तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनका विभिन्न सहरमा रुसद्वारा भीषण हमला, कैयौँ मानिस हताहत
रुसले युक्रेनका विभिन्न सहरमा गरेको भीषण आक्रमणमा परी कैयौँ मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। यो आक्रमणलाई मस्कोले केही महिनायता गरेको एउटा ठूलो सैन्य कारबाही मानिएको छ।
अहिलेसम्म द्नीप्रोमा ११ जना र राजधानी किएभमा पाँच जना गरी कुल १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये दुई जना बालबालिका हुन्।
रुसले सोमवार राति गरेको हवाई हमलाका कारण दर्जनौँ मानिस घाइते भएका छन्। तीमध्ये केही बालबालिका पनि छन्।
रुसले आवासीय भवनहरूलाई निसाना बनाई हमला गरेको देखिएको छ। हमलामा परेका भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्का गरिएकाले आपत्कालीन सेवाका कर्मचारीहरूले जीवित मानिसको खोजी गरिरहेका छन्।
स्थानीय अधिकारीहरूका अनुसार द्नीप्रो आक्रमणमा परेको एउटा भवनको भग्नाशेषबाट इक आठवर्षे बालक र एक महिलाको शव निकालिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशैभरि गैरसैनिक भौतिक संरचना र ऊर्जासँग सम्बन्धित संरचनाहरूलाई निसाना बनाइएको बताएका छन्।
रुसी रक्षा मन्त्रालयले युक्रेनले पहिला गरेका हमलाहरूको प्रतिक्रिया दिन अहिले आक्रमण गरिएको र आफ्नो "उद्देश्य" पूरा भएको जनाएको छ।
कहाँकहाँ भयो हमला
हवाई हमला हुन लागेको भन्दै मङ्गलवार बिहान सबेरै युक्रेनका अधिकांश सहरमा चेतावनी जारी गरिएको थियो।
रुसी नियन्त्रणमा भएको पूर्वी युक्रेनको एउटा भूभागमा अवस्थित छात्रावासमा किएभले घातक आक्रमण गरेको आरोप लगाउँदै गत साता रुसले युक्रेनमाथि "योजनाबद्ध आक्रमण" गर्ने चेतावनी दिएको थियो। किएभले आफूले रुसी सैनिकहरूको एउटा एकाइलाई निसाना बनाएको दाबी गरेको थियो।
मध्यकिएभबाट धुवाँका ठूलाठूला मुस्ला निस्किएको देखिएको थियो। किएभका नगरप्रमुख भिटाली क्लिच्कोले नगरवासीहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न आह्वान गरेका छन्।
"शत्रुले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ," किएभको सैन्य प्रशासनका प्रमुखले भने।
किल्च्कोका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेषमा मानिसहरू पुरिएको ठानिएको छ।
रुसको क्रस्नोदार क्राईस्थित आपत्कालीन प्रतिकार्य केन्द्रले इल्स्की तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएको र त्यहाँ आगो लागेको जनाएको छ। तर त्यहाँ कोही पनि हताहत नभएको बताइएको छ।
बिहानैदेखि किएभमा हमला सुरु भएपछि एक दर्जनभन्दा बढी पटक ठूलो विस्फोटन भएको र बीचबीचमा ड्रोन उडेको आवाज सुनिएको थियो।
रुसी हमलाका कारण एउटा इन्धन भर्ने स्टेशन, एउटा निर्माणस्थल र कैयौँ आवासीय भवनहरू अनि दुइटा निजी घरहरूमा आगलागी भएको क्लिच्कोले बताए। सहरभरि विद्युत् आपूर्ति अवरुद्ध भएको विवरण आएको छ।
पूर्वोत्तर युक्रेनमा अवस्थित खार्किभका नगरप्रमुख इहोर टेरेकोफका अनुसार त्यहाँ राति ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गरिँदा एउटा बच्चासहित १० जना घाइते भएका छन्। दक्षिणी सहर ज्यापरीजमा एउटा उद्योगमा पनि आक्रमण भएको थियो।
जेलेन्स्कीको पूर्वचेतावनी
सोमवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमण गर्न सक्ने भन्दै सर्वसाधारण मानिसहरूलाई हवाई हमला हुन लाग्दा दिइने सूचनातिर ध्यान दिन आग्रह गरेका थिए।
"रुसी हमलाहरूबारे गुप्तचर निकायहरूले जारी गरेका चेतावनीहरू अझै कायम छन्। ठूलो आक्रमण हुन सक्छ, उनीहरूले त्यसको लागि तयारी गरेका छन्," जेलेन्स्कीले आफ्नो भिडिओ सम्बोधनमा भने।
मङ्गलवार बिहान जेलेन्स्कीले रुसले ६५६ वटा ड्रोन र विभिन्न किसिमका ७३ वटा क्षेप्यास्त्र राति प्रहार गरेको बताए।
रुसले किएभस्थित सैन्य र निर्णय गरिने केन्द्रहरूलाई लक्ष्य बनाउने भन्दै गत साता विदेशी नागरिकहरूलाई सहरबाट अन्यत्र जान भनेको थियो। रुसले स्टारोबिल्स्कमा जानीजानी छात्रावासमा हमला गरेको भन्दै त्यसको जबाफ दिइने जनाएको थियो।
त्यतिबेला युक्रेन सैन्य बलहरूका प्रमुखले स्टारोबिल्स्कमा २१-२२ मेमा राति हमला गरेको तर त्यो रुसी सैन्य एकाइमाथि भएको दाबी गरेका थिए।
किएभले रुसी धम्कीलाई "निर्लज्ज ब्ल्याकमेल"को सङ्ज्ञा दिँदै आफ्ना सहयोगी राष्ट्रहरूलाई मस्कोमाथि दबाव बढाउन आह्वान गरेको छ।
मे महिनामा अल्पकालीन युद्धविराम सकिएपछि रुसले किएभमाथि कैयौँ पटक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिसकेको छ। एउटा आवासीय भवनमा भएको हमलामा तीन बालबालिकासहित २४ जनाको ज्यान गएको थियो।
मस्कोमा युक्रेनले गरेको ड्रोन हमलामा तीन जनाको ज्यान गएको थियो। जेलेन्स्कीले उक्त घटनलाई रुसी आक्रमणहरूको "जायज जबाफ" भएको टिप्पणी गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।