साढे तीन महिना भइसक्दा पनि बर्ड फ्लू निरन्तर देखिँदै, नियन्त्रणमा कहिलेसम्म आउँछ

पूर्वी नेपालमा बर्ड फ्लू नियन्त्रणका लागि प्रयास भइरहँदाको अवस्था
Published
पढ्ने समय: ३ मिनेट

गत वर्षको चैत पहिलो साता पूर्वी नेपालमा देखिएको बर्ड फ्लू (H5N1) को सङ्क्रमण साढे तीन महिना हुन लाग्दा पनि नियन्त्रणमा आउन सकेको छैन।

पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका १०० भन्दा बढी स्थानमा बर्ड फ्लूको पुष्टि भइसकेका छन्। त्यसमध्ये ९८ वटालाई नियन्त्रणमा लिए पनि देखिने क्रम जारी नै रहेको छ।

उक्त विभागका महानिर्देशक उमेश दाहालले आइतवारसम्म करिब १०५ स्थानमा देखिएको र पूर्ण नियन्त्रणका लागि अझै करिब दुई साता लाग्ने बताएका छन्।

पन्छीमा लाग्ने उच्च मृत्यु दर भएको यो सङ्क्रामक रोगलाई नियन्त्रणमा लिन सरकारले पर्याप्त काम गर्न नसकेको एक सङ्क्रामक रोग विशेषज्ञ बताउँछन्।

तर सरकारले भने रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरेर रोग देखा परेका क्षेत्रमा तीनै तहको सरकारको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको जनाएको छ।

पछिल्लो अवस्था कस्तो छ?

पशु सेवा विभाग

तस्बिर स्रोत, DoLS

गत वर्ष चैत महिनाको ४ गते पहिलोपटक मोरङ जिल्लामा बर्ड फ्लू पुष्टि भएयता अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमान्डू, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक गरी ११ जिल्लामा यो रोग पुष्टि भइसकेको विभागले जनाएको छ।

यी मध्ये काठमान्डू उपत्यका र काभ्रेमा अहिले पनि देखिने क्रम रहेको र बाँकीमा पूर्ण रूपमा नियन्त्रणमा रहेको विभागका महानिर्देशक दाहालले बताए।

"विशेषगरी काठमान्डू को हिसाबले हेर्ने हो भने जङ्गली कागमा पनि सङ्क्रमण देखिएको हुनाले र काग सबैतिर पुग्ने भएकाले नियन्त्रणमा केही समय लागेको हो," दाहालले भने।

"काठमान्डूमा मात्रै ५७ वटा स्थानमा देखियो। पन्छी उत्पादन गर्ने सामग्रीहरू अन्न दानालगायत नष्ट गर्ने सम्पूर्ण काम लगभग सकिएको छ।"

विशेषगरी भक्तपुर र काभ्रेमा भने अझै पनि रोग देखिने क्रम रहेको उनले बताए।

"काभ्रेमा हेर्ने हो भने बनेपाको दुई वटा स्थान र पनौतीका ३/४ वटा स्थानमा देखिएको छ," उनले भने।

"ठ्याक्कै नियन्त्रण भइसकेको छैन तर विस्तारै सङ्क्रमण कम हुन्छ भन्ने अवस्थाचाहिँ देखिएको छ।"

पूर्ण रूपमा नियन्त्रणमा कहिलेसम्म ल्याउन सकिन्छ?

"पूर्वमा डेढ महिना जतिमा पूर्ण रूपमा नियन्त्रणमा आयो। यहाँचाहिँ जङ्गली कागका कारण पुनरावृत्ति भएको हो। एक दुई हप्ताभित्र यो रोग अब देशभित्र छैन भन्ने अवस्थामा पुग्छौँ कि जस्तो देखिन्छ। हामीले अहोरात्र प्रयास गरिनै रहेका छौँ," विभागका महानिर्देशक दाहालले भने।

सरकारको प्रयास कस्तो देखिन्छ?

एकजना सङ्क्रामक रोग विशेषज्ञ भने विगतदेखि नै बेला बेला देखिँदै आएको बर्ड फ्लूको रोग नियन्त्रणका लागि सरकारले पर्याप्त काम गरेको नदेखिएको बताएका छन्।

"सरकारको प्रयास पर्याप्त हुँदो हो त निरन्तर फैलिरहने हुँदैन थियो होला। बर्ड फ्लू त यो वर्ष मात्रै देखिएको होइन, प्रत्येक वर्ष देखिइरहँदा तयारी कस्तो गर्नुपर्छ भन्ने हुनुपर्थ्यो," सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने।

"त्यसैले हामी(सरकार) कहीँ न कहीँ चुकिरहेका छौँ।"

बर्ड फ्लूका बेला गर्न हुने र नहुने कुरा

बर्ड फ्लू रोग पुष्टि हुने क्रम नरोकिएका कारण उपत्यकाको ललितपुर जिल्लास्थित जावलाखेलको सदर चिडियाखाना असार ५ गतेदेखि बाहिरी आगन्तुकहरूको निम्ति बन्द गरिँदै आएको छ।

बर्ड फ्लू नियन्त्रणमा नआइसकेको र निरन्तर देखिइरहेका कारण मानिसहरूले सतर्क रहनुपर्ने डाक्टर पुन बताउँछन्।

"सर्वसाधारणभन्दा पनि जो पन्छी पालक कृषक हुन्छन् र पन्छीसँग नजिक भएर काम गर्छन् उनीहरू, अनि त्यसपछि ढुवानी गर्ने र बेचबिखन गर्नेहरू तथा वधशालामा काम गर्नेहरू सतर्क हुनुपर्छ," उनले भने।

अहिलेको अवस्थामा त्यस्तो आत्तिनुपर्ने नभए पनि विगतमा देखिएका कारण सतर्क हुनु राम्रो हुने उनी सुझाउँछन्।

बर्ड फ्लू रोग पुष्टि भएयता अहिलेसम्म पशु सेवा विभागका अनुसार ६ लाख भन्दा बढी कुखुराहरू, १० लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलोग्राम दाना नष्ट गरिसकिएको छ।

रोग पुष्टि भएकामा बोइलर खासै नदेखिएकाले मानिसहरूले खपत गर्ने मासुलाई लिएर त्यति धेरै डराउनुपर्ने अवस्था नरहेको विभागको भनाइ छ।

"एक त बजारमा सङ्क्रमित मासु गएकै छैन। त्यसमाथि पकाएर मात्रै मासु खाने हुँदा मासु खान सकिन्छ," दाहालले भने।

जङ्गली कागमा पनि बर्ड फ्लू देखिएको र उनीहरू जतासुकै जान सक्ने कारणले आफ्नो घर छेउछाउ त्यस्तो पन्छी मरेको देखिए स्थानीय सरकार वा सम्बन्धित निकायलाई जानकारी गराउनु नागरिकको पनि कर्तव्य हुने डाक्टर पुन बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।