बाङ्ग्लादेशको परमाणु ऊर्जा केन्द्रका लागि रुसबाट पठाइएको युरेनिअम पुग्नमा ढिलाइ हुँदा निम्तिएको बहस

रूपपुर परमाणु ऊर्जा केन्द्र
Published
पढ्ने समय: ३ मिनेट

बाङ्ग्लादेशको रूपपुर परमाणु ऊर्जा केन्द्रको दोस्रो युनिटका लागि रुसबाट पठाइएको युरेनिअम निर्धारित समयमा ढाका पुग्न सकेको छैन।

बाङ्ग्लादेशमा कतिपयले उक्त ढिलाइका लागि पाकिस्तान जिम्मेवार रहेको आरोप लगाइरहेका छन्।

पाकिस्तानले युरेनिअम बोक्ने विमानलाई आफ्नो हवाई क्षेत्रबाट उडान गर्न अनुमति नदिँदा यो अवस्था सिर्जना भएको उनीहरूको तर्क छ।

यो मुद्दा बाङ्ग्लादेशमा अहिले बहस, आलोचना र विवादको विषय बनेको छ। सामाजिक सञ्जालमा पनि त्यसबारे विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन्।

बाङ्ग्लादेश र पाकिस्तानबीचको सम्बन्धमा हालै सुधार आएको भए पनि इस्लामाबादले किन त्यस्तो निर्णय गर्‍यो भन्ने प्रश्न पनि उठिरहेको छ।

पाकिस्तान के भन्छ?

उक्त विषयमा बीबीसी उर्दूका उमर दराज नाङ्गियाले पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता सज्जाद हैदरसँग जिज्ञासा राखेका थिए।

"हवाई रूट र हवाई क्षेत्रको प्रयोग गर्ने अनुमतिसँग सम्बन्धित यो प्राविधिक र प्रशासनिक प्रक्रियासम्बन्धी विषय हो," हैदरले भने।

"यस्ता विषयमा प्रायः उड्डयन निकाय र सम्बन्धित अधिकारीहरूबीच समन्वय आवश्यक हुन्छ। यसले उडान तालिकामा परिवर्तन निम्त्याउन सक्छ।"

अर्कोतर्फ निर्धारित समयमै युरेनिअम उपलब्ध नहुँदा रूपपुर परमाणु ऊर्जा केन्द्रबाट व्यावसायिक रूपमा विद्युत्‌ उत्पादन शुरू हुन थप ढिलाइ हुन्छ अथवा हुँदैन भन्ने प्रश्न पनि उठिरहेको छ।

बाङ्ग्लादेशको आन्तरिक राजनीतिक अवस्था र विद्युत्‌ आपूर्तिको अवस्थाले यो विषयबारे उत्पन्न बहसलाई अझ चर्काइदिएको बताइएको छ।

इन्धन सङ्कटका कारण बाङ्ग्लादेशमा विद्युत्‌ आपूर्तिको अवस्था पहिलेदेखि नै असहज रहेका बेला यो घटनाक्रम भएको हो। देशभरि बढ्दो विद्युत्‌ कटौतीका कारण सरकार ठूलो दबावमा रहेको बताइन्छ।

यी पृष्ठभूमिमा बाङ्ग्लादेशले रूपपुर परमाणु ऊर्जा केन्द्रबाट उत्पादन हुने विद्युत्‌लाई सकेसम्म चाँडो राष्ट्रिय ग्रिडमा जडान गर्न चाहेको छ ताकि ऊर्जा सङ्कटलाई सम्बोधन गर्न सकियोस्।

तर प्राविधिक समस्या र समयमै युरेनिअम आपूर्तिको अभावले उत्पादन शुरू हुन थप ढिलाइ हुने आशङ्का बढाएको छ।

यद्यपि रुसी सरकारी स्वामित्वको परमाणु ऊर्जा कम्पनी रोसाटमले अर्को युरेनिअम आपूर्ति तालिकाबारे एउटा विज्ञप्ति जारी गरिसकेको छ।

किन संवेदनशील छ?

फ्यूल असेम्बलीको फाइल तस्वीर

एक ठाउँबाट अर्को ठाउँमा परमाणु इन्धन ढुवानी गर्नु विश्वभरि अत्यन्तै संवेदनशील विषय मानिन्छ। यसका लागि विशेष नियम र 'प्रोटोकल'हरूको पालना आवश्यक हुन्छ।

अन्तर्राष्ट्रिय नियमहरूका अनुसार परमाणु सामग्री बोक्ने उडानले हवाई क्षेत्र पार गर्ने देशबाट छुट्टै कूटनीतिक अनुमति लिनुपर्छ। त्यसलाई 'ओभरफ्लाइट क्लिअरन्स' भनिन्छ।

रोसाटम स्रोतका अनुसार रूपपुर परमाणु परियोजनाका लागि युरेनिअम बोकेको उडान हवाई अनुमति प्राप्त गर्न ढिलाइ भएका कारण रद्द गर्नुपरेको थियो।

यद्यपि रोसाटमले आधिकारिक रूपमा पाकिस्तानको नाम लिएको छैन।

बाङ्ग्लादेशभरि पाकिस्तानसँगको सम्बन्धमा हालै भएको सुधारका विषयमा सामाजिक सञ्जालमा फरकफरक प्रतिक्रियाहरू आएका छन्।

यो विषयमा बाङ्ग्लादेशमा जारी बहस, आलोचना र विवादबीच बीबीसी उर्दूले पाकिस्तानी विदेश मन्त्रालयको धारणा मागेको छ।

पाकिस्तानले कूटनीतिक उडानहरू र आफ्नो हवाई क्षेत्रको प्रयोगसँग सम्बन्धित सबै आग्रहबारे स्थापित नियम तथा नागरिक उड्डयन प्रक्रियाहरूबमोजिम समयमै कदम चाल्ने गरेको विदेश मन्त्रालयका प्रवक्ता हैदरले बताए।

विद्युत् उत्पादनमा ढिलाइ

परमाणु ऊर्जा केन्द्र

यसै वर्षको एप्रिलमा रूपपुर परमाणु ऊर्जा केन्द्रको पहिलो युनिटको रिएक्टर भेसलमा इन्धन भर्ने प्रक्रिया आधिकारिक रूपमा भइसकेको थियो।

तर अहिलेसम्म त्यसबाट व्यावसायिक रूपमा विद्युत्‌ उत्पादन शुरू भएको छैन।

सेप्टेम्बर महिनामा परीक्षण उत्पादन शुरू हुने घोषणा गरिएको थियो। तर खासमा सेप्टेम्बरमा बिजुली उपलब्ध हुने सम्भावना थिएन।

यसै वर्षको अन्त्यसम्ममा बिजुली उत्पादन सम्भव छ कि छैन भन्ने कुरा पनि स्पष्ट छैन।

बाङ्ग्लादेशले विद्युत्‌ आपूर्ति र मागमा व्यापक खाडल झेलिरहेका बेला उसको परमाणु ऊर्जा केन्द्रका लागि युरेनिअम उपलब्धतामा हुन ढिलाइ भएको छ।

एकातर्फ तरलीकृत प्राकृतिक ग्यास आयातमा गिरावट आएको छ भने अर्कोतर्फ धेरै निजी विद्युत्‌ उत्पादन केन्द्रहरू पनि बक्यौता रकम नतिरिँदा बन्द भएका छन्। यसले देशभरि विद्युत्‌ कटौती बढाएको छ।

रूपपुरबाट आउने १,२०० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएपछि उल्लेखनीय रूपमा सङ्कट टर्ने बाङ्ग्लादेश सरकारको अपेक्षा छ।

त्यसले तेलबाट चल्ने महँगा विद्युत्‌ प्लान्टहरूमाथिको मुलुकको निर्भरता पनि कम गर्ने उसको विश्वास छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।