रवि लामिछाने, बालेन र कुलमान घिसिङबीचको एकताका 'सूत्रधार'

रवि लामिछाने, बालेन र कुलमान घिसिङबीचको एकतापछि खिचिएको तस्बिर
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

अधिकांश दलका शीर्ष नेताहरू निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची टुङ्गो लगाउन व्यस्त रहँदा काठमाण्डूको कमलपोखरीनजिकैको एउटा घरमा एउटा निर्णायक वार्ता चलिरहेको थियो।

काठमाण्डू महानगरपालिकाका मेअर बालेन शाहको टोलीलाई केही दिनअघि मात्रै पार्टीमा भित्र्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उज्यालो नेपाल पार्टीको अगुवाइ गरेका भनिएका कुलमान घिसिङको पार्टीलाई पनि आफ्नो दलमा समायोजन गर्ने कसरतमा थिए।

नेपालमा 'लोडशेडिङ' अन्त्यको श्रेय पाउँदै आएका घिसिङ उक्त दलमा प्रत्यक्ष आबद्ध नदेखिए पनि उनकै समर्थन र नारामा दलको नाम 'उज्यालो नेपाल' राखिएको नेताहरूले बताइसकेका थिए।

अन्ततः साँझ अबेर रास्वपा र उज्यालो नेपालबीच एकीकरणको सम्झौतामा हस्ताक्षर भएसँगै घिसिङ पनि रास्वपामा पहिलो वरीयताको उपसभापति बने।

'मिशन २०८४' नारा लिएर दुई वर्षपछि हुने नियमित निर्वाचनको तयारी गरिरहेको रास्वपा गत भदौको आन्दोलनसँगै संसद् विघटन र फागुनमा चुनाव हुने घोषणा भएपछि वैकल्पिक शक्तिहरूहरूलाई एक ठाउँमा ल्याउन अघि सर्‍यो।

वार्ताकारहरू

सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछाने थुनामै रहे पनि रास्वपाले अन्य शक्तिहरूसँग वार्ता र छलफलका लागि दुई तहमा टोली बनाएर काम गरिरहेको नेताहरू बताउँछन्।

पुकार बम संयोजक रहेको संवाद समितिले विभिन्न पक्षसँग प्रारम्भिक वार्ता र छलफल गरिरहेको थियो। आफूहरूकै छलफलका आधारमा विवेकशील साझा पार्टीलाई रास्वपामा समायोजन गरिएको बमसँगै विवेकशील साझा, बालेनको टोली र जेन जी अगुवाहरूसँग छलफल गरेका रास्वपा नेता गणेश कार्कीले बताए।

उच्च तहमा वार्ताका लागि उपसभापति स्वर्णिम वाग्ले र पूर्वशिक्षामन्त्री शिशिर खनाललाई अघि सारिएको थियो।

बालेन र रविबीचको एकतापछि खिचिएको सामूहिक तस्बिर

बालेनसँगको टोलीसँग पनि कार्की र बमले प्रारम्भिक छलफल गरेपछि पार्टीका शीर्ष नेताहरूलाई अघि सारिएको थियो।

"सभापति बाहिए आएपछि छलफलहरू अझै तीव्र र प्रत्यक्ष भए," कार्कीले बीबीसी न्यूज नेपालीसँग भने।

कार्की आफैँ पनि बालेन र उनका प्रमुख सहयोगीका रूपमा देखिएका कुमार बेन (व्यञ्जनकार)सँग निकट भएको फाइदा रास्वपालाई रहेको नेताहरू बताउँछन्।

कार्की र बमले सुरु गरेको जगमा बालेनसँग प्रत्यक्ष सम्बन्ध भएका अर्का रास्वपा नेता असिम शाहले रवि लामिछाने र बालेनबीचको प्रत्यक्ष वार्ता हुने वातावरण बनाएको कार्कीले बताए।

पछिल्लो समय जेन जी अगुवाहरूको नेतृत्व गरिरहेका सुधन गुरुङले पनि वैकल्पिक शक्तिहरूलाई मिलाउन सक्रियता देखाएको नेताहरू बताउँछन्।

बालेन शाह र सुधन गुरुङ

केही सातायता तीनवटै शक्तिलाई मिल्न दबाव दिइरहेका थिए काउन्सिल अफ जेन जीका संयोजक सुधन गुरुङले। गत साता लामिछाने र शाह ललितपुरको एउटा घरमा वार्ता गरिरहँदा गेटमा देखिएका गुरुङले दुई जना नमिलेसम्म ढोका नखोल्ने चेतावनी दिएका थिए।

तीनै पक्षबीच एकता भएपछि काठमाण्डूका मेअर शाहले सुधनसँगको तस्बिर राख्दै फेसबुकमा लेखेका छन्, "देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्त्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।"

बालेनसँग एकतापछाडिको पृष्ठभूमि

जेन जी आन्दोलनपछि जनमानसमा सुशालन र विकासको अपेक्षा देखिएको आकलन गरिरहेका बालेननिकट नेताहरूमा पनि रास्वपासँग मिल्ने पक्षमा सकारात्मक माहौल बनेको रास्वपासँगको वार्तामा संलग्न बालेनका स्वकीय सचिव भूपदेव शाह बताउँछन्।

"कुराकानी धेरै मान्छेहरूसँग भइरहेको थियो। पछिल्लो समय असिम र आसिफजीले सहजीकरण गरिदिनुभयो," शाह भन्छन्।

रवि लामिछाने र बालेनबीचको एकता

उनका अनुसार बालेन पक्षबाट शाहका निकटतम कुमार बेन, भूपदेव शाह र सुदीप ढकालले सहमतिका लागि मस्यौदा तयार गरेका थिए।

"वैचारिक र भावनात्मक मिलन भइसकेपछि हामीले अव संरचनामा जानुपर्‍यो। भोलि समस्या नआउने गरी मिल्नुपर्‍यो भनेर ठूलो छाती गरेर जे हुन्छ, आपसी समझदारीमा गर्ने टुङ्गो गर्‍यौँ," शाह भन्छन्।

बालेनसँग सम्झौता हुँदा छुटेका कुलमान यसरी जोडिए

सुशीला कार्की नेतृत्वको सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ र रवि लामिछानेबीचको वार्ताअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच लामो छलफल भएको नेताहरूले बताएका छन्।

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले घिसिङसँगको निर्णायक वार्ताअघि उज्यालो नेपाल पार्टीका निर्देश सिलवाल र डा अभिषेक सिंहसँग छलफल गरेका थिए।

ऊर्जामन्त्री कुलमान घिसिङ र रवि लामिछानेबीचको सम्झौता

कालीमाटीमा करिब पाँच घण्टा भएको छलफल दुवै पक्ष मिल्दा हुने फाइदाको लेखाजोखामा केन्द्रित रहेको डा सिंहले बीबीसी न्यूज नेपालीसँग बताए।

"मिल्ने, मिल्यो भने परिणाम के हुन्छ भन्नेमा केन्द्रित रहेर छलफल गरिसकेपछि हामीले कुलमान दाइसँग पनि गएर भेट्यौँ र उहाँलाई मिल्दा फाइदा छ कि नमिल्दा फाइदा छ भन्ने कुरा राख्यौँ," सिंहले भने।

उनका अनुसार जेन जी आन्दोलनको पृष्ठभूमि र सर्वसाधारणको अपेक्षाबारे आफूहरूले कुरा गरेपछि घिसिङ एकताबारे सकारात्मक भएका थिए।

"सबै जना एकएक तह तल झरौँ र सुशासन तथा पुस्तान्तरणका लागि केके त्याग गर्नुपर्छ गरौँ भनेपछि यो स्थिति आएको हो," सिंह भन्छन्।

बालेनसँगको एकता सम्झौतामा छुटिसकेका घिसिङ अन्तिम समयमा रास्वपासँग मिल्ने निर्णयमा पुगेका थिए।

रवि र कुलमानको त्यो निर्णायक भेट

कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गर्नुअघि काठमाण्डू महानगरका मेअर बालेन शाहसँग भेट गरेका थिए। घिसिङ आफैँले उक्त भेटको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए।

कारागारबाट बाहिर आएपछि बालेन शाहसँग चरणबद्ध वार्ता गरिरहेका रवि लामिछानेले उज्यालो नेपालका कुलमान घिसिङसँग भने भेट गरेका थिएनन्।

"तीन जना सँगै भेटेकै पहिलो पटक हो," नेता सिंह भन्छन्।

तीन जनाको औपचारिक वार्ता भए कसरी अघि बढ्ने अपेक्षा दोस्रो तहका नेताहरूबीच भए पनि त्यसका लागि उनीहरूलाई अन्तिम समयसम्म पर्खनुपर्‍यो। निर्वाचन आयोगमा बन्दसूची बुझाउने समय घर्किनै लाग्दा बल्ल घिसिङ लामिछाने र बालेनसँग वार्ताका लागि कमलपोखरी पुगे।

"बालेनजीसँग सम्झौता भएको दिन पनि अबेलासम्म उहाँ (कुलमान)सँग सम्पर्क गर्ने प्रयास भइरहेको थियो। उहाँसँग सम्पर्क गर्ने प्रयास गरे पनि त्यो दिन सम्भव भएन," सिंह भन्छन्।

अनि 'कुलमानले त्यागे प्रधानमन्त्रीको आकाङ्क्षा'

कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीचको एकतापछि खिचिएको सामूहिक तस्बिर

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ कुनै पनि राजनीतिक दलमा खुलेका थिएनन्। तर उनी राजनीतिमा आउने आकलन धेरैले गरिरहेका थिए।

उनकी श्रीमतीको पृष्ठभूमिसँग जोडेर कतिपयले उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमामा आउन सक्ने आकलन गरिरहेका थिए भने दुवै पटक माओवादी नेतृत्वको सरकारका पालामा प्राधिकरणमा नियुक्ति पाएका घिसिङ माओवादीबाटै राजनीतिमा आउने अपेक्षा पनि कतिपयले गरेका थिए।

जेन जी विद्रोहपछि सरकारमा मन्त्री बनेका घिसिङको नाम उनकै समर्थनमा बनेको उज्यालो नेपाल पार्टीको सङ्गठनमा कतै देखिएन। तर उक्त पार्टीको घोषणादेखि पार्टी कार्यालय उद्घाटनसम्मका कार्यक्रम घिसिङले छुटाएनन्।

पार्टी घोषणा कार्यक्रममा घिसिङले प्रधानमन्त्री हुने आफ्नो महत्वाकाङ्क्षा रहेको लुकाएनन्।

"अब यहाँ (अन्तरिम सरकार)बाट निस्किएपछि कहाँ जाने भन्ने तपाइँहरूलाई लागिरहेको होला," घिसिङले भनेका थिए। "अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिरहेको छ।"

रास्वपामा समाहित हुनुअघि उज्यालो नेपालका नेता रहेका डा अभिषेक सिंह घिसिङ पनि प्रधानमन्त्रीको आकाङ्क्षी रहेको स्वीकार्छन्।

"प्रधानमन्त्रीको उम्मेदवारका रूपमा दुई जनालाई अघि सार्नेबित्तिकै भागबन्डा गर्नुपर्ने हुन्छ। भागबन्डा चाहिँ नयाँ राजनीतिक संस्कार होइन। नयाँ राजनीतिक संस्कार हामी सुरु गर्न चाहन्छौँ भने अहिलेको आन्दोलनले पुस्तान्तरण वा नयाँ पुस्ता खोजिरहेको छ भनेपछि उहाँ सहमत हुनुभयो," सिंह भन्छन्।

उज्यालो नेपाल पार्टीमा रहेका नेताहरूका अनुसार बालेनअघि रास्वपा नेताहरूले घिसिङलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए।

रास्वपा नेता कार्की भने घिसिङले प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने सर्त नराखेको बताउँछन्।

वार्ता नमिले बालेनको विकल्प थियो 'लौरो'

सुधन गुरुङ सहितका जेन जीसँग बालेन

संसदीय राजनीतिमा आउने निधो गरेर छलफल थालिसकेपछि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डू महानगरको मेअरमा निर्वाचित भएका बालेन्द्र शाह बालेनले रास्वपासँग सहमति नभए अर्को दलबाट भए पनि चुनावमा उठ्ने तयारी गरेका थिए।

शाहले विकल्पमा राखेको दल 'लौरो' चुनाव चिह्न रहेको देश विकास पार्टी थियो। "उहाँ राजनीतिक रूपमा अघि बढ्ने स्पष्ट भएपछि उहाँसँग विकल्प धेरै थिए। हामीले सबैभन्दा नजिकको विकल्प देश विकास पार्टी देखेका थियौँ," भूपदेव शाह भन्छन्।

"सहमति नभएको भए पनि उहाँ आफ्नो हिसाबले अगाडि बढ्नुहुन्थ्यो।"

बालेन आफू रास्वपा प्रवेश गरे पनि उनले विकल्प ठानेको देश विकास पार्टीलाई नै भने रास्वपामा मिलाएनन्। यसबारे बीबीसीको जिज्ञासमा शाह भन्छन्, "हामी एकतामा जाँदा एउटा मात्रै पार्टीका साथीहरू जानुभएको छैन। मेरो जानकारीमा कम्तीमा पनि छभन्दा धेरै पार्टीको भूमिका छ।"

शाहनिकट व्यक्तिहरूका अनुसार देश विकास पार्टीसहित ससाना अन्य दलमा रहेका व्यक्तिहरू पनि रास्वपामा समायोजन भएका छन्।

उनका अनुसार रास्वपामा राम्रो मान्छे आएको अवस्थामा थप्दै जाने र पार्टीमा पुनर्संरचना पनि त्यहीअनुसार गर्ने समझदारी लामिछानेसँग भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।