेकुरा मन पराउने गरेको पाइयो। त्यसै गरी चकलेट केकजस्ता स्वादिला खानेकुरा खाएर पछुताउने मानिसहरू तौल घटाउन कम सफल भएको देखियो।

सबै परिणाम एक ठाउँमा राखेर हेर्दा यो अनुसन्धानले तौल घटाउन प्रयास गरिरहेका मानिसहरूलाई महत्त्वपूर्ण सन्देश दिएको छ।

डेभिड रब्सनले आफ्नो पुस्तक 'एक्सपेक्टेशन इफेक्ट'मा चर्चा गरेजस्तै मानिसहरूले कम क्यालरी खाने प्रयासमा धेरै खानेकुरा खान सक्छन्।

हामीले बरु आफ्नो शरीरमाथि विश्वास गरेर खानेकुरामा लगाइएका लेबल हेर्न छोड्नुपर्ने क्रम बताउँछिन्।

मनोविज्ञानकी प्राध्यापक गिअर्हार्ट पोषण र क्यालरीमा ध्यान दिनुभन्दा मिठो मनेर खानुपर्ने सुझाव दिन्छिन्।

सन्तुलित आहार खानुस्

बरुहामी प्रशोधन नगरिएका प्रोटीन र फलफूल तथा सागसब्जीजस्ता खानेकुरामा बढी केन्द्रित हुनुपर्ने गिअर्हार्ट बताउँछिन्।

"हाम्रो शरीर यस्तै खानेकुराका लागि बनेको हुन्छ," उनी भन्छिन्।

उच्च प्रशोधित खानेकुराले हामीलाई आवश्यक पोषक तत्त्व समेत दिँदैनन्। जसलेगर्दा हामीलाई धेरै खान मन लाग्छ।

क्रमका अनुसार हामीले स्वाद मानेर खायौँ भने पनि पोषणको आवश्यकता पूर्तिहुन्छ। यो भनेको खानेकुरा बार्नुभन्दा पनि शरीरलाई के चाहिन्छ भन्नेमा केन्द्रित हुनु हो। "ठिक समयमा सही खानेकुराको भोक लागेको कुरामा आफू र आफ्नो शरीरलाई विश्वास गर्नुहोस्," क्रम भन्छिन्।

कहिलेकाहीँ पार्टीमा पनि मजा मानेर खाने अनि सँगसँगै सन्तुलित खानेकुरा पनि खाने गर्नाले स्वस्थ तौल कायम गर्न सघाउ पुग्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।