कक्रोच जनता पार्टीद्वारा भारतको संसद्तिर मार्च गर्ने प्रयास, प्रहरीद्वारा लाठी र अश्रुग्यास प्रहार

तस्बिर स्रोत, AFP via Getty Images
भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै 'कक्रोच जनता पार्टी' (सीजेपी)ले गरेको आह्वानपछि सोमवार हजारौँ मानिसहरूले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। तिनमा विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू पनि छन्।
दिल्लीमा विरोधप्रदर्शन गर्न तोकिएको स्थान जन्तरमन्तरमा प्रदर्शनकारीहरूको घुइँचो लागेको छ। त्यहाँ सयौँको सङ्ख्यामा प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू खटाइएको छ।
समाचारसंस्था एएनआईले सार्वजनिक गरेको भिडिओमा केही सुरक्षाकर्मीहरूले सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज गरेको देखिएको छ। प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि प्रहरीले एक ठाउँमा उनीहरूलाई तितरबितर पार्न अश्रुग्यास पनि प्रहार गरेको छ।
सीजेपीको समर्थनमा २१ दिनदेखि अनशनमा बसेका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिवार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव चुलिएको हो। उनले अस्पतालमा पनि अनशन जारी राखेका छन्।
दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई मार्च गर्ने अनुमति नभएको बताएको छ। तर सीजेपीका प्रवक्ताले बीबीसीलाई बताएअनुसार अनुमति नभए पनि प्रदर्शनकारीहरू संसद् भवनतिर बताएका थिए।
सीजेपीको स्थापना अभिजित दीपकेले गरेका हुन्।
पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनीतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिनेसहित परीक्षामा हुने अनियमितताको विरोध गर्न गत मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो।
त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूको छ। तर प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई "उच्छृङ्खल तत्वहरूको बी-टीम" भन्दै आलोचना गरेका छन्।
'अभिजित दीपकेलाई प्रहरीले लग्यो'

तस्बिर स्रोत, Getty Images
सीजेपीका प्रवक्ता सौरव दासले सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले लगेको दाबी गरेका छन्।
सौरव दासले सडकमा ओर्लिएका विद्यार्थीहरूको पक्षमा उभिन सबै सांसदहरूलाई आह्वान गरेका छन्।
उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई कुटपिट गरिरहेको दाबी गरेका छन्।
बीबीसी हिन्दीका अनुसार यसअघि सीजेपीका संस्थापक अभिजित दीपके र सोनम वाङ्चुककी पत्नी गीताञ्जलि जे अङ्ग्मोले सोमवार संसद्तिर मार्च गर्ने प्रयास गरेका थिए। तर प्रहरीले उनीहरूलाई रोकेको थियो।
विरलै हुने विरोधप्रदर्शन

तस्बिर स्रोत, Reuters
भारतमा राजनीतिक विरोधप्रदर्शन हुनु सामान्य कुरा हो। तर सुरक्षाको कडा प्रबन्ध, सार्वजनिक भेलामाथिको प्रतिबन्ध र विपक्षीहरू विभाजित भएको हुनाले केही वर्षयता भारतको राजनीतिक सत्ताकेन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोधप्रदर्शन हुने गरेको थिएन।
विगतमा मध्यदिल्लीमा ठूला जनप्रदर्शनहरू हुँदा राजनीतिक परिवर्तन पनि भएको छ। यसअघि दिल्लीमा केन्द्रित भएरै भ्रष्टाचारविरोधी अभियान र किसान आन्दोलन पन भएका थिए।
तर संसद् भवनवरिपरि नै यस्ता दृश्यहरू विरलै हुने गरेका छन्।
तात्कालिक राजनीतिक प्रभाव जस्तोसुकै भए पनि सोमवारका घटनाक्रमलाई महत्त्वपूर्ण मानिएको छ। यो हालैका वर्षहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध राजधानीमा भएको सबैभन्दा ठूला सार्वजनिक विरोधप्रदर्शनमध्ये एक हो।
एक मन्त्रीसँग भेट भएको दाबी
सौरव दासले आफू र सीजेपीका अर्का प्रवक्ता आशुतोष राङ्काले स्वास्थ्यमन्त्री जेपी नड्डासँग उनको निवासमा भेट गरेको दाबी गरेका छन्।
सौरव दासले 'एक्स'मा दाबी गरेअनुसार सरकारले उनीहरूसँग संवादका लागि सम्पर्क गरेको थियो। उनका अनुसार दुई घण्टाभन्दा बढी समय कुरेर आफूहरूले जेपी नड्डासँग १० मिनेट भेटेका थिए।
"हामीले हाम्रो मागपत्र उहाँलाई बुझाउँदा उहाँले यसमा आन्तरिक रूपमा छलफल गर्ने आश्वासन दिनुभयो। हामी त्यो प्रक्रियामा छौँ। ठूलो सङ्ख्यामा मानिसहरूलाई नियन्त्रणमा लिइएको खबर छ," उनले जनाएका छन्।
केही प्रदर्शनकारी गर्मीले बेहोस

तस्बिर स्रोत, Getty Images
दिल्लीमा सोमवार बिहान ठूलो वर्षा भए पनि जन्तरमन्तरमा भेला भएका सयौँ प्रदर्शनकारीहरू विचलित भएनन्। उनीहरूले प्रधानको राजीनामाको माग गर्दै नाराबाजी गरे।
धेरै प्रदर्शनकारीहरूले भारतको राष्ट्रिय झण्डा फहराएको देखियो भने केहीले शान्तिको प्रतीकस्वरूप प्लास्टिकका गुलाफका फूलहरू हातमा लिएका थिए।
सुरुमा प्रहरीले उनीहरूमाथि सामान्य बल प्रयोग गरेको थियो।
अत्यधिक गर्मीका कारण केही मानिसहरू बेहोस पनि भए। केही मानिसहरू विरोधप्रदर्शनस्थलबाट अन्यत्र गएको पनि देखियो।
कक्रोच जनता पार्टीले आफ्ना समर्थकहरूले जसरी पनि संसद्सम्म शान्तिपूर्ण मार्च गर्ने दाबी गरेको थियो।
"ठूलो वर्षा र कडा सुरक्षा...। तर आज कक्रोचलाई कसैले रोक्न सक्ने छैन," सीजेपीले सामाजिक सञ्जाल 'एक्स'मा लेखेको थियो।
सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच झडप भएको देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















