चाडबाडको मुखमा चिनीको अभाव भएको हो कि उपभोक्ता आत्तिएका हुन्?

तस्बिर स्रोत, Reuters
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
दशैँ, तिहार र छठजस्ता वार्षिक चाडपर्व नजिकिँदै गर्दा महँगो मूल्यमा चिनी किन्नुपरेको गुनासो उपभोक्ताले गरिरहँदा अधिकारीहरूले चिनीको अभाव नरहेको र किन्दै आएको भन्दा धेरै रकम नतिर्न आग्रह गरेका छन्।
उपभोक्ताहरूले पसल अनुसार चिनीको मूल्य १३० वा त्यो भन्दा बढी तिर्नुपरेको गुनासो गरिरहेका छन्।
तर साल्ट ट्रेडिङ कर्पोरेशन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अधिकारीहरूले आम उपभोक्तालाई अभाव होला भनेर आवश्यकताभन्दा धेरै चिनी नकिन्न र धेरै मूल्य पनि नतिर्न आग्रह गरेका हुन्।
चिनीको कालोबजारी भएको अथवा धेरै मूल्यमा किन्नुपरेको गुनासो उपभोक्ताहरूबाट आएपछि अनुगमन बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
तर आफूहरूले एक महिनादेखि चिनीको मूल्यबारे अनुगमन गरे पनि अहिलेसम्म एउटा पनि घटनामा कारबाही गर्नुपर्ने अवस्था नभेटेको विभागका अधिकारीले जनाएका छन्।
भारतबाट जीटूजीमार्फत् १० हजार क्विन्टल चिनी नेपालको वीरगन्जमा आइपुगिसकेको, स्वदेशी उद्योगीहरूबाट २५ हजार क्विन्टल किनिरहेको र जीटूजीमार्फत् थप २५ हजार क्विन्टल ल्याउन सरकारबाट अनुमति पाइसकेको खाद्य व्यवस्था कम्पनी लिमिटेडले जनाएको छ
काठमाण्डूबाट १०९ रुपैयाँ र देशभरिबाट ११० रुपैयाँ प्रतिकिलो चिनी देशभरिका विक्री कक्षहरूबाट विक्री वितरण भइरहेको कम्पनीले जनाएको हो।
"हाम्रो कार्यालयबाट किन्ने भए अहिले हुम्ला, जुम्ला, कालिकोट, ताप्लेजुङलगायतका क्षेत्रमा पनि ११० रुपैयाँ प्रति किलोमा नै चिनी पाउनुहुन्छ," कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए।
"जहाँ हाम्रो कार्यालय छैन त्यहाँ पनि डिलर सहकारीमार्फत् बिक्री वितरण गर्ने भनेर अगाडि बढ्दै छौँ। जति सक्छौँ हामीले हाम्रो वरिपरि दिइरहेका छौँ। यसलाई विस्तार गरेर डिलरहरूमार्फत् धेरै ठाउँ पुगेर कृत्रिम अभाव नहुने गरी अगाडि बढिरहेका छौँ।"
उपभोक्ताले के गर्ने?

तस्बिर स्रोत, Reuters
प्रत्येक वर्ष चाडबाड नजिकिएसँगै चिनीको अभावको अवस्था दोहोरिने गरेको उपभोक्ताहरू बताउँछन्।
तर यो वर्ष उपभोक्ता आत्तिनुपर्ने गरी चिनीको अभाव नरहेको साल्ट ट्रेडिङ कर्पोरेशनका अधिकारीहरू बताउँछन्।
"उपभोक्ताहरूले आत्तिएर चाहिने भन्दा बढी र अधिक मूल्यमा किनिरहनुभएको छ भने हामी त्यसरी नकिन्न आग्रह गर्छौँ। साल्ट ट्रेडिङ, खाद्य संस्थान, खाद्य व्यापार कम्पनीको स्टलमा चिनी उपलब्ध छ," साल्ट ट्रेडिङ कर्पोरेशनका उपप्रमुख कुमार राजभण्डारीले भने।
"हामीले १०५ रुपैयाँमा दिइसकेका छौँ। हामीले भाटभटेनीलगायत मार्टहरूमा पनि हिजै(मङ्गलवार)देखि दिइसकेका छौँ। ११० रुपैयाँभन्दा बढी नजाला। आफूलाई दुई किलो चाहिएको छ भने १० किलो चिनी किन किन्नुपर्यो?"
उनले अहिले चिनी मौज्दातमा पनि रहेको र आउने क्रम पनि जारी रहेकाले अभावको अवस्था नरहेको दाबी गरे।
"ढुवानी भनेर केही थोरै रुपैयाँ फरक पर्न सक्छ। तर उपभोक्ताहरू पनि जागरूक हुनुपर्यो। १४० रुपैयाँ कसैले लियो भने किन १४० रुपैयाँ भनेर प्रश्न गर्नुपर्यो," उनले भने।
बजारमा खाद्यान्न लगायत उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताबाट गुनासो आउन थालेपछि आफूहरूले चिनीको खासगरी एक महिनायता अनुगमन चुस्त बनाएको जनाएको छ।
तर अहिलेसम्म कारबाहीमा एकजना पनि पर्ने अवस्था आफूहरूको अनुगमनबाट नदेखिएको विभागका सूचना अधिकारी अनिल किराँतीले बताए।
"पसलबाट होलसेल, होलसेलबाट डिलर र डिलरबाट चिनीको मिलसम्म पुग्दाखेरि मिलले ८८ रुपैयाँ, डिलरले १०६ रुपैयाँ, त्यसबाट ११८ रुपैयाँ अनि ग्राहकले पाउने १३० रुपैयाँसम्म रहेको पाइयो," किराँतीले भने।
"हामीले अहिलेसम्म अधिकतम १३० रुपैयाँसम्म भेट्यौँ। साना पसलेले ठग्न खोजेको पाइयो भने उजुरी आयो भने हामीले ३ लाख रुपैयाँसम्म दण्ड हुने गरी कारबाही गर्छौँ।"
उनले बाहिरबाट गुनासाहरू आए पनि अनुगमनमा जाँदा आफूहरूले प्रमाण नभेटेको र कुनै उपभोक्ताले प्रमाणसहितको बिल पनि पेस नगरेको बताए।
"उपभोक्ताले बढी मूल्यमा किनेको बिल पेस गरे वा ई पेमेन्ट गरे हामीले कारबाही गर्ने हो तर हामीले त्यो किसिमको प्रमाणसहितको उजुरी अहिलेसम्म पाएका छैनौँ," उनले भने।
विभागका अनुसार नेपालमा चिनीको वार्षिक माग ३ लाख मेट्रिक टन रहेको छ र त्यसमा १,९०,००० मेट्रिक टन आन्तरिक उत्पादनबाट पूर्ति हुने र बाँकी १,१०,००० आयात गर्नुपर्छ।
अन्य समयमा मासिक रूपमा २५,००० मेट्रिक टन चिनीको माग हुने गरे पनि चाडबाडका बेला ३०,००० देखि ३५,००० मेट्रिक टन माग हुने गरेको विभागले जनाएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















