विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाज पहिलो यात्रामा निस्कियो

क्रुज
तस्बिरको क्याप्शन, यो विशाल क्रुजमा २० वटा तला रहेका छन्
Published

विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ।

उक्त पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरू व्यक्त भएका छन्।

तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन्।

त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग्रुपको स्वामित्वमा उक्त क्रुज रहेको छ।

उत्सर्जनलाई लिएर चिन्ता

क्रुज पानीजहाज
तस्बिरको क्याप्शन, यो क्रुज पानीजहाज ७ दिने यात्रामा निस्किएको छ

आफ्नो पहिलो यात्राका क्रममा यो क्रुज सात दिने भ्रमणमा हुनेछ।

तर कतिपय वातावरण अधिकारकर्मीहरूले तरल प्राकृतिक ग्यास अर्थात् एलएनजीको प्रयोग गरिने यो पानीजहाजले घातक मिथेन उत्सर्जन गर्ने चेतावनी दिएका छन्।

“यो गलत दिशातर्फको कदम हो,” इन्टरन्याश्नल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेशनका मरिन प्रोग्राम निर्देशक ब्रायन कोमरलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले भनेको छ।

“हामी अनुमान के अनुमान गर्छौँ भने मरिन इन्धनको सट्टा एलएनजी प्रयोग गर्दा त्यसले मरिन ग्यास-तेलको तुलनामा धेरै हरित गृह ग्यास उत्सर्जन गर्छ,” उनले भने।

यसै हप्ता आइसीसीले निकालेको एउटा प्रतिवेदनमा एलएनजी प्रयोग गरिएका पानीजहाजबाट हुने मिथेन उत्सर्जन अहिलेको नियमनले अनुमान गरेको भन्दा धेरै रहेको ठहर गरेको थियो।

एलएनजी अरु परम्परागत मरिन इन्धन भन्दा सफा बल्ने भएता पनि त्यो चुहावट हुने जोखिम रहने गर्छ।

मिथेन एउटा शक्तिशाली हरित गृह ग्यास हो र यसले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडको तुनामा ८० गुणा बढी ताप वायुमण्डलबाट सोस्छ।

यी उत्सर्जनहरूलाई कटौती गर्नु तापमान वृद्धिलाई नियन्त्रण गर्ने तर्फको महत्त्वपूर्ण कदम हो।

 ४० भन्दा बढी रेस्टुराँ, बार र लाउन्जहरू रहेका भनिएको छ
तस्बिरको क्याप्शन, यो पानीजहाजमा सातवटा स्विमिङ पुल र ४० भन्दा बढी रेस्टुराँ, बार तथा लाउन्जहरू रहेका छन्
बार्दलीमा हजारौँको सङ्ख्यामा कूर्सीहरू छन्
तस्बिरको क्याप्शन, पानीजहाजको बार्दलीमा हजारौँ कुर्सी छन्
पानीजहाजको 'सेन्ट्रल पार्क' भनिने क्षेत्रमा रहेको एक जना पौडीवाजको मूर्ति
तस्बिरको क्याप्शन, पानीजहाजको 'सेन्ट्रल पार्क' भनिने क्षेत्रमा रहेको एक जना पौडीवाजको मूर्ति
यस्ता कतिपय खुला क्षेत्रमा साँच्चीकै रुख र बोटबिरुवाहरू छन्
तस्बिरको क्याप्शन, कतिपय खुला क्षेत्रमा साँच्चैका रुखहरू छन्
यो वाटर पार्कको नाम 'थ्रील आइलेन्ड' हो
तस्बिरको क्याप्शन, यो वाटर पार्कको नाम 'थ्रील आइलेन्ड' हो
सिँढी र आकृतिसहितको यो संरचनालाई 'द पर्ल' भनिएको छ
तस्बिरको क्याप्शन, सिँढी र आकृतिसहितको यो संरचनालाई 'द पर्ल' भनिएको छ

एकजना रोयल क्यारिबिअन प्रवक्ताले आधुनिक पानीजहाजहरूलाई इन्टरन्याश्नल म्यारिटाइम अर्गनाइजेशनले तोकेको भन्दा आइकन अफ द सीजले २४ प्रतिशत इन्धन कम खपत गर्ने बताएका छन्।

उक्त कम्पनीले सन् २०३५ सम्म कुल उत्सर्जन शून्य गर्ने पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

हाल इन्टर मायामीबाट खेल्ने गरेका अर्जेन्टिनाको विश्वकप फुटबल टोलीका कप्तान लियोनल मेस्सी बुधवार उक्त पानीजहाजको नामकरण समारोहमा उपस्थित थिए।

उनले विशेष ढङ्गले निर्माण गरिएको एउटा स्ट्यान्डमा फुटबल राखेर ‘शुभ कामना’ दिएको देखिएको थियो।

आइकन अफ सीज बनाउन २ अर्ब डलर लागेको थियो। त्यसमा ७ वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड्स र ४० भन्दा बढी रेस्टुराँ, बार र लाउन्जहरू रहेको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।