'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'

तस्बिर स्रोत, Gabby
- Author, रिबेका थर्न
- Role, वर्ल्ड सर्भिस ग्लोबल हेल्थ
- Published
- पढ्ने समय: ६ मिनेट
छ वर्षकी हुँदा ग्याबीको शरीरका विभिन्न भागमा रौँहरू उम्रन थाले। त्यसै वर्ष उनको महिनावारी पनि सुरु भयो।
आफ्नो छोरीलाई के भएको हो भनेर झस्किएकी उनकी आमाले उनलाई डाक्टरकहाँ पुर्याइन्।
"बालबालिका हेर्ने डाक्टरहरूको टोलीले यस्तो विषयमा कहिल्यै नसुनेका कारण अनुसन्धान गर्नुपरेको थियो," बीबीसी विश्व सेवासँग कुरा गर्दै इङ्ग्ल्यान्डकी ग्याबीले भनिन्। "यसको उपचार कसरी गर्ने भनेर उनीहरू देशका अन्य ठाउँमा रहेका अस्पतालहरूमा पुग्नुपरेको थियो।"
हाल २६ वर्षीया ग्याबीमा 'सेन्ट्रल प्रिकोशस प्यूबर्टी' अर्थात् सामान्य समयभन्दा धेरै अगावै यौवनावस्थाको सुरुवात देखिएको थियो। यस्तो अवस्थामा बालकमा नौ वर्षअघि र बालिकामा आठ वर्षअघि यौवनावस्थाको सुरुवातका सङ्केतहरू देखिन्छन्।
यस्तो अवस्था कतिमा देखिन्छ भन्ने देशअनुसार फरक पर्छ।
तर बालिकाहरू यसबाट धेरै प्रभावित भएको देखिएको छ। प्रत्येक वर्ष विश्वभरिमा प्रत्येक १० हजार बालिकाहरूमध्ये ०.२ देखि २६ सम्ममा र बालकहरूमा ०.०२देखि ०.९ सम्ममा यस्तो समस्या देखा पर्छ।
यसरी समयअगावै यौवनावस्था सुरु हुँदा बालबालिकालाई तत्काल मात्रै नभई पछि पनि क्यान्सर र मुटुसम्बन्धी रोगहरू देखापर्ने खतरा बढी हुन सक्छ।
'म आफूलाई अर्कै ग्रहको जस्तो महसुस गर्थेँ'

तस्बिर स्रोत, Gabby
आफू सानै हुँदा यौवनावस्था सुरु भएका कारण ग्याबी त्यो समय सम्झिन सक्दिनन्। तर त्यो क्षण पीडादायी थियो भन्ने उनलाई सम्झना छ।
"पीडाका कारण पेट थिचेर भुईँमा बसेको मलाई याद छ," उनले भनिन्।
झन्डै एक वर्षको परीक्षण र विशेषज्ञहरूलाई देखाएपछि उनको मस्तिष्कको एमआरआई स्क्यानमा यस्तो अवस्था निम्त्याउने कुनै स्पष्ट सङ्केत नदेखिए पनि ग्याबीलाई 'सेन्ट्रल प्रिकोशस प्यूबर्टी' भएको पत्ता लाग्यो। त्यसपछि उनलाई होर्मोन अवरोधक औषधि 'गोनाडट्रोपिन-रिलिजिङ होर्मोन एगनिस्ट' (जीएनआरएच) दिन थालियो।
"म आफूलाई एकदमै अर्कै ग्रहको जस्तो महसुस गर्थेँ किनभने म लगातार विभिन्न परीक्षणहरू गराइरहेकी थिएँ र मेरो होर्मोन रोक्नका लागि हरेक तीन हप्तामा एउटा सुई लगाइन्थ्यो," उनले भनिन्।

तस्बिर स्रोत, Gabby
जीएनआरएचको सुई नियमित दिँदा त्यसले यौवनावस्थालाई रोकिदिन्छ र बालबालिकालाई उनीहरूकै उमेरको दरअनुसार बढाउँछ। त्यसपछि ११ र १२ वर्षको बीचमा त्यस्तो औषधि रोकिन्छ, जतिबेला सामान्य रूपमा यौवनावस्था सुरु हुन्छ।
औषधि ग्याबीको समयअगावैको शारीरिक विकास रोक्न प्रभावकारी भए पनि उनले त्यसअघि नै एक वर्ष यौवनावस्था गुजारिसकेकी थिइन्।
"ऐनामा हेर्दा म बुझ्न सक्दिनथेँ म को हुँ र किन म मानसिक रूपमा महसुस गर्नेभन्दा बढी उमेरकी देखिन्छु। त्यसले गर्दा म हुनुपर्नेभन्दा बढी परिपक्व देखिनुपर्छ भन्ने बनाएको थियो सायद," उनले भनिन्।
समयअगावै किन यौवनावस्था सुरु हुन्छ?
यहाँ दुई किसिमका अवस्था हुन्छन् :
- समयअघि नै सुरु हुने 'पेरिफेरल प्रिकोशस प्यूबर्टी' (पीपीपी) तब हुन्छ जब डिम्बाशय वा अण्डकोषले मस्तिष्कको हाइपोथ्यालमसको सङ्केतबिना नै धेरै चाँडै यौनसम्बन्धी होर्मोन उत्पादन गर्न थाल्छन्। हाइपोथ्यालमस मस्तिष्कको एउटा भाग हो, जसले शरीरका होर्मोनहरूको नियन्त्रण केन्द्रका रूपमा काम गर्छ। पीपीपी सामान्यतया कुनै अन्तर्निहित स्वास्थ्य समस्याका कारण हुन्छ, जस्तै डिम्बाशय वा अण्डकोषको ट्यूमर, अड्रीनल ग्रन्थीको समस्या वा बाह्य स्रोतबाट यौन होर्मोनको सम्पर्क
- सेन्ट्रल प्रिकोशस प्यूबर्टी (सीपीपी) भनेको शरीरमा यौवनावस्था सामान्यभन्दा धेरै चाँडै सुरु हुने अवस्था हो। तर एकपटक सुरु भएपछि यसको विकास सामान्य यौवनावस्थाजस्तै क्रमश: अगाडि बढ्छ। यो समयअघि देखा पर्ने यौवनावस्थाको सबैभन्दा सामान्य प्रकार हो र अधिकांश अवस्थामा यसको कुनै स्पष्ट कारण पहिचान गर्न सकिँदैन।
डेन्मार्कमा सन् १९९८ र सन् २०१७ को बीचमा ८,५९६ बालबालिकामा भएको अध्ययनमा १० हजार बालिकामध्ये ९.२ मा र उही सङ्ख्याका बालकमध्ये ०.९ मा सीपीपी प्रत्येक वर्ष देखिएको पाइयो।
बीस वर्षको अवधिमा बालिकाहरूमा त्यस्तो समस्याको दर तीन गुणाले र बालकहरूमा दुई गुणाले बढेको उनीहरूले पत्ता लगाए।
कोरियामा सन् २००८ र सन् २०१४ को बीचमा बीमा दाबी गरिएका विवरणको विश्लेषण गर्दा प्रति १० हजारमध्ये २६.२८ बालिकाहरूमा र ०.७ बालकहरूमा सीपीपी देखिएको थियो। यो सामान्य जनसङ्ख्याका बालिकाहरूमा पनि यौवनावस्था पहिलेभन्दा कम उमेरमै सुरु हुने व्यापक प्रवृत्तिको सङ्केत हुन सक्छ।
अनुसन्धानकर्ताहरूले बालिकाहरूमा यो दर किन बालकहरूको तुलनामा बढी देखिएको छ भन्ने पूर्ण रूपमा बुझ्न सकेका छैनन् तर उनीहरू वातावरणीय र जैविक कारणले त्यसो भएको हुन सक्ने बताउँछन्।
सन् २०२५ मा प्रकाशित ४४ वटा अध्ययनहरूको विश्लेषणका अनुसार सन् १९७७ देखि २०१३ सम्मको अवधिमा बालिकाहरूमा स्तनको विकास सुरु हुने औसत उमेर प्रत्येक दशकमा करिब तीन महिनाले घटेको पाइएको छ।
अध्ययनहरूले बालकहरूमा पनि यौवनावस्था पहिलेभन्दा केही चाँडै सुरु हुन थालेको देखाएका छन्। यद्यपि यो परिवर्तन बालिकाहरूको तुलनामा कम स्पष्ट र कम तीव्र छ।

ब्रजिलस्थित यूनिभर्सिटी अफ साओ पाउलोकी एन्डोक्रिनोलजिस्ट डाक्टर याना पिनिएरू मचाडु क्यान्टनले यस्तो अवस्था भएका साना बालबालिकाको उपचार गरेको बताइन्।
त्यस्तो अवस्थामा हाइपोथ्यालमसमा घाउहरू हुने सम्भावना हुन्छ। ब्रेन ट्यूमर हुँदा पनि त्यस्तो हुने देखिएको छ।
क्यान्टन र उनको अनुसन्धान समूहले वातावरण र आहारसँगै अन्य अति कारणहरू पनि हुन सक्ने अनुमान गरेका छन्।
"बालबालिकामा देखिने मोटोपनाको उच्च दरका कारण पनि सचेत हुन आवश्यक छ किनभने जब बालबालिकामा मोटोपना हुन्छ, उनीहरूमा यौवनावस्थाको विकास पनि तीव्र हुन्छ," उनले भनिन्।
अनुसन्धानहरूले शरीरमा बढी बोसो हुँदा ईस्ट्रजनलगायतका यौन होर्मोनहरूको मात्रा बढ्न सक्ने देखाएका छन्। साथै लेप्टिन नामक होर्मोनको स्तर पनि बढ्छ, जसले हड्डीहरूको वृद्धिमा भूमिका खेल्छ।
अनुसन्धानकर्ताहरू यी होर्मोनजन्य परिवर्तनहरूले केही बालबालिकामा समयभन्दा पहिला नै यौवनावस्था सुरु गराउन सक्ने विश्वास गर्छन्।

तस्बिर स्रोत, Bruno Bernardi
वंशाणुले पनि भूमिका खेल्छ। प्राध्यापक अन्ना क्लाउडिया ल्याट्रोनिकको टोली र हार्बर्ड विश्वविद्यालयले सन् २०१३ मा गरेको अध्ययनले एमकेआरएनथ्री नामक 'जीन'को उत्परिवर्तनबाट पनि सेन्ट्रल प्रोकोशस प्यूबर्टी देखा पर्न सक्ने पत्ता लगाएका थिए।
दश र आठ वर्षका दिदीबहिनी लारा र बीट्रिज दुवैमा त्यस्तो उत्परिवर्तन रहेका कारण कम उमेरमै उनीहरूको स्तनको विकास भएको सङ्केतहरू देखा पर्न थालेको पत्ता लागेको थियो।
"म यो अवस्थाले साँच्चै डराएकी थिएँ किनभने उनी जम्मा पाँच वर्ष १० महिनाकी मात्रै थिइन् र त्यस्तो हुनका लागि उनको उमेर धेरै सानो थियो," उनीहरूकी आमा लिया बेर्नार्डीले भनिन्।
परीक्षणबाट क्यान्टन र उनको टोलीले उत्परिवर्तन उनीहरूका बुवाको परिवारको तर्फबाट आएको पत्ता लगाएका थिए। कान्छी छोरी बीट्रिजमा पनि 'सीपीपी' देखा पर्ने सम्भावना लगभग निश्चित छ।
यसको अर्थ जब उनमा सात वर्षमा सङ्केतहरू देखापर्न थाल्छ तत्कालै उनको उपचार सुरु गर्नुपर्ने हुन सक्छ।
"म एकदमै डराएकी थिएँ किनभने हामीले उनीहरूको बाल्यावस्था नै केही गुमायौँ," लियाले भनिन्।
क्यान्सर र मुटुरोगको खतरा
सीपीपीको उपचार नगर्दा त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो खतरा हुने भन्दै क्यान्टन चेतावनी दिन्छिन्।
"बालिकाको स्तनको विकास छ वा सात वर्षमै हुन थाल्दा कस्तो हुन्छ, तपाईँ कल्पना गर्न सक्नुहुन्छ। उनीहरू एउटै स्कुलमा पढ्ने अन्य केटी साथीहरूबाट धेरै फरक हुन्छन् र त्यो अलि कठिन हुन्छ," उनले भनिन्।
जैविक रूपमा, धेरै कम उमेरमै यौवनावस्था सुरु हुने बालबालिकाहरूको उचाइ अपेक्षाकृत होचो रहने प्रवृत्ति हुन्छ।
"यौन होर्मोनहरूले हड्डीहरूको परिपक्वता गराउन महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले यदि यौवनावस्था धेरै चाँडै सुरु भयो भने हड्डीहरूको परिपक्वता पनि धेरै छिटो हुन्छ र वृद्धि प्रक्रिया पनि समयभन्दा पहिला नै रोकिन्छ," क्यान्टनले भनिन्।

ठूलो जनसङ्ख्यामा गरिएका अध्ययनहरूले पनि कम उमेरमै यौवनावस्था सुरु हुने अवस्था र मुटुरोग तथा यौन होर्मोनसँग सम्बन्धित स्तन क्यान्सरलगायत गर्भाशयको भित्री तहको क्यान्सरहरूको जोखिम बढ्ने सम्भावनाबीच सम्बन्ध रहेको देखाएका छन्।
तर समयमै पत्ता लगाएर औषधोपचार गरे यी जोखिमहरू टार्न सकिने क्यान्टन बताउँछिन्।
"हामीले अहिले प्रयोग गरिरहेको उपचारविधि विगत तीनदेखि चार दशकदेखि प्रयोग हुँदै आएको छ र यो निकै प्रभावकारी साबित भएको छ," उनले भनिन्।

तस्बिर स्रोत, Bruno Bernardi
सुरुमा डरहरू भए पनि उनीहरूका आमाबुवा लिया र ब्रुनो अहिले आफ्ना छोरीहरू धेरै हदसम्म बालापनमा रमाउन पाएका कारण राहत महसुस गर्छन्।
"लारामा समयअगावै यौवनावस्था देखिएपछि किन उनलाई मात्रै त्यस्तो भएको होला भनेर उनी छक्क पर्थिन्। उनी किन फरक छिन्? उनले यस्तो औषधि किन लिन परिरहेको छ?" लियाले भनिन्।
आफ्नो अनुभव बाँडेर अरू आमाबुवालाई पनि यसबारे चेतना होस् र समयमै मद्दत लिन सजिलो होस् भन्ने अपेक्षा उनीहरूले गरेका छन्।
ग्याबी पनि यसबारे खुलेर कुरा गर्न चाहिन्छिन् र सामाजिक सञ्जाल प्रयोग गरेर त्यस्तै अवस्था हुने अन्यले कम असहज महसुस गरून् भनेर मद्दत गर्न चाहिन्छिन्।
"यस विषयमा किन यति कम जानकारी छ भनेर म रिसाउँथेँ," उनले भनिन्। "धेरै मानिसहरू यसबारे सोध्न मसम्म आइपुगेको देख्दा मलाई मैले आफ्नोबारे भनेर राम्रो गरेछु भन्ने लाग्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

















