तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पहिचान नभएका सयौँ शव, हजारौँ सम्पर्कविहीन र अस्पष्ट तथ्याङ्क : मानव क्षतिको वास्तविक आकार 'महिनौँ थाहा नहुन सक्छ'
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
रसुवा बाढीको दुई साता नाघिसक्दा अधिकारीहरूले मानवीय क्षतिको प्रस्ट आकार थाहा पाउन "तत्काल सम्भव नहुने" र "पहिचान र पुष्टिको काम वर्षौँ चल्ने" देखिएको बीबीसीलाई बताएका छन्।
"हराएकाको यथार्थ तथ्याङ्क अझै हामीसँग छैन। त्यसबाहेक कतिपय शवहरू कहिल्यै फेला नपर्न पनि सक्छन्," नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले भने।
नेपाल प्रहरीको विवरण अनुसार फेला परेका झण्डै १४ सय वटा शवहरूमध्ये करिब पाँच सयको आंशिक अङ्ग मात्र छन्। तिमध्ये करिब एक सयवटा शव मात्र उनीहरूका परिवारजनले बुझ्न सकेको बताइएको छ।
बेपत्ताको सङ्ख्यामा सरकारकै दुई निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरीबीचको सङ्ख्यामा करिब तेह्र सयको अन्तर छ।
मङ्गलवार साँझ सार्वजनिक विवरण अनुसार प्राधिकरणले करिब ५ हजार ३ सय जना सम्पर्कविहीन बताइरहँदा प्रहरीले भने करिब ४ हजार १ सय जना बेपत्ता रहेको उल्लेख छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीसँग भनिन्: "अहिले जति जना सम्पर्कविहीन हुनुहुन्छ भनिएको छ त्यसको वास्तविक सङ्ख्या त्यति नै नहुन पनि सक्छ। त्यसमध्येकै पनि मृत वा उद्धार भएका हुन सक्नुहुन्छ।"
उनी भन्छिन्: "शव पहिचान नभइसकेकालाई कानुनत: हामीले सम्पर्कविहीनबाट हटाउन पनि मिल्दैन।"
'कहिल्यै सामना नगरेको सकस'
प्रहरी अधिकारीहरूले शव सङ्कलनबारे "यसअघि कहिल्यै सामना नगरेको" सकस झेलिरहेको बताउँछन्।
केन्द्रीय प्रवक्ता काफ्लेले अब प्रहरीले चीनतर्फको सीमादेखि भारतसम्मै खोलाका दुवै किनारामा पुरिएका घर, ओडार लगायतका संरचना खोजतलाज गर्ने एउटा ठूलो अभियान सुरु गर्न लागेको बताए।
"ड्रोन, तालिमप्राप्त कुकुर, बाइनाकुलरसहितको प्रयोग गर्दै हामी ठूलो जनशक्ति प्रयोग गरेर त्यस्तो काम गर्दैछौँ," काफ्लेले भने।
विपद्को पहिलो मार खेपेको रसुवागढी नाकाभन्दा तलपट्टि दुई सय किलोमिटर भन्दा पर त्रिवेणीधामनजिक करिब दुई साता पुग्दै गर्दा पनि शवहरू सङ्कलन गरिएको छ।
भारततर्फको सीमावर्ती जिल्ला नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता मदन थापा भन्छन्: "हामीले सग्लै भेटेका शव पनि अनुहारका भरमा पहिचान गर्न सक्ने एउटै थिएन। अवशेषका रूपमा भेटिएका शवको त झनै ठूला चुनौती छन्।"
२०० भन्दा धेरै शव सङ्कलन गरे तापनि थापा कार्यरत प्रहरी इकाईले ९ वटा मात्र शव परिवारलाई हस्तान्तरण गर्न सक्यो।
"त्यो पनि शव चिनेर नभई ट्याटुका कारणले सम्भव भएको थियो," थापा भन्छन्। "अवशेषहरू एक जनाकै एउटा भन्दा धेरै हुनसक्ने सम्भावना पनि रह्यो।"
खस्कँदो आशा
१० भदौको उक्त विपद्मा परेर सम्पर्कविहीन बनेका कैयौँका परिवारले "लास वा सास" दुवैको आशा मारेर दिवङ्गतको प्रतिमाका रूपमा कुशको शव बनाउँदै अन्तिम संस्कार गरेका पाइन्छन्।
एकजना सेवा निर्वित्त फरेन्सिक विशेषज्ञ डा हरिहर वस्तीले हाल फेला परेका शव र तिनका अवशेषकै डीएनए म्याचिङ गर्दै मृत्यु पुष्टि गर्ने काममा सरकारलाई महिनौँ लाग्ने ठान्छन्।
"यति धेरै शवका लागि डीएनएको बाटो लिइँदा यो निकै लम्बे प्रक्रिया हुन आउँछ। त्यसका लागि महिनौँ लाग्न सक्छ," आफ्नो करिअरमा १५ हजार भन्दा धेरै शवको परीक्षण गरेको बताउने वस्तीको भनाइ छ।
"सुरुवाती केही दिनका शवलाई 'डकुमेन्ट' गर्दा मृतकका ट्याटु, खत र उसका शवसँग जोडिएका हुनसक्ने गरगहनाजस्ता अन्य वस्तुका आधारमा पहिचान गर्न जोड दिनुपर्थ्यो। सुरुवाती चार-पाँच दिन औँठा छाप लिन सकिने परिस्थिति पनि रहन्थ्यो।"
ठूला विपद्मा शव पहिचान गर्न त्यस्ता विधिहरू अन्यत्र प्रयोग भएको बताउँदै उनले नेपालले त्यो अवसर गुमाइसकेको बताउँछन्।
प्रहरी प्रवक्ता काफ्लेले आफूहरूका लागि वर्षौँ चल्ने "ठूलो र निरन्तर"को जिम्मेवारीका रूपमा रहने बताउँछन्।
उनी भन्छन्: "ठूलो गेगरानमा शवहरू पुरिएका छन्। जुन वा तिनका शव बर्खा सकिएपछि वा आउँदा बर्खाका भेलमा बिस्तारै निस्कन सक्छन्। यो देशभित्र र बाहिरका हजारौँ परिवारको लामो पीडासँग जोडिने विषय पनि हो। जसको जहिले भए पनि ससम्मान सङ्कलन र पुष्टि गर्ने काम प्रहरीले गर्नेछ।"
नेपालले कूटनीतिक संयन्त्र प्रयोग गर्दै भारतमा समेत शवहरू पुगेको हुनसक्ने जनाए तापनि हालसम्म त्यहाँबाट कम्तीमा १९ वटा शव भारतबाट नेपाल पठाइएको विवरण रहे तापनि त्यस्तो वास्तविक सङ्ख्या उच्च हुनसक्ने अधिकारीहरूको आकलन छ।
अब 'डीएनए परीक्षणकै भर'
हाल मुख्यतः नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला र खुमालटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण हुने गरेको छ।
"यसअघि धेरैजसो फौजदारी विषयको अनुसन्धानका क्रममा वा सम्बन्ध कायम सम्बन्धी प्रयोजनमा ती प्रयोग हुन्थे। त्यसमा पहिल्यैका नमूनाका काम बाँकी पनि छन्," प्रहरी प्रवक्ता काफ्ले भन्छन्।
अधिकारीहरूले ती दुवै प्रयोगशालामा गरेर यसअघि वर्षमा एक हजारभन्दा कम डीएनए 'म्याचिङ' र 'प्रोफाइलिङ'का काम हुने गरेको बताउँछन्।
प्रहरी विवरण अनुसार हालसम्म शवको र सम्पर्कविहीनका परिवारको गरेर डीएनए म्याचिङका लागि २६०० भन्दा धेरै नमूना सङ्कलन गरिएको छ।
प्रहरीले सम्पर्कविहीन रहेकाहरूकाको परिवारलाई ७६ वटा जिल्लाबाटै नमूना दिन सक्ने जनाएको छ।
विपद्को तेस्रो दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालसँग "सीमित फरेन्सिक सुविधा रहेको" भन्दै त्यसको पहिचानमा विदेशी सहयोगको "अपेक्षा" राखेको बताएका थिए।
अधिकारीहरूले हाल भारत, चीन, दक्षिण कोरिया, सिङ्गापुर लगायतका विभिन्न देशबाट सहायतामा त्यससम्बन्धी उपकरणहरू र विदेशी विज्ञहरू पनि नेपाल आएको प्रहरीले जनाएको छ।
अधिकारीहरूले हताहत भएकाको सङ्ख्या निकै ठूलो बताउँदै जेसुकै भए पनि वास्तविक जानकारी दिलाउने काम महत्त्वपूर्ण हुने बताउँछन्।
प्राधिकरण प्रवक्ता शान्ति महतले हालको कानुन अनुसार १२ वर्षसम्म बेपत्ता भएकालाई मात्र मृत घोषित हुने भएकामा अभूतपूर्व विपद्का बेला भएकोले "अब केही महिनामा झार्ने गरी निर्णय गर्नेबारे छलफल भइरहेको" बताउँछिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।