पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, कांग्रेस र एमालेको प्रतिक्रिया के छ

पक्राउ गरिएपछि स्वास्थ्यजाँचका लागि अस्पताल लैजाने क्रममा केपी शर्मा ओली
Published
पढ्ने समय: ४ मिनेट

नेपालमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली तथा भूतपूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जनाएका छन्।

ओली र लेखक दुवैलाई काठमाडौं प्रहरी परिसर पुर्‍याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले बीबीसीसँग पुष्टि गरेका छन्।

उनले "मन्त्रिपरिषद्को निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गरी" उनीहरूलाई पक्राउ गरिएको बताए।

"अबको प्रक्रिया नियमअनुसार हुन्छ। सबैलाई कानुन पालना बराबर हुनेगरी यस पक्राउ गरिएको हो," प्रवक्ता काफ्लेले भने।

ओलीलाई भक्तपुरको गुन्डु र लेखकलाई भक्तपुरकै कटुन्जेस्थित निवासबाट शनिवार बिहानै पक्राउ गरिएको हो।

ओली र लेखक दुवैलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाण्डूमा पुर्‍याएको थियो। केही समयपछि उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि भन्दै त्रिवि शिक्षण अस्पताल लगिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पृष्ठभूमि

जिल्ला प्रहरी परिसर काठमाण्डूको कार्यालय र अगाडि तैनाथ सुरक्षाकर्मीहरू
तस्बिरको क्याप्शन, ओली र लेखक दुवैलाई जिल्ला प्रहरी परिसर काठमाण्डूमा राखिएको प्रहरीले बताएको छ

ठूलो धनजनको क्षति हुने गरि गत भदौ २३ र २४ गतेको नवयुवाहरूको हिंसात्मक आन्दोलनका विषयमा छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदनमा तत्कालीन सरकार र सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूलाई विभिन्न कारबाहीको सिफारिस गरिएको बुझिएको छ।

सरकारले ‌औपचारिक रूपमा सर्वसुलभ हुने गरी सार्वजनिक गरिनसकेको उक्त प्रतिवदेनका विवरण केहीदिन अघि सञ्चारमाध्यमहरूमा बाहिर आएका थिए।

शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदको पहिलो बैठकले अन्य विषयहरूका अतिरिक्त उक्त प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

लगत्तै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र सुरक्षा निकायका उच्च अधिकारीहरूबीच विभिन्न चरणमा छलफलहरू भएको विवरणहरू आएका थिए।

मन्त्री गुरुङको भनाइ

गृहमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै सुधन गुरुङ
तस्बिरको क्याप्शन, सुधन गुरुङले शुक्रवार मात्र गृहमन्त्रीको पदभार ग्रहण गरेका थिए

मन्त्री गुरुङले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउको घटनाका बारेमा टिप्पणी गरेका समाचार विवरणहरूमा जनाइएको छ।

जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका एक व्यक्तिको अन्तिम संस्कारका लागि पशुपति आर्यघाटस्थित ब्रह्मनालमा राखिएको शवमा श्रद्धाञ्जलि दिँदै गर्दाको आफ्नो तस्बिरसहितको सन्देशमा गृहमन्त्री सुधन गुरुङले सुरुमा अङ्ग्रेजीमा लेखेका छन्," प्रमिस इज अ प्रमिस" अर्थात् "वाचा भनेको एउटा वाचा नै हो"।

"कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ।"

"यो कसैप्रतिको प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।"

उनले अब देशले नयाँ दिशा लिने भनेर विश्वास पनि व्यक्त गरेका छन्।

एमालेको प्रतिक्रिया

एमाले नेता महेश बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले ओलीको पक्राउविरुद्ध आफूहरूले "कानुनी लडाइँ लड्ने" बताएका छन्।

"राजनीतिक हिसाबले यो असाध्यै खेदजनक, प्रतिशोधपूर्ण काम प्रारम्भ भएको छ," बर्तौलाले भने।

"राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ संसदीय गणितको दम्भ र घमण्डले सरकार बनाएको भोलिपल्ट बिहानैदेखि जुन प्रकारले एउटा क्रूर प्रतिशोधको यात्रा प्रारम्भ गरेको छ, यो लोकतन्त्रमाथिको एउटा ठूलो खतरा पनि हो।"

उनले सरकार "मुलुकलाई अशान्त बनाउने परिस्थिति निर्माणका लागि उद्धत भएको" आरोप लगाए।

"हामी शालीनताका साथ यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद गर्छौँ," बर्तौलाले भने।

उनले एमालेले छिटै यसबारे औपचारिक धारणा बनाउने समेत बताए।

झन्डै छ महिनाअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको गठनका बेलादेखि नै केपी ओली र नेकपा एमालले उक्त आयोग पूर्वाग्रही भएको र त्यो आफूलाई अमान्य रहेको बताउँदै आएका थिए।

नेकपा एमालेका नेता महेश बस्नेतले उनको आधाकारिक फेसबुक पेजमा लेख्दै केपी ओली र रमेश लेखकको गिरफ्तारीलाई पक्षपाती र प्रतिशोधपूर्व भनेर टिप्पणी गरेका छन्।

उनले आज बिहान पार्टी सचिवालयको बैठक बस्ने र त्यसपछि सुरु हुने प्रदर्शनको कार्यक्रमका बारे विस्तृत जानकारी दिइने पनि उल्लेख गरेका छन्।

कांग्रेसको प्रतिक्रिया

नेपाली कांग्रेसका प्रवक्ताले जेन जी आन्दोलनका समयमा आफ्ना पार्टीका तर्फबाट गृहमन्त्री रहेका रमेश लेखकको पक्राउका लागि आधार मानिएको "मन्त्रिपरिषद्को निर्णयसहितका विषयमा आफूहरूले अध्ययन गरेर पार्टीले प्रतिक्रिया जनाउने" बताउँदै नेताहरू परामर्शमा रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

प्रवक्ता देवराज चालिसेले सुरुदेखि नै आफूहरूले "जाँचबुझ आयोगको प्रतिवेदन अपूरो र अधुरो रहेको बताउँदै आएको" उल्लेख गरे।

"त्यसमाथि यस पक्राउ पुर्जी कसरी, कुन तरिकाले भएको हो, त्यसमा अध्ययन गर्न बाँकी नै छ," चालिसेले बीबीसीसँग भने।

"जाँचबुझ आयोगकै प्रतिवेदनका बारेमा समेत हामीलाई कुनकुन ठाउँमा यसको अपूर्णता छ भनेर विज्ञहरूको टोलीले अध्ययन गरेर सुझाव दिँदै हुनुहुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।