सेलिब्रिटी शार्क दक्षिण कोरियाली नहरमा फर्किई

Published
पढ्ने समय: २ मिनेट

दक्षिण कोरियामा चर्चामा आएको एउटी हल्का कालो पोथी शार्क एक महिनादेखि फसेको नहरमै फर्किएकी हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले सफल उद्धार गरिएको घोषणा गरेको एक दिनपछि उ सोही नहरमा फर्किएकी हो।

बुकाङ्गी नाम दिइएको उक्त शार्क गत महिना दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको नहरमा देखिएपछि अचानक चर्चामा आएकी थिई।

समुद्री मामिलासम्बन्धी दक्षिण कोरियाली मन्त्रालयले बुधवार साँझ बुकाङ्गीलाई नहरबाट निकालेर खुला बन्दरगाहमा फिर्ता पठाइएको बताएको थियो।

तर त्यसपछिका विवरणानुसार अधिकारीहरूले खडा गरेको अवरोध तोडी उक्त शार्क पौडी खेलेर नहरको मुखमा फर्किएकी हो। बुकाङ्गीलाई स्थानान्तरण गर्न अर्को कारबाही बिहीवारका लागि तय गरिएको छ।

पर्यटक आकर्षित

नहरको असामान्य तातो पानी र माछाको प्रशस्तताका कारण बुकुङ्गी त्यहाँ आकर्षित भएको हुन सक्ने ठानिएको छ।

विज्ञहरूका अनुसार हरेक वर्ष समुद्रको तापक्रम बढ्दै जाँदा बुसानमा भविष्यमा अझ धेरै शार्कहरू देखिन सक्छ।

नहरमा एक महिना लामो बसाइका क्रममा बुकाङ्गीले १६ लाखभन्दा बढी पर्यटकलाई आकर्षित गरेकी थिई।

उसको लोकप्रियताले बुसानमा उल्लेख्य सङ्ख्यामा पर्यटक बढाएको छ र शहरले उसलाई अनौपचारिक मास्कटका रूपमा अपनाएको छ।

तर अधिकारीहरू बुकाङ्गीको स्वास्थ्यबारे चिन्तित थिए। किनभने घाइते शार्कले खाना खान मानेकी थिइन।

बुकाङ्गीको थुतुनो रगतले लतपतिएको, नहरमा तैरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। पानीको तापक्रम घट्दै जाँदा उसलाई अझ कमजोर बनाउने चिन्ता थियो।

बुधवार प्रत्यक्ष प्रसारण गरिएको एउटा कारबाहीका क्रममा उद्धारकर्मीहरूले तीन मिटर अग्लो उक्त शार्कलाई समातेर बन्दरगाहबाट खुला पानीतिर सार्न आठ घण्टाभन्दा बढी समय खर्चिएका थिए।

सयौँ प्रशंसकले मन परेको उक्त शार्कलाई हर्षोल्लासका साथ बिदाइ गरेका थिए। तर अर्को दिन उ सोही नहरमा फर्किएली भन्ने कुरा कसैलाई थाहा थिएन।

बुधवारको कारबाहीअघि बुकाङ्गीलाई जालले नहरबाट बाहिर निकाल्ने दुई वटा असफल प्रयास गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।