जीन सम्पादन गरेर के कुखुरामा बर्ड फ्लू रोक्न सकिन्छ

कुखुरा
तस्बिरको क्याप्शन, आनुवंशिक संरचना परिवर्तन गरिएका यी कुखुराहरूले आंशिक रूपमा बर्ड फ्लू प्रतिरोधी छन्
    • Author, पल्लब घोष
    • Role, विज्ञान संवाददाता
  • Published

अनुसन्धानकर्ताहरूले जीन (वंशाणु) सम्पादन प्रविधि प्रयोग गरी बर्ड फ्लू रोग प्रतिरोध गर्न सक्ने आंशिक क्षमता भएका कुखुरा विकास गरेका छन्।

ती कुखुरा बर्ड फ्लूबाट पूर्ण रूपमा सुरक्षित नभए पनि वैज्ञानिकहरू तीन वर्षभित्र उक्त रोग लगाउने भाइरसलाई रोक्न सकिने विश्वासमा छन्।

अहिलेको परिणामले कुखुराको डीएनएमा थप परिवर्तन गरेर तिनलाई बर्ड फ्लू प्रतिरोध गर्न समर्थ बनाउन सकिने देखिएको छ।

तर आलोचकहरू जीन सम्पादनबाट रोगको वास्तविक कारणलाई फरक नपार्ने औँल्याउँछन्।

यूनिभर्सिटी अफ एडिन्बराको रोस्लिन इन्स्टिट्यूटमा कार्यरत प्राध्यापक हेलेन साङका अनुसार कुखुराको जीन सम्पादन गर्ने टोलीले उल्लेख्य प्रगति गरेको छ।

"हामी निकै उत्साहजनक परिणाम आउने बिन्दुमा पुगेका छौँ र हामी यसलाई अझ अगाडि बढाउन चाहन्छौँ।"

समुद्री चरा
तस्बिरको क्याप्शन, अहिले बर्ड फ्लूबाट संरक्षित समुद्री पक्षी 'ग्यानिट' निकै प्रभावित भएको छ

कसरी बन्छ बर्ड फ्लू प्रतिरोध गर्ने क्षमता?

कुखुरामा बर्ड फ्लू भाइरसको सङ्ख्या बढ्न महत्त्वपूर्ण हुने ठानिएका तीनवटा जीन अनुसन्धानकर्ताहरूले पत्ता लगाए। उनीहरूले तीमध्ये एउटा जीनमा जीन सम्पादन विधि प्रयोग गरी दुइटा साना परिवर्तन गरे।

ती कुखुरामा दुई वर्षसम्म कुनै दुष्प्रभाव देखिएन। तिनमा बर्ड फ्लूविरुद्ध लड्ने क्षमता बढेको पाइयो। तर उच्च मात्रामा भाइरसबाट सङ्क्रमण गराउँदा आधाजति कुखुरामा बर्ड फ्लू सर्‍यो।

प्रतिरोध क्षमता बढेको पाइनु उत्साहवर्धक उपलब्धि भए पनि पूर्ण प्रतिरोध हात पार्न सक्ने उपाय मात्र व्यवहारमा उपयोगी हुन्छ।

आंशिक प्रतिरोध क्षमता विकसित गराउने उपाय प्रयोग गर्दा भाइरसले पनि आफूअनुकूल परिवर्तन हुने अवसर पाउँछ। त्यस्तो उपाय व्यापक रूपमा प्रयोग गरिएको छ र भाइरसमा मानिसलाई घातक हुने खालको उत्परिवर्तन भयो भने अर्को वैश्विक महामारीको खतरा निम्तिन सक्छ।

रोस्लिन इन्स्टिट्यूटका अर्का प्राध्यापक माइक मक्ग्रूका अनुसार टेस्टट्यूबमा गरिएका प्रयोगहरूले तीनवटै जीनमा परिवर्तन गरिए पूर्ण प्रतिरोध क्षमतायुक्त कुखुरा बनाउन सकिने सम्भावना देखाएका छन्।

"हामीले कोशहरूमा जीन सम्पादन गर्दा भाइरस पटक्कै बढेको थिएन। ती परिवर्तनहरूले बर्ड फ्लूको भाइरसको वृद्धि पूरै रोकिदियो," उनले बीबीसी न्यूजसँग भने।

"तीनवटै जीनमा सम्पादन गर्दा पूर्ण प्रतिरोध क्षमता बन्छ भन्ने कुरामा म ढुक्क छु।"

कुखुराका चल्ला
तस्बिरको क्याप्शन, अण्डा उत्पादकहरूले विश्वभरि प्रत्येक वर्ष अर्बौँ भाले चल्ला मार्छन्। त्यसो गर्नुनपरोस् भन्ने उद्देश्यले पोथी चल्ला मात्र कोरलिने अण्डा पार्ने कुखुरा विकास गर्न जीन सम्पादनसँग सम्बन्धित अनुसन्धान भइरहेको छ।

कसरी गरिन्छ जीन सम्पादन?

कुनै जीनको काममा परिवर्तन गराउन जीन सम्पादन गर्दा डीएनएमा सूक्ष्म परिवर्तन गरिन्छ। यो अनुसन्धानमा तीनवटा जीनमा परिवर्तन गरी बर्ड फ्लू गराउने भाइरसको प्रजनन रोक्न सघाउन खोजियो। त्यसो गर्दा कुखुरालाई कुनै हानि पुगेन।

आफ्नो अनुसन्धानको अर्को चरणका लागि सम्पादित जीन भएका कुखुरा उत्पादन गर्नुअघि वैज्ञानिकहरू थप कस्तो आनुवंशिक परिवर्तन आवश्यक हुन्छ भन्ने कुरा निर्क्योल गर्न खोज्दै छन्।

बर्ड फ्लूलाई विश्वभरि ठूलो खतरा मानिन्छ।

मानिसले पालेका तथा जङ्गली पक्षीहरू यो रोगबाट नराम्ररी प्रभावित हुँदै आएका छन्।

बर्ड फ्लूका कारण कुखरापालन व्यवसायलाई ठूलो हानि पुग्ने गरेको छ।

कुखुरा

बर्ड फ्लू के हो र कसरी उत्पन्न भयो?

बर्ड फ्लू एक किसिमको भाइरसले गराउँछ। यो भाइरस सङ्क्रामक हुन्छ। झन्डै एक शताब्दीदेखि यो रोगले चराचुरुङ्गीलाई प्रभावित गर्दै आएको ठानिन्छ।

बर्ड फ्लू भाइरसको अहिले देखा परेको प्रकार एचफाइभएनवन (H5N1) हो। यो सन् १९९० को दशकमा चीनस्थित कुखुरा फारममा उत्पन्न भई फैलिएको ठानिन्छ।

कहिलेकाहीँ बर्ड फ्लू भाइरसमा उत्परिवर्तन हुँदा यो रोग मानिसमा पनि सर्छ र गम्भीर बिरामी बनाउँछ।

विश्वस्वास्थ्य सङ्गठनका अनुसार एचफाइफएनवन भाइरसले सन् १९९७ देखि सयौँ मानिस सङ्क्रमित भइसकेका छन्।

के अरू जनावरको जीन पनि सम्पादन गरिएको छ?

पशुलाई रोगसँग जुध्न सक्ने बनाउन जीन सम्पादन गर्नु भनेको तिनलाई नराम्रो अवस्थामा राख्न खोज्नु हुने तर्क कम्प्याशन इन वर्ल्ड फार्मिङ (सीआईडब्ल्यूएफ) का पीटर स्टीभन्सन गर्छन्।

"निकै सङ्क्रामक बर्ड फ्लू जङ्गली चराचुरुङ्गीका कारण भएको हैन। यो त कोचाकोच गरेर राखिने पोल्ट्री उद्योगको तनावपूर्ण अवस्थाबाट उत्पन्न भएको हो," उनी भन्छन्।

बर्ड फ्लूविरुद्ध नीति बनाउँदा कुखुरापालन क्षेत्रको पुनः संरचना गर्नुपर्ने र त्यसमा भिडभाड र कुखुराको बथानको आकार घटाउनुपर्ने उनी औँल्याउँछन्।

अमेरिकामा वैज्ञानिकहरूले जीन सम्पादन गरेर गर्मी सहन तथा धेरै दूध उत्पादन गर्न सक्ने क्षमतायुक्त यो बाच्छी उत्पादन बनाएका छन्
तस्बिरको क्याप्शन, अमेरिकामा वैज्ञानिकहरूले जीन सम्पादन गरेर गर्मी सहन तथा धेरै दूध उत्पादन गर्न सक्ने क्षमतायुक्त यो बाच्छी बनाएका छन्

अण्डा उत्पादकहरूले भाले चल्लाको हत्या नगरून् भनेर सीआईडब्ल्यूएफले जीन सम्पादनलाई समर्थन गरेको छ। पशुकल्याणको अभियान सञ्चालन गर्ने उक्त समूहले पशुपक्षीले खेप्नुपर्ने पीडा घटाउन प्रविधिको प्रयोग गर्नुपर्ने मान्यता राख्छ।

जीन सम्पादन प्रविधि प्रयोग गरी रोगसँग प्रतिरोध गर्न सक्ने र बढी उत्पादकत्व भएका पशु विकास गर्ने प्रयास विश्वभरि भइरहेको छ।

यो अनुसन्धान 'नेचर कम्यूनिकेशन्स' मा प्रकाशित भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।