फ्लाईदुबईका पाइलटमाथि सह-पाइलटले उडानका क्रममा गरेको हमलाबारे यात्रु के भन्छन्

यात्रुहरू इजरेल पुगेका छन्
Published
पढ्ने समय: २ मिनेट

पाइलटमाथि चक्कुले आक्रमण गरेर विमान दुर्घटना गराउन खोजेका सह-पाइलटलाई कसरी नियन्त्रणमा लिइयो भन्नेबारे दुबईबाट उडान गरिरहेका इजरेली यात्रुहरूले सुनाएका छन्।

फ्लाईदुबईको यात्रुवाहक विमान भुइँमा झर्दै गर्दा कैयौँ यात्रुहरू जबर्जस्ती ककपिटमा गए अनि आक्रमणकारीलाई समाते।

त्यसपछि विमानमा रहेका चालक दलका अन्य दुई सदस्यले नियन्त्रण कायम गरे र साउदी अरबमा विमानको आपत्कालीन अवतरण गराए।

भारतीय नागरिक रहेका घाइते पाइलट स्मित मच्छारले जुझेर ककपिटको ढोका खोली ठूलो दुर्घटनाबाट बचाउन सफल भएको भन्दै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनको प्रशंसा गरेका छन्।

डरलाग्दा विवरण

फ्लाईदुबईले घटनाबारे अनुसन्धान पूरा नभएसम्म इजरेलका लागि आफ्ना उडानहरू स्थगित गरिएको जनाएको छ।

दुबईबाट तेल अभिभका लागि उडेको उक्त यात्रुवाहक विमानका यात्रुहरूबाट केही डरलाग्दा विवरणहरू सुनिएको छ।

उडानमा रहेका अल्मोग इटलीले अचानक हावामा खस्नुको अनुभवलाई रोलरकोस्टर चढ्दा अनुभव हुने तौलविहीनताको अनुभूतिसँग तुलना गरेका छन्। "व्यापक जी-फोर्सका साथ अचानक विमान रोलरकोस्टर जस्तै खस्न थाल्यो," इटलीले भने।

"२० अथवा ३० सेकेन्डसम्म द्रुत गतिमा खस्न जारी रह्यो," उनले भने, "त्यसपछि विमान स्थिर भयो र फेरि ओर्लन थाल्यो।"

विमान दोस्रो पटक खस्न थालेपछि मानिसहरू "ककपिटतिर दौडिरहेको" उनले देखे।

"एक जना पाइलटले अर्को पाइलटलाई रोके अनि केही यात्रु र चालक दलका सदस्यहरूले नियन्त्रणमा लिएर विमानलाई तल ल्याएको स्पष्ट थियो।"

"पाइलटलाई नियन्त्रणमा लिन खोज्दा तीन अथवा चार जना यात्रुहरू मात्र घाइते भएका थिए। त्यसैले तपाईँले उनीहरूका अनुहार देख्नुभएको होला, तर बाँकी यात्रुहरू सकुशल थिए। ती तीन वा चार जना बहादुरहरूलाई पनि सामान्य चोटपटक लागेको थियो, गम्भीर चोटपटक लागेको थिएन।"

"तिनीहरू धेरै साहसी छन्," इटलीले भने। "तिनीहरूले साँच्चै हाम्रो ज्यान जोगाए।"

फ्लाइदुबईको विमान

साउदी अरबमा अनुसन्धान

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले "आक्रमण गर्ने पाइलट" माथि साउदी अरबमा अनुसन्धान भइरहेको बताएका छन्।

नेतन्याहूले पाइलटलाई सम्भवतः विमानको प्रस्थानबिन्दु मुलुक संयुक्त अरब एमिरेट्स लगिने फक्स न्यूजका सीन ह्यानिटीसँग भनेका छन्।

इजरेलले अनुसन्धानमा सहयोग गर्ने भन्दै नेतन्याहूले पाइलटले आक्रमण गर्नुको कारण स्पष्ट हुन नसकेको बताएका छन्।

दुर्घटना हुनबाट जोगाएका मानिसहरूको "असाधारण साहस" को उनले प्रशंसा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि फ्लाईदुबईका पाइलटको प्रशंसा गर्दै उनलाई "नायक" भनेका छन्।

उनले बताएअनुसार पाइलटले को-पाइलटद्वारा गरिएको चक्कु प्रहारको सामना गरे, ककपिटको ढोका खोले र सहयोगका लागि गुहार मागे। त्यसरी उनले विमानलाई जानाजान दुर्घटना गराउने तथाकथित प्रयासलाई विफल पार्न मद्दत गरे।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले इजरेली प्रधानमन्त्री नेतान्याहुसँग आफूले घटनाबारे कुराकानी गरेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।