भारतमा शिक्षामन्त्रीले दिए राजीनामा, सीजेपीले के भन्यो

धर्मेन्द्र प्रधान

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: ४ मिनेट

भारतमा कक्रोच जनता पार्टी (सीजेपी)को अगुवाइमा जारी आन्दोलनबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।

प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले गत एक महिनादेखि उनको राजीनामाको मागसहित प्रदर्शन गर्दै आएको छ।

धर्मेन्द्र प्रधानले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएपछि सीजेपीले त्यसको स्वागत गरेको छ। तर उक्त समूहका संस्थापकले आफूहरूको लडाइँ अन्त्य भइनसकेको बताएका छन्।

शिक्षामन्त्रीको राजीनामालाई आफ्नो एउटा मुख्य माग बताए तापनि सीजेपीले आन्दोलनले भारतको शिक्षा प्रणालीको समग्र पुनर्संरचनाको माग पनि गर्दै आएको छ। त्यसमा परीक्षापत्र चुहावट भएको भनिएको विषयमा सरकारबाट उच्च तहको जबाफदेहिता खोजिएको छ।

सामाजिक सञ्जाल एक्समा राजीनामाको घोषणा गर्दै प्रधानले लेखेका छन्, "जन्तरमन्तरमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ त्यसको फाइदा देश विरोधी शक्तिहरूले नउठाऊन्। देशको एकता कायम रहोस्, भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस्।"

उनले थप लेखेका छन्: "हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन् करिअरमा ध्यान दिऊन्। यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामा पत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु।"

'क्रकोचहरूको जित' - सीजेपी

कक्रोज

तस्बिर स्रोत, Getty Images

सीजेपीले शिक्षामन्त्रीको राजीनामालाई आफ्नो आन्दोलनका लागि ठूलो विजयको रूपमा स्वागत गरेको छ।

भारतको शिक्षामन्त्रीलाई पदबाट हटाउने विषय सो समूहको प्रमुख माग थियो।

त्यसमा "कुनै सम्झौता नहुने" सीजेपीका नेताहरूले बारम्बार बताउँदै आएका थिए।

"कक्रोचहरूले जिते। प्रजातन्त्रले जित्यो!" सीजेपीले सामाजिक सञ्जाल एक्समा आफ्नो एक पोस्टमा भनेको छ।

सीजेपीका संस्थापक अभिजित दीप्केले भनेका छन्, "हामीले गरेर देखायौँ। धर्मेन्द्र प्रधानले राजीनामा दिए।"

"धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यो यदि तपाईँ डराउनुहुन्न भने, यदि तपाईँ यो सरकारको अगाडि झुक्नुहुन्न भने, तपाईँ जो कोहीलाई पनि राजीनामा दिलाउन सक्नुहुन्छ भन्ने प्रमाण हो। लोकतन्त्रमा डराउनु पर्दैन।"

शिक्षामन्त्रीले थप के भनेका छन्?

"चार दशकभन्दा लामो समयदेखि म विद्यार्थी, शिक्षक र शिक्षा सुधारमा समर्पित रहँदै आएको छु। सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै एउटा सशक्त राष्ट्रको आधारशीला हो भन्ने कुरामा म सधैँ विश्वास गर्छु," प्रधानले भनेका छन्।

"म देशका युवाहरूको आकाङ्क्षा, भावना र जायज अपेक्षाहरूको उच्च सम्मान गर्छु। भारतको युवापुस्ताका सपनाहरू पूरा गर्नु हाम्रो सामूहिक राजनीतिक तथा सामाजिक जीवनको एउटा नैतिक प्रतिबद्धता रहिआएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको दूरदर्शी नेतृत्वमा राष्ट्रको सेवा गर्ने अवसर पाएकोमा म उहाँप्रति कृतज्ञता व्यक्त गर्छु।"

प्रदर्शनकारीहरू

तस्बिर स्रोत, AFP via Getty Images

नीट प्रश्नपत्र चुहावटको मुद्दामा धर्मेन्द्र प्रधानले भनेका छन्, "पहिलो दिनदेखि नै मैले यो विषयको जिम्मेवारी लिएँ र परिस्थितिबाट कहिल्यै पछि हटिन्नँ। म दृढ थिएँ कि हामी कुनै पनि मेधावी विद्यार्थीको सम्भावनालाई परीक्षा माफियाद्वारा बर्बाद हुन दिने छैनौँ, न त कुनै पनि विद्यार्थीलाई अन्यायको सामना गर्न दिने छौँ।"

"तथापि यो समयमा पनि जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अवरोधहरू सिर्जना गर्ने र विद्यार्थीहरूलाई भ्रमित गर्ने प्रयास गरे जुन कुराले मलाई गहिरो पीडा दियो।"

अरू नेताहरूले के भने?

काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले शिक्षामन्त्रीको राजीनामालाई करोडौँ युवाहरूको जितको सङ्ज्ञा दिएका छन्।

"भारतका विद्यार्थीहरूको आवाज अन्ततः अहंकारी सत्ताको दैलोसम्म पुग्यो। यो करोडौँ युवाहरूको जित हो, जसले देशभरि शिक्षा व्यवस्थामा सुधारका निम्ति आवाज उठाए। यो सत्यको जित हो र मोदीजीको हठको पराजय हो," उनले भनेका छन्।

प्रदर्शनकारीहरूमाथि बल प्रयोग गराएकोमा अब युवा पुस्तासँग प्रधानमन्त्री मोदीले माफी माग्ने पालो आएको खडगेले टिप्पणी गरेका छन्।

काङ्ग्रेस नेत्री प्रियङ्का गान्धीले भनेकी छन्, "यो त्यस्तो दिन हो जब हाम्रो देशका युवा र विद्यार्थीहरूले देशलाई आफ्नो हातमा फिर्ता लिइरहेका छन्। उनीहरूले यो कुरा प्रमाणित गरेका छन् कि यदि तपाईँले अहिंसक रूपमा हिम्मतका साथ उभिनुहुन्छ भने तपाईँ जोकोहीलाई जित्न सक्नुहुन्छ।"

आम आदमी पार्टीका नेता मनीष सिसोदियाले धर्मेन्द्र प्रधानले राजीनामा दिएको नभई विद्यार्थीरूले राजीनामा लिएको भनी टिप्पणी गरेका छन्।

"मोदीजीको तर्फबाट राजीनामा दिलाएको तब हुन्थ्यो जब उहाँले प्रश्नपत्र चुहावट र २२ जना विद्यार्थीको आत्महत्याको घटनासँगै राजीनामा माग्नुहुन्थ्यो।"

विपक्षीहरू समेत जोडिएको राजीनामाको माग

अभिजित दीप्केले जन्तरमन्तरमा धर्मेन्द्र प्रधानको राजीनामाको बारेमा समर्थकहरूलाई बताए

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, अभिजित दीप्केले जन्तरमन्तरमा धर्मेन्द्र प्रधानको राजीनामाको बारेमा समर्थकहरूलाई बताए

काङ्ग्रेससहितका सबै विपक्षी दलहरू उनको राजीनामाको पक्षमा उभिएका थिए।

यसअघि भारतका १०० जना अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जबाफदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए।

उक्त विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको थियो।

केही साताको विरोधपछि गत सोमवार दशौँ हजार युवायुवतीले भारतको संसद्तर्फ मार्च गर्ने प्रयास गरेका थिए। उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो। त्यसयता अझ हजारौँ मानिस सडक आन्दोलनमा सहभागी हुँदै आएका छन्।

महत्त्वपूर्ण प्रतिस्पर्धात्मक परीक्षाहरूमा बारम्बार प्रश्नपत्र 'लीक' भएपछि उत्पन्न आक्रोशसँगै कक्रोच जनता पार्टी (सीजेपी) जन्मिन पुगेको हो।

खास गरी युवा नेतृत्वको यो अभियानमा ठूलो सङ्ख्यामा देशका विद्यार्थीहरू सहभागी भएका छन्। यो भारतमा केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।