डढेलोका कारण फ्रान्स र स्पेनमा २ लाख २० हजारभन्दा बढी मानिसलाई अन्यत्र सारियो

युरोप डढेलो

तस्बिर स्रोत, EPA

    • Author, जेसिका रोन्ज्ले
  • Published
  • पढ्ने समय: ४ मिनेट

फ्रान्सका अधिकारीहरूले बोर्डो सहर नजिकबाट करिब ६० हजार जना मानिसहरूलाई अन्यत्र सार्ने आदेश दिएका छन्। यससँगै फ्रान्स र स्पेनमा डढेलोका कारण आफ्ना ठाउँ छाड्न भनिएका मानिसहरूको कुल सङ्ख्या दुई लाख बीस हजारभन्दा धेरै पुगेको छ।

दक्षिण-पश्चिम फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रहरूमा करिब दुई लाख मानिसहरूलाई खाली गरिएको छ। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले उद्धार कार्यमा सघाउन भन्दै सेना परिचालन गरेका छन्।

यसैबीच मड्रिडनजिकै लागेको आगो अग्निनियन्त्रकहरूको नियन्त्रण गर्न सक्ने "क्षमताभन्दा बाहिर" पुगेको स्पेनी अधिकारीहरूले चेतावनी दिएका छन्।

राजधानीको पश्चिममा तीन वटा डढेलो एउटैमा मिसिएपछि त्यस्तो परिस्थिति सिर्जना भएको थियो।

स्पेन सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। सो क्रममा उसले २५,००० मानिसहरूलाई अन्यत्र सर्न र करिब ४०,००० जनालाई घरभित्रै बस्न भनेको छ।

'अग्निनियन्त्रकको क्षमताबाहिर'

स्पेनमा नियन्त्रणको प्रयासमा अग्निनियन्त्रकहरू

तस्बिर स्रोत, Getty Images

मड्रिडका क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले त्यसलाई उक्त "क्षेत्रको इतिहासको सबैभन्दा खराब आगलागी" भनेर वर्णन गरेकी छिन्। त्यस भेगले उच्च तापक्रम, लगातारको हावा र जोडिइरहेका आगोका कारण "चर्को आँधी"को सामना गरिरहेको छ।

स्पेनका स्थानीय आपत्कालीन सेवाहरूले बताएअनुसार डढेलो राजधानीबाट लगभग ५० किलोमिटर परका दुई नगरपालिकातर्फ सर्ने क्रममा छ।

अग्निनियन्त्रकहरू

तस्बिर स्रोत, AFP via Getty Images

"डढेलो उत्कर्षमा छ र हाल अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर छ," मड्रिड क्षेत्रीय सरकारका आपत्कालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले पत्रकारहरूलाई भने।

"त्यो क्षेत्रमा आगोसँग जुझ्न सम्भव छैन, त्यसैले रक्षात्मक उपायहरू अपनाइँदै छ," उनले थपे।

फ्रान्समा 'निकै तनावपूर्ण अवस्था'

दक्षिण-पश्चिम फ्रान्समा शनिवार बिहानै बोर्डोनजिकैका चार सहरहरूलाई "सावधानीका रूपमा" खाली गरिएको थियो। तिनको कुल जनसङ्ख्या ५८,४०० छ।

गिरोन्डको आगलागीबाट १९,००० हेक्टरभन्दा बढी जङ्गल जलेको छ र झन्डै ८० घरहरू नष्ट भएको बताइएको छ।

अधिकारीहरूले दक्षिणपश्चिमी तटमा रहेको क्याप फेरेट प्रायद्वीपलाई पूरै खाली गराएका छन्। उक्त लोकप्रिय पर्यटकीय स्थलमा आगो फैलिएपछि सयौँ मानिसहरू डुङ्गा चढेर भागेका छन्।

उक्त क्षेत्रमा वर्षभरि बस्ने मानिसको सङ्ख्या ८,००० भन्दा कम भए तापनि गर्मी बिदाको मौसममा त्यो १० गुणासम्म बढ्न सक्छ।

भागिरहेका डढेलो प्रभावित

तस्बिर स्रोत, Getty Images

त्यहाँका अग्नि तथा उद्धार प्रमुख मार्क भर्म्युलेनका अनुसार सन् २०२२ मा यस क्षेत्रमा लागेको विनाशकारी आगलागीको तुलनामा अहिलेको अवस्था बढी गम्भीर छ। लामो खडेरीका कारण आगो रातभरि फैलिएको बताइएको छ

"हामीले यो परिमाणको कन्भेक्टिभ आगो कहिल्यै देखेका छैनौँ," फ्रान्सका आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले फ्रान्सेली प्रसारक टिएफवानलाई भने। उनले करिब ५० जना अग्नि नियन्त्रकहरू घाइते भएको समेत बताए।

राष्ट्रपति माक्रोँले देशको र विशेष गरी गिरोन्डको डढेलोको अवस्थालाई "निकै तनावपूर्ण" रहेको बताएका छन्।

दक्षिण युरोपभरि चरम अवस्था

युरोपेली सङ्घ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउन विमान र हेलिकप्टरहरू खटाएको गरेको छ।

दक्षिणी युरोपको धेरैजसो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुधिरहेका बेला ईयूले त्यसो गरेको हो।

युरोप सबैभन्दा छिटो तापक्रम बढिरहेको महादेश हो जहाँ सन् १९८० को दशकदेखि विश्वव्यापी औसतभन्दा दोब्बरभन्दा बढीले तापक्रम बढिरहेको ईयूको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले जनाएको छ।

डढेलो

तस्बिर स्रोत, Jo Kent/BBC

तातो, सुक्खा अवस्थाले वनस्पतिमा कम आर्द्रता छोडिरहेको हुनाले जङ्गलमा आगो लाग्न र छिटो फैलिने अवस्था सिर्जना गर्छ।

त्यसका बावजुद पनि त्यो सुरु हुन कुनै 'स्पार्क' आवश्यक हुन्छ। त्यस्तो अवस्था प्रायः मानव गतिविधिबाट, चाहे आकस्मिक होस् वा जानाजानी वा बिजुलीबाट उत्पन्न हुने गर्छ। अत्यधिक गर्मी, सुक्खा वनस्पति र तेज हावाले आगोलाई छिटो जलाउन सक्छ र नियन्त्रण गर्न धेरै गाह्रो हुन सक्छ।

युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार विगत दुई दशकको वार्षिक औसतभन्दा यस वर्ष युरोपमा डढेलोले धेरै जमिन जलाएको छ।

युरोपेली वातावरण निकायले "जलवायु परिवर्तनले युरोपभरि डढेलोको जोखिम बढाएको" जनाउँदै दक्षिणी युरोपमा सबैभन्दा ठूलो जोखिम हुने अपेक्षा गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।