कुकुरसँग संसर्ग गर्न थालेपछि भारतीय खैरो ब्वाँसोको अस्तित्व 'खतरामा'

कुकुर र ब्वाँसोका ठिमाहा
तस्बिरको क्याप्शन, साधारण खैरो ब्वाँसोभन्दा यो जीव एकदम बेग्लै देखिन्छ
    • Author, जाह्नवी मूले
    • Role, बीबीसी मराठी
  • Published
  • पढ्ने समय: ७ मिनेट

भारतको पश्चिमी राज्य महाराष्ट्रको पुणे सहरनजिकै अवस्थित घाँसेमैदानमा डुलिरहँदा सिद्धेश ब्राह्मणकरले एउटा अलिक अनौठो जनावर देखे।

“हामी संयोगले त्यहाँ पुगेका बेला त्यो जनावर देख्यौँ। हेर्दा ब्वाँसोजस्तो देखिए पनि हामी पक्का हुन सकेनौँ। त्यो निक्खर खैरो थिएन बरु खैरोमा अलि सुन्तला रङ्ग मिसिएको जस्तो देखिन्थ्यो। यो कुरा सन् २०१४ को अन्त्यतिरको हो।”

नागरिक नेतृत्वमा रहेको संरक्षण समूह 'द ग्रासल्यान्ड्स ट्रस्ट' का सहकर्मीहरू र उनले त्यसपछि सो क्षेत्रमा अरू पनि त्यस्तै जनावर देखा परेको सुने।

उनीहरूले त्यसबारे थप खोज्न थाले।

“लकडाउनको समयमा पुणेनजिकै हामीले त्यस्तै खैरो-सुन्तला रङ्गको जनावर देख्यौँ। अनि ब्वाँसोजस्तै देखिने तर जीउमा धर्सा भएको पोथी जनावर पनि देख्यौँ,” ग्रासल्यान्ड्स ट्रस्टका संस्थापक अध्यक्ष मिहिर गोडबोले सम्झिन्छन्।

वैज्ञानिकहरूको निर्देशनमा अनि वन विभागसँग अनुमति लिएर उक्त टोलीले सो जनावरका रौँ तथा दिसाका नमुना सङ्कलन गर्‍यो। त्यो सजिलो काम थिएन।

मिहिर गोडबोले भन्छन्, “ब्वाँसाहरू गजबका र रहस्यमय जनावर हुन्। तिनलाई पछ्याउनु निकै कठिन काम हो। मानिसहरूनजिकै बसोबास गर्ने हुनाले तिनले हामीलाई छक्याइहाल्थे। तर हामीले कैयौँ दिनसम्म तिनको झुन्डको गतिविधि नियाल्यौँ। ती कहाँ बस्छन् र कहिले ठाउँ छाड्छन् भन्ने हेर्‍यौँ। त्यसरी नै हामीले तिनका रौँ तथा दिसा सङ्कलन गर्‍यौँ।”

जीनोम सिक्वन्सिङ गरेर हेर्दा उनीहरूको शङ्का सही प्रमाणित भयो। त्यो त ब्वाँसो र कुकुरबीचको वर्णसङ्कर वा ठिमाहा भएको पुष्टि भयो। (यो ठिमाहा जीव 'वुल्फडग' भनिने ब्वाँसो पुर्खाको धेरै जीन बोक्ने घरपालुवा कुकुरको एउटा प्रकार भन्दा नितान्त भिन्न हो।)

वुल्फ-डग वा ब्वाँसो-कुकुर ठिमाहा प्रजातिबारे विश्वका विभिन्न भागमा अध्ययन भए पनि भारतको यो अध्ययनले त्यसको पहिलो वैज्ञानिक प्रमाण उपलब्ध गराएको थियो।

कुकुर र ब्वाँसोका ठिमाहाको झुन्ड
तस्बिरको क्याप्शन, कुकुर र ब्वाँसोका ठिमाहाको झुन्ड

यो अध्ययनले दोस्रो पुस्ताको जीवबाट पनि ठिमाहा जन्मिएको प्रमाण देखायो। अर्थात् वर्णसङ्कर जीवले पुन: ब्वाँसोसँग प्रजनन गरेका थिए।

तीनवटा संस्था - द ग्रासल्यान्ड्स ट्रस्ट, अशोक ट्रस्ट फर रिसर्च इन इकोलजी एन्ड इन्भाइरमन्ट(आट्री) तथा न्याश्नल सेन्टर फर बायोलजिकल साइअन्सेज - मिलेर गरेको यो अध्ययन जर्नल अफ इकोलजी एन्ड इभलूशनमा प्रकाशित भएको छ।

यसले कसरी बाहिर छाडिएका कुकुरहरूले ब्वाँसो तथा अन्य वन्यजन्तुको प्रजातिलाई जोखिममा पारिरहेको छ भन्ने विषय पनि उजागर भएको छ।

कुकुर र ब्वाँसाका वर्णसङ्कर कसरी जन्मिरहेका छन् र थप अध्ययन किन आवश्यक पर्छ भन्ने जिज्ञासा तपाईँमा उत्पन्न हुन सक्छ।

भारतको घाँसेमैदानका राजा

संसारभरि खैरा ब्वाँसा विभिन्न किसिमका ठाउँमा पाइन्छन् – घाँसेमैदान, मरुभूमि, वनजङ्गल तथा चिसा तुन्द्रा इलाका। भारतमा तिनको बसोबास मानवबस्तीनजिकैका झाडी तथा घाँसेमैदानमा हुने गर्छ।

अफ्रिको 'सभ्याना' घाँसेमैदान त्यसैका लागि परिचित ठाउँ हो। त्योभन्दा कम परिचित भए पनि भारतमा हिमाली भेगभन्दा तल फैलिएको तराई प्रदेश अनि राजस्थान तथा महाराष्ट्रमा त्यस्ता घाँसेमैदानहरू छन्।

“भारतीय सभ्याना (घाँसेमैदान) एउटा अद्वितीय पर्याप्रणाली हो जहाँ मृगजस्ता जनावर, दुम्सी तथा सङ्कटापन्न 'ग्रेट इन्डियन बस्टर्ड'जस्ता चरा पाइन्छन्। ब्वाँसो ती क्षेत्रका महत्त्वपूर्ण जनावर हुन्,” मिहिर गोडबोले भन्छन्।

पुणे
तस्बिरको क्याप्शन, पुणे जिल्लाको सासवड क्षेत्रका घाँसैमैदानमा ब्वाँसाहरू बस्छन्

भारतमा ब्वाँसोका दुई प्रजाति पाइन्छन् – द हिमालयन वुल्फ (क्यानिस हिमालयेन्सिस) र द इन्डियन ग्रे वुल्फ (क्यानिस लुपस पालिपेस)।

विश्वका जङ्गली खैरा ब्वाँसाहरूको प्राचीनतममध्येको ब्वाँसो प्रजातिबाट आएका हुनाले 'इन्डियन ग्रे वुल्फ' विशेष महत्त्वको मानिन्छ। त्यसैले ती लोप भए भने प्राचीन र क्रमविकासको एउटा महत्त्वपूर्ण शृङ्खला मासिने छ।

भारतजस्ता देशमा खैरो ब्वाँसोको प्रजाति लोपोन्मुख रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष 'आईयूसीएन'ले जनाएको छ।

भारतको वन्यजन्तु ऐन (१९७२)ले संरक्षण गरे पनि तिनको बासस्थानमा बढ्दो मानवीय अतिक्रमणका कारण खैरा ब्वाँसाले धेरै चुनौती भोगेका छन्।

ब्वाँसो
तस्बिरको क्याप्शन, पुणेनजिकैको घाँसेमैदानमा देखिएको ब्वाँसोको एउटा झुन्ड

इन्डियन ग्रे वुल्फको सङ्ख्या २,००० देखि ३,००० जति रहेको अनुमान छ।

तर वैज्ञानिकहरू त्यो सङ्ख्यामा विश्वास गरिहाल्न नहुने भन्छन् किनकि बाघको जस्तो तिनको उचित गणना गरिएको छैन।

महाराष्ट्र ती जनावरको प्रमुख वासस्थान हो जहाँ पुणे सहरनजिकैको घाँसे मैदानमा झन्डै ३० वटा ब्वाँसा बस्छन्।

वैज्ञानिकहरूले त्यहीँ नै ब्वाँसा र कुकुरको वर्णसङ्करबारे अध्ययन गरिरहेका छन्।

अध्ययनको निष्कर्ष के हो

“कुकुर र ब्वाँसाहरू आनुवंशिक रूपमा निकटका प्रजाति हुन्। एक अर्थमा भन्ने हो भने ब्वाँसोको घरपालुवा रूप नै कुकुर हो,” आट्रीमा कार्यरत जैविक विविधता विशेषज्ञ अबि वनकले भने।

“संसारभरि ब्वाँसो र कुकुरको समागमबाट ठिमाहाको जन्म भएको घटना भएका छन्। कुनै क्षेत्रमा ब्वाँसाको सङ्ख्या घट्न थाल्दा तिनले प्रजननका लागि साथी नभेट्टाएपछि कुकुरसँग संसर्ग गर्न पुग्छन्।”

ब्वाँसो
तस्बिरको क्याप्शन, कुनै ठाउँमा ब्वाँसोको सङ्ख्या कम भए त्यहाँ तिनले प्रजननका लागि साथी भेट्टाउँदैनन्

पछिल्ला दशकहरूमा खेती, चरन, फोहर फ्याँक्ने तथा सहरीकरणको विस्तार जस्ता मानवीय गतिविधि घाँसेमैदान वरपर बढेका छन्। मानव बसोबाससँगै छाडा कुकुरहरू त्यहाँ पुग्छन् र तिनको जङ्गली ब्वाँसासँग मेलजोल हुन थाल्छ।

मानिसले नै त्यस्तो संसर्ग प्रोत्साहन गरेका घटना पनि छन्। कैयौँ ठाउँमा यसलाई गैरकानुनी मानिन्छ। तर यस्ता कार्यले ब्वाँसोको प्रजाति चाहिँ खतरामा पर्छ किनभने यसले ती विशिष्ट आनुवंशिक गुणसहितको प्रजाति पूरै लोप हुने सम्भावना बढ्छ।

न्याश्नल सेन्टर फर बायोलजिकल साइअन्सेज (एनसीबीएस) का मलेक्युलर इकोलजिस्ट तथा प्राध्यापक उमा रामाकृष्णनले त्यस्तो खतराबारे वर्णन गरे। उनकै प्रयोगशालामा जीनोम सिक्वन्सिङ गरिएको थियो।

“यो भनेको दुइटा रङ्ग बट्टा तपाईँसँग भए जस्तै हो। यदि तिनलाई मिसाइयो भने पहिलाको जस्तो रहँदैन। त्यस्तै दुई किसिमका जनावरको समागम हुँदा प्रजातिको विशिष्ट ‘जीन पुल’ बिलाउँदै जान्छ,” उनले भने।

“यदि दुई जनावरमध्ये एउटाको सङ्ख्या अत्यधिक छ भने - जस्तो यहाँनेर कुकुरको सङ्ख्या अत्यधिक छ – भविष्यमा कुकुरको जीनले वर्चस्व कायम गर्दै ब्वाँसो पूरै लोप हुन सक्छ।”

अबि वनकले भने, “आनुवंशिक रूपमा धेरै भिन्नता छ। घरपालुवा भएपछि कुकुरले ब्वाँसोका थुप्रै विशेषता गुमाइसक्यो। कुकुरहरू अलि कमजोर अनि साना आकारका भएका छन्। दुई जनावरको समागम हुँदा ब्वाँसोमा ती विशेषता सर्न सक्छ जसले तिनको जीवन थप खतरामा पर्न सक्छ।”

ब्वाँसो
तस्बिरको क्याप्शन, महाराष्ट्रका घाँसेमैदानको खाद्य शृङ्खलामा ब्वाँसोको स्थान महत्त्वपूर्ण छ

खतरा त्यति मात्र पनि होइन।

मिहिर गोडबोले भन्छन्, “कुकुरहरूले भाइरस एवं रेबिजजस्ता रोग फैलाइदिन सक्छन्। ती रोग यदि सङ्क्रामक छन् कि कुनै इलाकाको पूरै ब्वाँसा सङ्ख्या सिद्धिन सक्छ। साथै ती कुकुरहरूले खाने साना पशु ब्वाँसोका पनि आहारा हुन्।”

उनको टोलीले गरेको अर्को अध्ययनमा चितुवाको सङ्ख्या बढ्दा घाँसेमैदानमा कसरी पर्यावरणीय सन्तुलन खलबलिएको छ भन्ने देखाउँछ।

तर अझै पनि ब्वाँसोको संरक्षणका लागि ठोस कदम चालिएको छैन।

ब्वाँसोको संरक्षण, घाँसे मैदानको रक्षा

अबि वनक भन्छन्, “हामीले ब्वाँसो संरक्षणलाई बाघ संरक्षणजस्तै भनेर सोच्न हुँदैन। यो प्रजातिका लागि बेग्लै संरक्षित क्षेत्र बनाउन सकिँदैन किनभने तिनको उपस्थिति मिश्रित प्रयोग हुने क्षेत्रमा हुन्छ र मानिसले पालेका जनावर तिनको आहारा हुने गर्छन्। त्यसैले चरनमा आश्रित समुदाय एवं अन्य विभिन्न सरोकारवालाहरूको विषय पनि ध्यान दिनुपर्ने हुन्छ।”

ब्वाँसो
तस्बिरको क्याप्शन, भारतमा पाइने ब्वाँसो प्राचीन प्रजातिको मानिन्छ

द ग्रासल्यान्ड्स ट्रस्टले अहिले स्थानीय गाउँले एवं सरोकारवालाहरूसँग मिलेर घाँसेमैदान र त्यहाँका जीवजन्तु संरक्षणका लागि सानो परियोजनामा काम गरिरहेको छ।

उसले राज्यको वन मन्त्रालयसमक्ष ब्वाँसो संरक्षण कार्यक्रमको प्रस्ताव पनि गरेको छ तर त्यसमा अनुमति पाउन बाँकी छ।

उमा रामकृष्णनका लागि यो अध्ययनले थप प्रश्नहरू उब्जाएको छ।

“ठूलो चुनौती त नयाँ वर्णसङ्करलाई कसरी वर्गीकरण गर्ने? के ती पनि वन्यजन्तु ऐनबाट संरक्षित छन्? तिनलाई के गर्ने? ती केवल नैतिक मात्र नभई पर्यावरणीय एवं जैविक प्रश्न पनि हुन्।”

आनुवंशिक विशेषताले हामीलाई कुनै विशिष्ट क्षेत्रका जीवमा के हुँदै छ भन्ने देखाउँछ। अनि त्यसको आधारमा वैज्ञानिकहरूले सुझाव दिन सक्ने उनले बताइन्।

“क्रमविकासको विषयमा सोच्दा हामीले विगतको बारेमा मात्र सोच्छौँ। तर यो त भविष्यमा पनि भइरहन्छ। त्यसैले कुनै प्रजातिको विकास हुँदै गर्दा के मानवीय गतिविधिले त्यसको दिशा निर्धारण गर्न सक्छ?”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।