तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१२ वर्षदेखि 'पतिले बन्धक बनाएकी' फ्रान्सेली महिलाको पाकिस्तानमा उद्धार
- Author, मुहम्मद जुबैर खान
- Role, बीबीसी उर्दू
- Author, अजिजुल्लाह खान
- Role, बीबीसी उर्दू
- Published
- पढ्ने समय: २ मिनेट
पाकिस्तानमा आफ्नी पत्नी र छोराछोरीलाई एक दशकदेखि घरमा बन्धक बनाएर राखेको र उनीहरूसँग दुर्व्यवहार गरेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय प्रहरीले बीबीसीलाई बताएअनुसार मुक्त भएकी फ्रान्सेली नागरिक सिल्भी यास्मिनाले ती व्यक्तिले आफूहरूसँग "दिनैपिच्छे" कुटपिट र मानसिक शोषण गरेको दाबी गरेकी छन्। उनले आरोपित व्यक्ति "निकै हिंसात्मक" भएको बताएकी छन्।
उक्त परिवार खाइबर पख्तून्ख्वा प्रान्तस्थित एउटा दुर्गम पहाडी नगरमा बसोबास गर्दै आएको थियो। उनीहरूका एक छोराले घरबाट भागेर सूचना दिएपछि प्रहरीले छापा मारेको थियो।
प्रहरीले यास्मिना र उनका पाँच सन्तानलाई एउटा साँघुरो "निकै जीर्ण कोठा"मा फेला पारेको थियो। त्यस बेला उनीहरूका शरीरभरि नीलडामहरू थिए।
यास्मिना र उनका सन्तानहरूलाई पेशावरस्थित एउटा आश्रयस्थलमा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू फ्रान्स फर्किने योजनामा छन्।
यास्मिना के भन्छिन्
यास्मिनाका अनुसार सन् २०१४ मा अस्ट्रेलियाबाट पाकिस्तान सरेदेखि नै उनका पतिले परिवारलाई "साँच्चै बन्धक" बनाएका थिए। उनी अहिले ५४ वर्षकी भइन्।
"ती महिलाका अनुसार... उनलाई कसैसँग पनि भेट्न दिइँदैनथ्यो, उनका ठूला भएका दुई बच्चाको पढाइ छुटेको थियो भने साना बच्चा पाकिस्तानमै जन्मिएका थिए तर उनीहरूलाई विद्यालयमा भर्ना गरिएन," एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी उर्दूलाई भने।
अधिकारीहरूले यास्मिनाका पतिको पहिचान खुलाएका छैनन्। तर उनीहरूका अनुसार ती व्यक्ति पाकिस्तानी नागरिक हुन् र यास्मिनासँग भेट हुँदा उनी अस्ट्रेलियामा "अवैध रूपमा बसोबास" गर्दै आएका थिए।
उनीहरूको सन् २००३ मा विवाह भयो। उनीहरू सन् २०१४ सम्म अस्ट्रेलियामा बसे। त्यसपछि दुई बच्चा लिएर पाकिस्तान आए। यास्मिनाको दाबीअनुसार त्यसयता उनको बाह्य विश्वसँग कुनै सम्पर्क हुन पाएको छैन।
"हामीलाई स्वतन्त्रताबाट वञ्चित गरिएको थियो, उनले पति र मेरा छोराछोरीको बुबाको रूपमा जसरी हाम्रो हेरचाह गर्नुपर्थ्यो, त्यसरी गरेनन्। उनी हामीलाई कुटपिट गर्छन् र दिनैपिच्छे हामीलाई दु:ख दिन्छन्," यास्मिनाले प्रहरीलाई दिएको बयानमा लेखेकी छन्।
स्थानीय सञ्चारमाध्यमहरूले उनको बयानको अंश प्रकाशित गरेका छन्।
"मलाई आफ्नो भविष्य पहिले बर्बाद भइसकेको र अब छोराछोरीको भविष्य पनि बर्बाद हुन्छ जस्तो लाग्यो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।