स्यूटा आप्रवासी सङ्कटले दुई युरोपेली देशबीच दुर्लभ विवाद

स्यूटामा प्रवेश गरेका आप्रवासीहरू

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: ४ मिनेट

मोरक्कोबाट स्पेनको स्वायत्त टापु स्यूटामा ठूलो सङ्ख्यामा आप्रवासीहरू प्रवेश गरेपछि उत्पन्न विवादसँगै स्पेनले इटलीबाट हुने हवाई तथा समुद्री यात्रामा नियन्त्रण लागु गरेको छ।

सीमा नियमन गर्ने निर्णय स्पेनको निर्णयले दुई युरोपेली सङ्घ ईयू र उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो दुवैका सदस्य रहेका राष्ट्रहरूबीच दुर्लभ विवाद निम्त्याएको छ।

मड्रिडले एक महिनाका लागि लागु गरेको सो नियम इटली हुँदै स्पेन जाने तेस्रो देशका नागरिकहरू मात्रै नभएर इटलीकै नागरिकहरूका हकमा पनि लागु हुने छ।

मोरक्कोको तट हुँदै हजारौँको सङ्ख्यामा आप्रवासीहरू स्पेनको स्यूटा प्रवेश गरेसँगै इटलीले गत साता स्पेन हुँदै आफ्नो देश आउने तेस्रो देशका नागरिकहरूमाथि सीमामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

इटलीको प्रतिबन्धबाट चिढिएको स्पेनले इटलीमाथि पनि उस्तै किसिमको कडाइ घोषणा गरेको हो।

त्यसअघि स्पेनले शुक्रवार इटलीलाई नियन्त्रणको निर्णयहरू आइतवारसम्म फिर्ता लिन आग्रह गरेको थियो।

तर रोमले कम्तीमा १५ अगस्टसम्म सीमा नियन्त्रण कायम रहने जनाएको छ। त्यसअघि नै स्यूटामा आप्रवासीहरूको अर्को लहर आउने स्पेनले ठानेको इटलीको दबी छ।

आप्रवासी सङ्कटले स्पेनका समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेज र ईयूमा कडा आप्रवासन नीतिको पक्षमा पैरवी गरिरहेकी इटलीकी दक्षिणपन्थी प्रधानमन्त्री जोर्जा मेलोनीलाई आमनेसामने ल्याएको छ।

विवादको आरम्भ कसरी भयो

स्यूटामा प्रवेश गरेका आप्रवासीहरू समुद्रको तटमा

तस्बिर स्रोत, Getty Images

स्पेन र इटलीबीच स्थल सीमा छैन। इटलीको सरकारले स्यूटामा प्रवेश गरेका आप्रवासीहरू इटलीसम्म आउन नदिन अस्थायी रूपमा शेन्जेनको 'बोर्डर फ्री' यात्राको व्यवस्था निलम्बन गरिएको जनाएको थियो।

मड्रिडले चाहिँ स्यूटा पुगेका आप्रवासीहरूसँग शेन्जेन क्षेत्रमा प्रवेश गर्ने कुनै आधार नभएको दाबी गर्दै इटलीको भनाई आधारहीन रहेको बताएको छ।

इटलीले स्पेनको कुनै पनि चेतावनी स्वीकार नगर्ने र देशको सुरक्षा तथा आतङ्कवादसम्बन्धी जोखिम पूर्ण रूपमा समाप्त नभएसम्म स्पेनबाट आउने गैरयुरोपेली नागरिकहरूका लागि शेन्जेनको व्यवस्था निलम्बनमा पुनर्विचार नगर्ने जनाएको छ।

इटलीका अधिकारीहरूले स्पेन र अन्य युरोपेली देशबाट आउने यात्रुहरूको सहजताका लागि स्थानीय अधिकारीहरूले सम्भव भएसम्म सबै प्रयास गरिरहेको बताएका छन्।

रोमले स्पेनी नागरिकहरू अतिरिक्त जाँचबाट मुक्त रहेको र थप जाँच केवल गैरयुरोपेली नागरिकहरूका हकमा मात्र लागु भएको दोहोर्‍याएको छ।

स्पेनको अखबार एल पाइसले पछिल्ला दिनहरूमा स्पेनबाट आउने यात्रुहरूलाई विमानस्थलमा छुट्टै लाइनमा राखेर जाँच गरिएको र त्यहाँ लामो लाइन देखिएको जनाएको छ।

मड्रिडको जबाफी कदमले इटलिका नागरिक तथा अन्य देशबाट आएका यात्रुहरूको राहदानी, राष्ट्रियता र भिसा जाँच हुने छ। स्पेनको सरकारले यसलाई "निरन्तरको अनियमित आप्रवासन दबाव" को प्रतिक्रिया भनेको छ।

स्पेनले गर्ने जाँच सेप्टेम्बर ७ सम्म कायम रहने जनाइएको छ। यद्यपि अवस्था परिवर्तन भए अवधि थप हुन सक्ने सरकारको सङ्केत छ।

फिनल्यान्ड र डेनमार्क इटलीको पक्षमा

स्यूटामा प्रवेश गरेका आप्रवासीहरू

तस्बिर स्रोत, Reuters

शेन्जेन सम्झौताको अस्थायी निलम्बन नयाँ अभ्यास भने होइन। इटलीले स्लोभेनिआसँगको सीमामा पनि यस्तै नियन्त्रण कायम राखेको छ।

फिनल्यान्ड र डेनमार्कले शेन्जेनको यात्रा व्यवस्था एक महिनाका लागि निलम्बन गर्ने इटलीको निर्णयलाई समर्थन गरेका छन्।

चेक रिपब्लिकले स्पेनको सदस्यता नै अस्थायी रूपमा निलम्बन गर्नुपर्ने सुझाव दिएको छ।

गत साता स्यूटामा पुगेका अधिकांश आप्रवासीहरू केही दिनभित्रै फिर्ता पठाइएका थिए।

तर नाबालक र त्यसमध्येका पनि केही "अत्यन्तै ससाना बालबालिका" सहित करिब १,४०० जना अझै स्पेनमा छन्।

स्पेनले मोरक्कोबाट आप्रवासीको दोस्रो लहर आउनसक्ने कुनै औपचारिक घोषणा गरेको छैन। तर पुनः प्रवेश गर्ने योजना मोरक्कोका सामाजिक सञ्जालहरूमा फैलिएको स्पेनी अखबार एल पाइसले जनाएको छ।

स्पेनी प्रधानमन्त्रीको कार्यालयले परिस्थितिमाथि निगरानी भइरहेको र गत साताको जस्तो अवस्था दोहोरिने अपेक्षा नगरिएको जनाएको छ।

दशौँ हजार आप्रवासीहरूले एकै पटक स्यूटा प्रवेश गर्ने प्रयास किन गरे भन्ने कुरा अझै स्पष्ट छैन।

तर ईयूका आप्रवासन सम्बन्धी आयुक्तले गलत सूचना फैलाउने आपराधिक सञ्जालहरूबाट त्यो समूह प्रभावित भएको हुन सक्ने बताएका छन्। स्पेनी सरकारले पनि यो दाबीमा समर्थन गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।