तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूएई तेल निर्यात गर्ने देशहरूको सङ्गठनबाट बाहिरिँदा विश्वमा पर्न सक्ने प्रभाव
- Author, फैसल इस्लाम
- Role, अर्थशास्त्र सम्पादक
- पढ्ने समय: ४ मिनेट
संयुक्त अरब एमिरेट्स (यूएई)ले पेट्रोलिअम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन ओपेक अकस्मात् परित्याग गर्नु निकै ठूलो घटना हो। सन् १९७१ मा संयुक्त राज्य गठन गर्नुभन्दा निकै अगाडिदेखि इमिरातीहरू उक्त सङ्गठनमा आबद्ध थिए।
ओपेक मूलतः तेल निर्यात गर्ने खाडी राष्ट्रहरूको सङ्गठन हो। ओपेकले दशकौँदेखि कच्चा तेलको मूल्य नियन्त्रण गर्ने उद्देश्यले उत्पादन घटाउने वा बढाउने र सदस्य राष्ट्रहरूलाई कोटा निर्धारण गर्ने गरेको थियो। वैश्विक ऊर्जा नीतिमा ठूलो परिवर्तन आउने गरी सन् १९७० को दशकमा उत्पन्न तेल सङ्कटका बेला ओपेकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
ओपेकको उत्पादनमा साउदी अरबको वर्चस्व भए पनि यूएईसँग अतिरिक्त तेल उत्पादन गर्न सक्ने दोस्रो ठूलो क्षमता थियो। त्यसको अर्थ यूएई दोस्रो सबैभन्दा महत्वपूर्ण "स्विङ उत्पादक" थियो, जससँग मूल्य घटाउनका लागि उत्पादन बढाउन सक्ने सामर्थ्य थियो।
त्यसै कारणले पनि यूएईले आफ्नो अवस्थाबारे पुनर्विचार गर्यो। अर्थात् यूएई आफ्नो लगानीअनुसारको क्षमता प्रयोगमा आओस् भन्ने चाहन्थ्यो।
ओपेकले निर्धारण गरेको कोटाका कारण यूएईको दैनिक तेल उत्पादन ३० लाखदेखि ३५ लाख ब्यारलमा सीमित थियो। अरू ओपेक सदस्यसँग तुलना गर्दा यूएईले विशेषतः राजस्व गुमाउने सन्दर्भमा बढी घाटा बेहोर्नुपरेको थियो।
यद्यपि ओपेकबाट बाहिरिने यूएईको निर्णय इरान युद्धको परिणामसँग सम्बन्धित रहेको सङ्केत देखिन्छ। खाडीमा बढेको तनावका कारण यूएईको इरानसँगको सम्बन्ध प्रभावित भयो भने साउदी अरबसँगको सम्बन्ध अझ बिग्रिन सक्ने सम्भावना छ।
कस्तो असर
ओपेकको स्थायित्व के होला भनेर प्रश्न उठेका बेला यूएईको बहिर्गमन उक्त सङ्गठनका लागि ठूलो आघात हो।
तेल समुद्रीमार्ग वा पाइपलाइनबाट खुला रूपमा बजारमा पुर्याउन सक्ने अवस्था भयो भने यूएई एक दिनमा ५० लाख ब्यारल तेल उत्पादन गर्ने योजनामा छ। साउदी अरबले तेलको मूल्य थपघट गरेर त्यसको जबाफ दिन सक्छ। यूएईको अर्थतन्त्रले 'मूल्ययुद्ध' धान्न सके पनि ओपेकका अरू विपन्न सदस्यराष्ट्रका लागि सहज नहुन सक्छ।
धेरै कुरा साउदी अरबको प्रतिक्रियामा निर्भर हुन्छ।
यूएईका वरिष्ठ अधिकारीहरू आबुधाबीस्थित खानीहरूबाट निकालिने तेल नयाँ पाइपलाइनमार्फत् खासै प्रयोग नभएको फुजैराह बन्दरगाह पुर्याउने योजना सुनाउँछन्। त्यसो गर्दा स्ट्रेट अफ होर्मुजको जलमार्ग प्रयोग गर्नुपर्दैन।
अहिले एउटा पाइपलान छ र त्यो निकै प्रयोग हुन्छ। तर उत्पादन बढ्दा पाइपलाइनको क्षमता बढाउनुपर्ने हुन्छ। खाडीमा तेलवाहक ट्याङ्करको आवतजावत र खर्चमा पनि ठूलो परिवर्तन हुने छ।
अहिले होर्मुज जलमार्गमा इरान र संयुक्त राज्य अमेरिकाले छुट्टाछुट्टै नाकाबन्दी लगाएका बेला यूएईको बहिर्गमन विश्वबजारका लागि ठूलो घटना होइन। यसबाट तेल, ग्यास, पेट्रोल, प्लास्टिक र खाद्यपदार्थको मूल्य सोझै प्रभावित हुँदैन।
अहिले विश्वको ध्यान तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेकोतिर केन्द्रित छ। तर होर्मुज जलमार्गको अवरोध हट्यो भने अर्को वर्ष घटेर ५० डलरजति हुने सम्भावनालाई बेवास्ता गर्नु पनि हुँदैन। यो वर्षको अन्तिमतिर अमेरिकामा संसद्को मध्यावधि निर्वाचन हुन लागेको छ।
'सबै कुरा फेरिन सक्छ'
सन् १९७० को दशकको तुलनामा अहिले विश्वको तेलबजारमा ओपेकको महत्त्व अलिक कम छ। त्यस बेला अन्तर्राष्ट्रिय बजारमा पुग्ने तेलमध्ये ८५ प्रतिशत ओपेकका सदस्यहरूले उत्पादन गरेका हुन्थे तर अहिले त्यसको अंश ५० प्रतिशतजति मात्रै छ।
अहिले वैश्विक अर्थतन्त्रका लागि तेल पहिलाको जस्तो निकै महत्त्वपूर्ण पनि छैन। अहिले ओपेकको महत्त्व भए पनि एकाधिकार छैन।
म ओपेकका नेता तथा साउदी अरबका भूतपूर्व तेलमन्त्री शेख यमानीले भनेको सम्झिन्छु : "विश्वमा ढुङ्गा सकिएकाले ढुङ्गेयुग सकिएको हैन। तेल सकिएर तेलयुग टुङ्गिने छैन।" यसले ऊर्जाका अन्य स्रोतहरूले हाइड्रोकार्बनमा आधारित इन्धनलाई विस्थापित गर्ने जनाउँछ।
यूएईको कदमलाई विश्व तेलमा कम निर्भर हुन थालेको सङ्केत मान्न सकिन्छ। वर्तमान अशान्त अवस्थामा अरू सङ्केत पनि देखिएको छ। उदाहरणका लागि, विद्युतीकरणमा गरिएको लगानीका कारण चीनले तेल र ग्यासको मूल्यवृद्धिबाट पर्ने दुष्प्रभाव वहन गर्न सकेको छ।
चीनले कार, लरी र रेललाई बिजुलीबाट चल्ने बनाएपछि तेलको माग प्रतिदिन १० लाख ब्यारलले घटेको छ। विश्वभरि विद्युतीय सवारीसाधनको प्रयोग गर्ने प्रवृत्ति उही रूपमा बढ्यो भने तेलको माग स्थिर हुने छ।
त्यसैले माग घट्नुअघि नै खानीबाट चाँडो तेल निकालेर लाभ लिन खोज्नु युक्तिसङ्गत नै देखिन्छ। यूएईसँग बलियो अर्थशक्ति छ अनि वित्तीय सेवा र पर्यटनका कारण अर्थतन्त्रमा आंशिक रूपमा विविधता पनि छ।
खाडीमा तनाव मत्थर भयो भने त्यसपछि विकसित हुने नयाँ 'सामान्य स्थिति'मा धेरै कुरा निर्भर हुने छ।
ओपेकबाट यूएईको बहिर्गमनले शृङ्खलाबद्ध प्रभाव निम्त्याउन सक्छ। अब साउदी अरबमाथि उल्लेखनीय दबाव पर्ने छ।
फेरि जलमार्गमा तेलवाहक जहाजहरू चल्न थालेपछि वा यूएईले नयाँ पाइपलाइन बनाउने प्रयास बढाएपछि इमिराती तेल पहिलाको भन्दा बढी मात्रामा बजारमा पुग्ने छ। त्यसो गर्दा यूएईले ओपेकको प्रतिबद्धता पालना गर्नुपर्दैन।
यूएईको बहिर्गमनले अहिलेको अवरोधमा खासै प्रभाव पर्दैन। तर पछि सबै कुरा फेरिन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।