उपहारमा पाएको विलासी कतारी जेट विमानको ट्रम्पले किन गरे प्रशंसा

ट्रम्प

तस्बिर स्रोत, Getty Images

    • Author, ग्रेस एलिजा गुडवीन
  • Published
  • पढ्ने समय: २ मिनेट

राष्ट्रपति डोनल्ड ट्रम्पले एअर फोर्स वनको लागि प्राप्त नयाँ बोइङ ७४७-८ जेट सार्वजनिक गरेका छन्। कतार सरकारले उक्त विमान गत वर्ष अमेरिकालाई "निसर्त" उपहार दिएको थियो।

अमेरिकी सेनाले उक्त विलासी जम्बो जेटमा परिमार्जनका कामहरू पूरा गरेको छ। त्यसको अनुमानित मूल्य ४० करोड अमेरिकी डलर राखिएको छ।

"यो विमान यसअघि कहिल्यै नदेखिएको विलासितासाथ 'उड्ने ह्वाइटहाउस'मा परिणत भएको छ," ट्रम्पले शुक्रवार जोइन्ट बेस एन्ड्रयूजमा मन्तव्य दिने क्रममा भने।

अमेरिकी वायुसेनाले प्रेस विज्ञप्तिमा जनाए अनुसार राष्ट्रपतिको यात्रामा प्रयोग हुनुअघि उक्त जेटले परिमार्जनहरू जाँच गर्न "अन्तिम परीक्षण"का रूपमा प्रारम्भिक कमिसनिङ उडानहरू गर्नेछ।

वायुसेनाले जनाए अनुसार सो जेटमा गरिएका परिमार्जनमा सुरक्षा, मिसन सञ्चार भनिने निकै संवेदनशील र गोप्य सूचना आदानप्रदान, बन्दोबस्त सहायता र उन्नत प्रविधिहरूमा गरिएका स्तरोन्नति समावेश छन्।

यसअघिको विमान "मालिक" बाट हुनसक्ने कुनै पनि सम्भावित खतरालाई "निष्क्रिय" पारिएको उसले जनाएको छ।

परिवर्तन

विमानको भित्री भागमा न्यूनतम परिवर्तन गरिएको छ भने बाहिरी भागमा ताजा रातो, सेतो, नीलो र सुनौलो रङ्ग रोगन गरिएको छ।

सन् २०२५ को मे महिनामा कतारी शाही परिवारले राष्ट्रपतिलाई हवाई यातायात प्रदान गर्ने एयर फोर्स वन नामक विमानहरूको फ्लीटको रूपमा प्रयोग गर्न अमेरिकी रक्षा मन्त्रालयलाई उक्त विलासी बोइङ ७४७-८ उपहारका रूपमा दिएको थियो।

गत वर्ष उक्त विमान उपहारको खबर सार्वजनिक हुँदा त्यसले ट्रम्पका केही सहयोगीसहित दुवै पक्षबाट प्रतिक्रियाहरू निम्त्याएको थियो।

आलोचकहरूले यस्तो महँगो उपहार स्वीकार गर्नुले स्वार्थको द्वन्द्व निम्त्याउने र त्यो असंवैधानिक हुन सक्ने तर्क गरेका थिए।

सङ्घीय कानुन अनुसार अमेरिकी अधिकारीहरूले ४८० अमेरिकी डलर भन्दा कम मूल्यका उपहारहरू मात्र स्वीकार गर्न सक्छन् भनेर सङ्केत गरे तापनि ह्वाइटहाउसले सो विमान स्वीकार गर्ने काम कानुनी भएकोमा जोड दिएको छ।

ट्रम्पद्वारा विमानको प्रसंशा

एअर फोर्स वन

तस्बिर स्रोत, US Air Force

उसले ट्रम्पले पद छाडेपछि जहाज ट्रम्पको प्रेसिडेन्सियल लाइब्रेरीमा दान गरिने जनाएको छ।

"यस विमानको निर्माणकला यस्तो छ कि जब तपाईँ यसलाई देख्नुहुन्छ तब तपाईँले हम्मेसि विश्वास लाग्ने छैन," ट्रम्पले आफ्नो मन्तव्यमा भनेका छन्, "खासमा काठको गुणस्तर, सामग्रीको गुणस्तर, इन्जिनको गुणस्तर - यी इन्जिनहरू सर्वोकृष्ट छन्। ती संसारकै यति राम्रा छन् कि यो जस्तो केही छैन।"

"यो साँच्चै सम्मानको कुरा हो," राष्ट्रपति ट्रम्पले थपे, "र, म कतारका अमीरलाई धन्यवाद दिन चाहन्छु।"

कतारी जेट थपिनुअघि एअर फोर्स वनको फ्लीटमा दुई ७४७-२००बी जेटहरू थिए।

ती सन् १९९० देखि प्रयोगमा छन्। ह्वाइटहाउसका सञ्चार निर्देशक स्टीवन चङका अनुसार ती पुराना मोडलमध्ये एउटा अब चरणबद्ध रूपमा प्रयोगबाट हट्दै छ।

"राम्रो काम, असल र विश्वासिलो सेवक'", चङले एक्समा पुरानो विमानको तस्बिरसँगै लेखेका छन्, "अन्तिम सवारी।"

वायुसेनाका अनुसार नयाँ जेट राष्ट्रपतिले अन्तरिम समयमा प्रयोग गर्नेछन्।

बोइङले लामो समयदेखि दिने भनेको आफ्ना दुई भिसी-२५बी जेटहरू हस्तान्तरण नगर्दासम्म उपहारका रूपमा प्राप्त यस विमान प्रयोग हुनेछ।

ती विमान दीर्घकालसम्मै एअर फोर्स वनका रूपमा प्रयोग हुने गरी बनाइए तापनि तिनको उत्पादन उल्लेख्य रूपमा ढिलो भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।