म्यान्मारको सेना भन्छ, पूर्व नेत्री आङ सान सू चीलाई घरमै नजरबन्दमा सारियो

म्यान्मारको सरकारी टेलिभिजनमा सूचीलाई दुई जना बर्दीधारी अधिकारीसँग देखाइएको छ

तस्बिर स्रोत, Myanmar State TV

पढ्ने समय: ४ मिनेट

म्यान्मारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सू चीलाई घरमा नजरबन्दमा सारिएको र उनको सजायलाई घटाएर १८ वर्ष बनाइएको जनाएको छ।

सरकारी सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सू ची दुई जना सैनिक पोसाक लगाएका व्यक्तिका सामुन्ने बसिरहेको एउटा तस्बिर पनि प्रसारण गरेका छन्।

उनका छोरा किम एरिसले बीबीसीलाई उक्त तस्बिरको कुनै अर्थ नभएको बताए। उनका अनुसार त्यो चार वर्ष पुरानो तस्बिर हो र आफ्नी आमा जीवित छन् कि छैनन् भन्नेबारे आश्वस्त हुने गरी जानकारी नपाएको उनले बताए।

उनले प्रेस विज्ञप्तिबाट पछिल्लो जानकारी आएको भए पनि म्यान्मारको सैन्य सरकारलाई विश्वास गर्न नसकिने बताए।

सन् २०२१ मा सू चीको सरकारलाई सैन्य कूबाट अपदस्थ गरिएको थियो। उनलाई लगाइएका आरोपहरू आधारहीन रहेको धेरैले बताउने गरेका छन्।

सूचीबारे हामीलाई के थाहा छ

थुनामा रहेकी ८० वर्षकी नेत्री सू चीलाई घरमा नजरबन्दमा सारिएको म्यानमारको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको हो।

सन् २०२१ मा सैन्य कूमार्फत् अपदस्थ गरिएकी सू चीलाई त्यसयता राजधानी न्यापीडअस्थित सेनाको एउटा जेलमा थुनामा राखिएको ठानिएको थियो।

त्यसबेला कूको नेतृत्व गरेका म्यानमारका सैन्य नेता मिन आङ् ह्लाइङ्ले एउटा विज्ञप्तिमार्फत् सूचीले बाँकी सजाय 'निर्धारित निवासमै भोग्ने गरी घटाइएको' जनाएका हुन्।

म्यानमारका तत्कालीन शासकहरूले लोकतान्त्रिक प्रक्रियाहरूमा सुधार थालेपछि सन् २०१५ मा आङ सान सू ची सत्तामा आएकी थिइन्।

त्यसअघि, उनी दशकौँसम्म सैन्य शासनविरुद्धको लोकतान्त्रिक अभियानमा सक्रिय रहँदै आएकी थिइन् र १५ वर्षभन्दा बढी समय घरमै नजरबन्दमा राखिएकी थिइन्।

सरकारी सञ्चारमाध्यमले दुई जना बर्दीधारी सुरक्षाकर्मीसँग उनी बसिरहेको एउटा तस्बिर प्रसारण गरेका छन्।

उनका छोरा किम एरिसले यस घोषणाप्रति शङ्का व्यक्त गर्दै आफ्नी आमा जीवित रहे या नरहेको प्रमाण आफूले नपाएको बताएका छन्। सन् २०२२ मा लिइएकाले उक्त तस्बिर 'औचित्यहीन' रहेको उनको भनाइ छ।

"म अपेक्षा गर्छु कि यो साँचो होस्। मैले उनलाई सारिएको कुनै वास्तविक प्रमाण देख्न पाएको छैन्। त्यही भएर उनीसँग मैले सम्वाद गर्न नपाएसम्म वा कसैले उनको अवस्था र स्थिति स्वतन्त्र ढङ्गले पुष्टि नगरेसम्म, म केही पनि विश्वास गर्दिनँ।"

यो घोषणा गरिनु अघिसम्म सूचीको अवस्था वा उनको स्वास्थ्यबारे केही पनि बताइएको थिएन। डिसेम्बरमा किम एरिसले आफूले वर्षौँदेखि उनीबाट केही खबर नपाएको बताएका थिए।

उनको कानुनी टोलीले रोएटर्स समाचार संस्थालाई घरमा नजरबन्द राखिएको विषयमा कुनै प्रत्यक्ष जानकारी प्राप्त नभएको जनाएको छ।

पछिल्लो घटनाक्रमलाई कसरी विश्लेषण गरिएको छ?

पाँच वर्षभन्दाअघि शसस्त्र फौजहरूले उनको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि आङ सान सू चीका थोरै कुराहरू मात्रै देखिएका छन् तर उनको कुनै पनि धारणा बाहिर आएको छैन।

उनका वकिलले उनलाई तीन वर्षभन्दा बढी समय यता भेट्न पाएका छैनन्। उनको परिवारले उनीसँग दुई वर्षभन्दा बढी समय यता सम्पर्क गर्न पाएका छैनन्।

बिहीवार अघि उनी सन् २०२१को मे महिनामा अदालतमा उपस्थित हुँदाको उनको तस्बिर प्रकाशित भएको थियो। उनीविरूद्ध सेनाले प्रस्तुत गरेका अभियोगलाई धेरैले झुट्टा भन्ने गरेको पाइन्छ।

त्यसयता उनलाई सुनाइएको ३३ वर्षको सजायलाई पटक पटक कटौती गरिएको छ।

सरकारी सञ्चारमाध्यममा उनको उपस्थितिलाई सैन्य अधिकारीहरूले उनको हैसियतमा थप परिवर्तन गर्न सक्ने सङ्केतका रूपमा पनि हेरिएको छ। त्यो भनेको उनको आंशिक वा पूर्ण रिहाइ पनि हुन सक्छ।

कूको नेतृत्व गरेका मिन आङ् ह्लाइङ्ले आफ्नो सत्तालाई अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएको अवस्था अन्त्य गर्न लालायित देखिन्छन्। देशभित्रका विपक्षी सश स्त्र समूहहरूमाथि लगातार प्राप्त सफलताबाट उनमा आत्मविश्वास बढेको देखिन्छ।

यसै वर्षको सुरुमा सैन्य जुन्टाले एउटा निर्वाचन गराएको थियो। त्यसबाट राष्ट्रिय रूपमा निर्वाचित सरकार पुनःस्थापित गरिएको दाबी गरिए पनि वास्तविक सत्ता पुरानै सैनिक नेताहरूकै हातमा रहेको छ।

अघिल्लो पटकको नजरबन्दका बेला अपनाएको सम्मानजनक र अहिंसात्मक प्रतिरोधले म्यानमारभरि र विश्वभर आङ सान सू चीले धेरै समर्थक र प्रशंसक कमाएकी थिइन्। उनले आफ्नो घरको आँगनबाट समर्थकहरूलाई सम्बोधन गर्दै भाषण गरेको दृश्य विशेष रूपमा चर्चित थियो। उनले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन्।

तर सन् २०१७ मा मुस्लिम रोहिन्जिया समुदायमाथि सेनाले गरेका अत्याचारबारे अन्तर्राष्ट्रिय न्यायालयमा म्यानमारको बचाउको नेतृत्व गर्ने उनको निर्णयले अन्तर्राष्ट्रिय स्तरमा रहेको उनको सम्मानित छविमा गम्भीर आघात पुर्‍याएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।