'अल्ट्रासाउन्ड ब्रा' लगाउँदा चाँडै स्तन क्यान्सर पत्ता लाग्न सक्छ

पहिरिन मिल्ने उपकरणको माध्यमबाट स्तनलाई विभिन्न एङ्गलबाट स्क्यान गर्न मिल्छ
तस्बिरको क्याप्शन, पहिरिन मिल्ने यस्तो उपकरणको माध्यमबाट स्तनलाई विभिन्न कोणबाट स्क्यान गर्न मिल्छ
    • Author, आइलिन याजन
    • Role, बीबीसी टर्किश
  • Published

पहिरिन मिल्ने अल्ट्राउन्ड उपकरण आफ्नो ब्रा कपमाथि जडान गरिएको कल्पना गर्नुहोस्। तपाईँले एक कप कफी पिइरहँदा त्यसले तपाईँको स्तनमा ट्यूमर छ कि छैन जाँच्न सक्छ।

टर्कीका वैज्ञानिक डा कानन दाग्देभराइनले म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी)को मिडिया ल्याबका टोलीहरूसँग मिलेर यो प्रविधि विकास गरेकी हुन्। उनले स्तन क्यान्सरका कारण ज्यान गुमाएकी आफ्नो एक आफन्तको सम्मानमा उक्त उपकरण बनाएकी हुन्।

उक्त उपकरणले उच्च जोखिम भएका बिरामीहरूलाई म्यामोग्राम गर्ने उपकरणहरूको बीचमा नियमित अनुगमनको मौका दिन्छ।

स्तन क्यान्सर महिलाहरूमा देखा पर्ने सबैभन्दा बढी देखिने खालको क्यान्सर हो। सन् २०२० मा २३ लाख महिलामा उक्त क्यान्सर देखिएको थियो र छ लाख ८५ हजार जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ।

महिलाहरूको ज्यान लिने दोस्रो प्रमुख कारण स्तन क्यान्सर हो।

 दाग्देभराइन एमआईटीमा प्राध्यापन गर्छिन्।
तस्बिरको क्याप्शन, दाग्देभराइन एमआईटीमा प्राध्यापन गर्छिन्

अमेरिकन क्यान्सर सोसाइटीले स्तन क्यान्सर प्रारम्भिक र प्राथमिक चरणमा नै पहिचान भएको खण्डमा औसत पाँच वर्ष बाँच्ने सम्भावना ९९ प्रतिशत रहेको जनाएको छ।

डा दाग्देभराइनले उक्त उपकरणले जीवित रहने प्रतिशत बढाउन सक्ने बताइन्।

हाल ढिलो गरी स्तन क्यान्सर पहिचान गरिएका व्यक्ति जीवित रहने सम्भावना २२ प्रतिशत मात्रै छ।

यो उपकरणले कसरी काम गर्छ?

एमआईटीका वस्तुसम्बन्धी वैज्ञानिक र इन्जिनियर क्यानन दाग्देभराइनलाई सबैभन्दा पहिला यस्तो उपकरण बनाउने सोच अस्पतालमा आफ्नी आफन्तसँग अस्पतालमा बसिरहेको समयमा आएको थियो।

नियमित रूपमा स्तनको जाँच गराए पनि ती आफन्तलाई आक्रामक खालको स्तन क्यान्सर भएको थियो र क्यान्सर पहिचान भएको छ महिनाभित्र उनको मृत्यु भयो।

त्यो तन्किने र पुन: प्रयोग गर्न मिल्ने खालको प्याच हो जुन ब्रासँग जोडिएको हुन्छ।

यो प्रयोग गर्न अर्को व्यक्तिको सहयोग चाहिँदैन।

सानो अल्ट्रासाउन्ड स्क्यानरलाई स्तनको तस्बिर लिनका लागि ६ मध्ये एउटा कुनै ठाउँमा राख्न मिल्छ
तस्बिरको क्याप्शन, सानो अल्ट्रासाउन्ड स्क्यानरलाई स्तनको तस्बिर लिनका लागि छमध्ये एउटा कुनै ठाउँमा राख्न मिल्छ

मौरीको चाकाको आकारको उक्त उपकरणमा छवटा स्लटहरू छन् र त्यहाँ बीचमा साना अल्ट्रासाउन्ड क्यामरा राखेर स्तनलाई सबै दिशाबाट हेर्न सकिन्छ।

त्यसले 'अल्ट्रासाउन्ड जेल' बिनै काम गर्छ।

डा दाग्देभराइनका अनुसार उक्त उपकरणले ०.३ सेन्टिमिटर व्यास भएको सिस्ट (गिर्खा)हरूलाई पनि पहिचान गर्न सक्छ। त्यो आकार ट्यूमरको प्रारम्भिक चरणको जत्रै हो।

"त्यही भएर त्यसले कुनै पनि अस्वाभाविक कुरा पत्ता लगाउन सक्छ।”

म्यामोग्राम के हो?

स्तन क्यान्सर पहिचान गर्ने सबैभन्दा चल्तीको विधि म्यामोग्राम हो। त्यसमा स्तनको एक्स-रे गरिन्छ।

एक्स-रे गर्दा विकिरण शरीरभित्र प्रवेश गर्छ र त्यहाँको तस्बिर खिचिन्छ।

तर धेरै देशमा म्यामोग्राम महँगो छ। सरकारी स्वास्थ्य प्रणालीले त्यसको खर्च बेहोरिदिँदैन।

स्तन क्यान्सर

किन केही महिलालाई स्तनमा दुख्छ?

“प्रत्येक व्यक्तिमा निजका स्तन विशिष्ट हुन्छन् र त्यहाँ भित्रको ग्रन्थि र बोसो भएको तन्तुको फरकपन आफ्नै खालको हुन्छ,” कन्सल्टेन्ट रेडिओग्राफर हेलेन युल भन्छिन्।

धेरै ग्रन्थि भएका महिलाहरू बढी बोसो भएका तन्तुसहितको स्तन भएकाहरूको तुलनामा म्यामोग्रामका समयमा असहज महसुस गर्छन्। होर्मन परिवर्तन गर्ने थेरपीले पनि स्तनलाई संवेदनशील बनाउन सक्छ।

युलका अनुसार म्यामोग्राम कस्तो हुन्छ भन्ने महिलाहरूको अपेक्षाले पनि भूमिका खेल्छ।

म्यामोग्रामको समयमा असहजता रोक्ने केही साधारण उपायहरू पनि छन्। जस्तै महिनावारी हुनुभन्दा एक साता पहिले वा महिनावारीको समयमा म्यामोग्राम गराउने प्रयास गर्नुपर्छ वा त्यसअघि पारासिटामोल सेवन गर्नुपर्छ।

अल्ट्रासाउन्ड ब्रा कसका लागि हो?

अध्ययनहरूले ट्यूमरहरू नियमित म्यामोग्राम गर्दा बीचको अवधिमा पनि विकासित हुन सक्ने देखाएका छन्। स्तन क्यान्सरको हकमा त्यस्तो बीचको अवधिमा विकास भएका क्यान्सर २० देखि ३० प्रतिशत छन्।

एमआईटीको टोलीले ती ट्यूमरहरू नियमित परीक्षणको समयमा पहिचान हुनेभन्दा अझ आक्रामक हुने गरेको बताएको छ।

यो उपकरण स्तन क्यान्सरको उच्च जोखिम भएका महिलालाई उपलब्ध गराउन सकिने र यसले दुईवटा म्यामोग्राम वा स्वयं गर्ने परीक्षणको अवधिबीचको समयमा पनि ट्यूमर आएको थाहा पाउन सघाउने भनिएको छ।

तर अनुसन्धानकर्ताहरूले “कुनै समस्या देखिए, म्यामोग्राम अझ पनि चाहिने” उल्लेख गरेका छन्।

अल्ट्रासाउन्ड ब्रा

यो उपकरण कहाँ विकास गरियो?

एमआईटीमा पहिरिन मिल्ने स्वास्थ्य उपकरणहरूका बारेमा काम गरिरहेका टोलीहरूले साढे छ वर्ष लगाएर यो उपकरण विकास गरेका हुन्।

अमेरिकामा त्यसलाई पेटन्ट अधिकार दिइएको थियो र अहिले पनि मानवमा परीक्षण चलिरहेको छ।

एउटा उपकरणका लागि झन्डै १,००० डलर आवश्यक पर्छ तर आविष्कारकर्ताहरूले ठूलो परिमाणमा उत्पादन हुन थालेपछि मूल्य घट्ने बताएका छन्।

यो चारदेखि पाँच वर्षसम्म चल्छ।

तपाईँले प्रत्येक दिन स्क्यान गर्नुभयो भने “एउटा स्क्यानको मूल्य एक कप कफीको दामभन्दा सस्तो पर्ने” अनुसन्धान टोलीको आकलन छ।

एमआईटी
तस्बिरको क्याप्शन, आफ्नी आफन्त अस्पतालको शय्यामा भएका बेला दाग्देभराइनले बनाएको उक्त उपकरणको स्केच

महिलाहरूका लागि आशा

अध्ययनहरूले ढिलो गरी स्तन क्यान्सर पहिचान हुने भएकाले र स्वास्थ्य सेवामा पर्याप्त पहुँच नहुने भएकाले विकासशील देशमा स्तन क्यान्सरका कारण धेरै जनाको मृत्यु हुने गरेको देखाएका छन्।

डब्ल्यूएचओको तथ्याङ्कले उच्च आय भएका देशमा स्तन क्यान्सरपछिको पाँच वर्ष जीवित रहने सम्भावना ९० प्रतिशतभन्दा बढी देखाउँछ।

तर भारतमा त्यो ६६ प्रतिशत र दक्षिण अफ्रिकामा जम्मा ४० प्रतिशत मात्रै छ।

स्तन क्यान्सर

यो उपकरणलाई शरीरका अन्य अङ्ग स्क्यान गर्न पनि प्रयोग गर्न सकिन्छ।

डा दाग्देभराइनले पोहोर आफू गर्भवती हुँदा बच्चालाई स्क्यान गर्न त्यसको प्रयोग गरेकी थिइन्।

“मेरी आन्टी जम्मा ४९ वर्षमै बित्नुभयो। मर्ने कुरा उहाँको मनमा कतै आएको थिएन। उहाँले त्यस्तो ब्रा लगाएको भए कस्तो हुन्थ्यो होला?” उनी भन्छिन्।

इसारिया प्राइथिन्याइमद्वारा थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।