'हामी निर्माण होलिडेको अवस्थामा पुगिसक्यौँ,' इरान युद्धसँगै बिटुमिन नपाइँदा र इन्धन महङ्गिदाको असर

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
इरान र इजरेल-अमेरिकाबीच जारी तनावका कारण नेपालको निर्माण क्षेत्र 'अहिले नै निर्माण होलिडेको अवस्थामा पुगिसेको' भन्दै व्यवसायीहरूले ठेक्काको मूल्य समायोजनको व्यवस्था गर्न माग गरेका छन्।
इरान युद्ध सुरु हुनुअघि प्रतिकेजी ७५ रुपैयाँ रहेको सडक कालोपत्रे गर्न आवश्यक पर्ने पदार्थ बिटुमिनको मूल्य दोबरभन्दा बढिले वृद्धि भइसकेको उनीहरू बताउँछन्। डीजल तथा पेट्रोलकै मूल्यमा प्रतिलिटर ९० रुपैयाँ भन्दा धेरैको वृद्धि भएको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घका एकजना उपाध्यक्ष सहदेव खड्काले मुख्य रूपमा सडकको काममा भारतबाट नगण्य मात्रामा मात्र बिटुमिन आइरहेको र त्यै पनि किन्न सक्ने अवस्थामा नरहेको बीबीसीलाई बताए।
पेट्रोलियम पदार्थ प्रशोधनका क्रममा निस्कने बाक्लो र चिप्लो गुण भएको हाइड्रोकार्बन अर्थात् बिटुमिन सडक पिच गर्न व्यापक रूपमा प्रयोग गरिन्छ।
"सामान्य अवस्थामा नेपालमा दैनिक कम्तीमा २ हजार टन बिटुमिन आउँथ्यो। अहिले मुस्किलले १०० टन आइरहेको होला," महासङ्घका खड्काले भने।
"इन्धनका हकमा डीजलको मूल्य ९० रुपैयाँ भन्दा धेरैले बढ्दा त्यसले ढुवानी सहितका कैयौँ क्षेत्रमा असर पारेको छ।"
त्यसो भनेर उनले चौतर्फी ढङ्गबाट काम गर्न सक्ने अवस्था नरहेको र त्यसका लागि आवश्यक सामग्रीको समेत उपलब्धता नरहिरहेको औँल्याए।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ताले देशव्यापी रूपमा सडक निर्माणका काम कतै सुस्ताएको र कतै रोकिएको अवस्थामा रहेको बताए।
प्रवक्ता रामहरि पोखरेलले बीबीसीसँग भने: "मूल्य वृद्धिले कामको गति अहिले निकै सुस्त छ। अलिअलि काम भए पनि खासै गति छैन।"
त्यसको असर राष्ट्रिय गौरवका आयोजनादेखि पहिल्यै ढिलोगरी काम भइरहेका मुख्य राजमार्गहरूमा देखिएको अधिकारीहरू बताउँछन्।
देशव्यापी असर
खासगरी सडक कालोपत्रेको काम देशव्यापी रूपमा निकै प्रभावित बनेको र सामान्य अवस्थाको भन्दा गति निकै घटेको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता पोखरेल बताउँछन्।
"यस समस्यासँग कसरी जुझ्ने भनेर राष्ट्रिय योजना आयोगका एकजना सदस्यको संयोजकत्वमा एउटा अध्ययन भइरहेको छ। दुई साताभित्र त्यस समितिलाई सुझाव पेस गर्न भनिएको छ," प्रवक्ता रामहरि पोखरेल बताउँछन्।
"समस्या अब निर्माण क्षेत्रमा मात्र सीमित छैन। यो लम्बिइरहे समग्र अर्थतन्त्रमै असर पार्ने देखिन्छ। आश्रित उद्योगदेखि लिएर श्रमिकहरू सबैलाई मार पार्ने देखिन्छ।"
उनले सबैभन्दा गम्भीर असर इन्धन र बिटुमिनका कारण परिरहेको बताउँछन्।
"सिमेन्टको मूल्य उसैगरी बढेको छ। ढुवानीको लागत बढेसँगै त्यसका असर सबैतिर देखिन्छ," पोखरेलले थपे।
"फागुन, चैत, वैशाख, जेठको समय भनेको सडकहरू पीच हुने समय हो। यो अवधि निकै प्रभावित बन्यो।"

तस्बिर स्रोत, RSS
नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काले सबैभन्दा बढ्ता प्रभावित सडक क्षेत्र भए तापनि त्यहाँ मेसिनरी वाल, पुल निर्माण, ग्याभिन, ढलानका काममा भने कालोपत्रे सरह प्रभावित नभएको बताएका छन्।
सडकपछि खानेपानीका पाइपलाइन बिस्तारको काम पनि सामग्री अभावकै कारण ठप्पप्राय: हुने गरी प्रभावित बनेको उनी बताउँछन्।
"भवनहरूका हकमा सिमेन्ट र डन्डीको भाउ बढे तापनि त्यो पाइराखिएको छ र त्यहाँ काम भइरहेको छ," खड्का भन्छन्।
'ठप्पप्राय: अवस्था'
खाडी देशहरूबाट भारत आउने बिटुमिन उसकै लागि समेत चार-पाँच गुणाले कम हुन थालेको बताइन्छ।
जसकै कारण भारतमै समेत दैनिक १०० किलोमिटर सडक कालोपत्रे गर्ने उसको लक्ष्यमा असर पुगेको विवरणहरू आएका छन्। भारतमै एक तिहाईभन्दा केही बढ्ता बिटुमिन खाडी देशहरूबाट आयात हुनेगरेको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घको चिन्ताप्रति साथ समर्थन जनाउँदै नेपाल उद्योग वाणिज्य महासङ्घले समेत एक विज्ञप्ति जारी गरेको छ।
जसमा उसले 'पछिल्लो अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण ठप्प भई सप्लाई चेन अवरुद्ध भएर निर्माण उद्योग धराशायी भई मुलुकको समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव परेको' उल्लेख गरेको थियो।

तस्बिर स्रोत, RSS
त्यसमा निर्माण उद्योगमा प्रयोग हुने डिजल, मट्टितेल, बिटुमिनसहितका विविध निर्माण सामग्रीहरू, ढुवानी खर्च तथा श्रमिक लागतमा अस्वाभाविक वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायी महासङ्घले जनाएको छ।
उक्त महासङ्घले सबै किसिमका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गरिदिन नेपाल सरकारलाई अनुरोध गर्दै आएको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्का थप्छन्: "मूल्य वृद्धि भए पनि अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामानहरू कम्तीमा नेपालमा किन्न पाइरहेका छन्। तर सडक कालोपत्रे गर्ने क्रममा आवश्यक पर्ने बिटुमिन र डिजलमा रहेको अभावले त्यस काम अहिले दुई-चार प्रतिशत मात्र भइरहेको होला।"
उनले सडक र खानेपानीका काममा आफूहरूले "चाहेर वा नचाहेरै निर्माण होलिडे भइसकेको अवस्था रहेको" बताउँछन्।
"यी दुई निर्माण क्षेत्रमा परेको असर सहनै नसक्ने, धान्नै नसकिने खालको छ," खड्का भन्छन्।
व्यवसायीहरूले भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीहरूमा भइरहेको मूल्यवृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको औँल्याउँदै नेपाली निर्माण व्यवसायीहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर सञ्चालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने गम्भीर अवस्था सिर्जना हुने आफ्नो विज्ञप्तिमा जनाएका छन्।
नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काको भनाइ छ: "यस समस्यालाई राम्रोसँग सम्बोधन नगरिए ब्याङ्कहरूकै लगानी प्रभावित हुन सक्छ। सरकारले नै काम दिन नसक्दा निर्माण व्यवसायीहरूले समयमै किस्ता तिर्न सक्ने परिस्थिति नरहन सक्छ। त्यस परिस्थितिलाई सरकारले ध्यानपूर्वक हेर्न आवश्यक छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















