चीनको 'मोटोपन घटाउने जेल'भित्रको दैनिक जीवन

शिविरकी सहभागी टिएल ह्वाङ्

तस्बिर स्रोत, TL Huang

तस्बिरको क्याप्शन, प्रशिक्षकहरूले सहभागीहरूलाई पत्रु खानेकुरा (जङ्क फूड) ल्याउन रोकेको एक सहभागी टिएल ह्वाङले बताइन्
    • Author, सेरा बेल
    • Role, ग्लोबल डिजिटल हेल्थ
  • पढ्ने समय: ६ मिनेट

एउटा ठूलो हलभित्र मानिसहरू कसरत गरिरहेका, क्यान्टिनको खाना खान लाइन लागेका तथा डर्मीटरीमा जस्तै लहरै राखिएका पलङमा सुतेका भिडिओहरू सामाजिक सञ्जालभरि छाएका छन्।

यी कुनै विलासी स्पा होइनन्, बरु चीनमा रहेका सैन्य शैलीका तौल घटाउने शिविर हुन्। कतिपयले "मोटाहरूको जेल" पनि भन्ने गरेको यी सैन्य शैलीका शिविरमा 'स्न्याक' खानेकुरामा कडा प्रतिबन्ध अनि दिनमा दुईचोटि अनिवार्य तौल मापन गरिन्छ।

मोटोपन विस्तारको सङ्कटबाट प्रभावित चीनभरि यस्ता शिविरको सङ्ख्या करिब १ हजार रहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। करिब ६ सय डलर तिरेपछि तपाईँले यस्ता शिविरमा एक महिना बिताउन सक्नुहुन्छ। यो शुल्कले त्यहाँको खाना, बसाइ तथा दैनिक कसरत कक्षा समेट्छ।

कन्टेन्ट क्रिएटर टीएल ह्वाङले शिविरको अनुभव इन्स्टाग्राममा साटेकी छन्। बीबीसी विश्व सेवाको 'ह्वाट इन द वर्ल्ड' पड्कास्टसँग कुरा गर्दै उनले त्यहाँ "एकदमै जेलजस्तो अनुभव भएको" बताइन् किनभने २८ दिनसम्म उनले शिविर छाड्न पाइनन् र निरन्तर तौल नापिरहनु पर्‍यो।

"हामीले कतै लुकाएर कुनै किसिमको पत्रु खाना ल्याएका छौँ कि अनि सबै कक्षामा हाजिर भइरहेका छौँ कि छैनौँ भनेर प्रशिक्षकहरूले हामीलाई सुपरिवेक्षण गरिरहन्थे। कक्षामा गयल हुन वा कुनै उचित कारणविना शिविर छाड्न मनाही गरिएको थियो," उनले भनिन्।

ह्वाङले तौल घटाउन उक्त विधि प्रभावकारी भएको बताइन् तर पोषणविद्हरूले चाहिँ त्यस्ता कडा विधिले गम्भीर भौतिक तथा मनोवैज्ञानिक जोखिम उब्जाउने बताएका छन्।

"केही शिविरहरूले औसतमा दैनिक १ किलोग्राम तौल घटाउने लक्ष्य राखेका हुन्छन्। तर मेडिकल सुपरिवेक्षणमा पनि वयस्कहरूका निम्ति सुरक्षित मानिने स्तरभन्दा यो निकै बढ्ता हो," शारीरिक प्रशिक्षक तथा पोषणविद् ल्युक हेनाले बताए।

उसो भए यी शिविर कसरी सञ्चालन हुन्छन् अनि कसरी यति धेरै लोकप्रिय भए?

'परिवर्तन गर्ने समय'

शिविरमा कसरत हुँदै

तस्बिर स्रोत, TL Huang

तस्बिरको क्याप्शन, शिविरमा हरेक दिन चार घण्टाको कसरत हुने टीएल ह्वाङले बताइन्

यस्ता शिविरबारे ह्वाङले पहिलो पटक आफ्नी आमाबाट थाहा पाइन्। चीनका विभिन्न ठाउँमा एक्लै घुमेपछि उनलाई आफू अलि अस्वस्थ बनेको अनुभव भयो, उनी सामान्य समयतालिकामा बस्न सकिनन् अनि धेरै बाहिरका खानेकुरा खानुपर्‍यो।

तीन वर्षको अवधिमा आफ्नो २० किलो वजन बढेको उनले बताइन् - अनि आफन्तहरूले गरेका टिप्पणीपछि अब आफूलाई "परिवर्तन गर्ने समय" आएको उनले ठानिन्।

"मलाई लाग्यो मोटो भएकामा मलाई गिज्याउन थालियो," उनले भनिन्।

शिविरमा पुग्दा उनलाई धेरै कुरा अचम्मका लागे तर वजन घटाउने समान लक्ष्यसहित भेला भएका सहभागीहरूबीच मित्रता पनि गाँसियो।

हरेक दिन बिहानको ७ः३० बजे वजन नापेसँगै सुरु हुन्थ्यो। दिनभरिमा चार घण्टाको कसरत हुन्थ्यो, जसमा स्पिन क्लासेस, ट्र्याम्पोनिङ, हाइ इन्टेन्सिटी इन्टर्भल ट्रेनिङ (एचआईआईटी) तथा भारोत्तोलनलगायतका क्रियाकलाप हुन्थे।

बिहानको खानामा चार वटा उसिनेको अण्डा, आधा पारिएको गोलभेडा र दुई टुक्रा काँक्रा हुन्थे। एउटा भिडिओमा ह्वाङले दिउँसोको खानेकुराको मूल्याङ्कन गर्छिन् - जसमा प्रोन, बफ्याइएको तरकारी र तोफु वा बफ्याइएको माछा, चिनियाँ सेलरी, बफ्याइएको साग र काउली हुन्थे।

खानेकुरा "राम्रो, सन्तुलित अनि चिनियाँ भान्छामा दैनिक हुन सक्ने" किसिमको रहेको उनले बताइन्।

सहभागीहरूलाई रातिको खानापश्चात् एक घण्टाको स्पिन क्लास (जिममा चलाइने साइकल)मा भाग लिन भनिन्थ्यो र फेरि रातिको ७ः३० बजे वजन नापिन्थ्यो। त्यसपछि उनीहरूले नुहाउन र आराम गर्न पाउँथे।

पहिलो साता ह्वाङलाई उक्त समयतालिका निकै अनौठो लागेको थियो। तर अर्को तीन साता त्यस्तै गरिरहनुपर्ने थियो। साथीहरूसँग उनले निरन्तर मेसेज गरिरहिन्।

त्यहाँको अवस्था जेलजस्तो रहेको बताए पनि ह्वाङलाई २८ दिनमा करिब ६ किलोग्राम वजन घटेपछि त्यसले फाइदा नै गरेको अनुभव भयो।

'स्वाभाविक विकासमा बाधा'

कम्मर नाप्दै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कडा विधिले तौल घटाउँदा मोटोपनाको मूल कारण सम्बोधन नहुने र फेरि तौल बढ्ने बताइन्छ

तर विज्ञहरूले यस्तो अभ्यासमा सावधानी अपनाउन भनेका छन्। तौल घट्दा तपाईँको बोसोसहित मांसपेशीका तन्तु पनि घट्ने हुँदा यस्ता शिविरको शैली चिन्ताजनक हुने लन्डनका प्रशिक्षक ल्युक हेनाले भने।

बालबालिका वा युवाहरूले यस्तो तरिकाले वजन घटाउँदा समस्या झने हुने बताइन्छ।

"तपाईँले स्वाभाविक विकासमा बाधा पुर्‍याइरहनुभएको हुन्छ। पछि गएर तपाईँ कति अग्लो हुने हो भन्ने जस्ता विषयमा वा तपाईँको हड्डीको स्वास्थ्यमा यसले प्रभाव पार्छ," उनले भने।

खानपिनमा गडबडीजस्ता मनोवैज्ञानिक समस्याको जोखिम पनि यसले बढाइदिन सक्छ।

"केही मानिसहरूले धेरै वजन घटाएका हुन्छन् र त्यस्तो सुन्दा यो आकर्षक लाग्न सक्छ। तर सामान्य जीवनशैलीमा फर्कनेबित्तिकै ती कैयन् मानिसको वजन फेरि बढ्न थाल्छ किनभने तिनको मोटोपनाको मूल कारण सम्बोधन गरिएको हुँदैन," उनले भने।

यूकेको न्याश्नल हेल्थ सर्भिसले विस्तारै वजन घटाउन सिफारिस गर्छ - करिब आधा देखि १ किलोग्रामसम्म।

हेनाका अनुसार बरु मानिसहरूले उनीहरूको सामान्य जीवनशैलीमा नै विस्तारै परिवर्तन गर्नेतर्फ ध्यान दिनुपर्छ - नियमित पोषणपूर्ण खानाको मजा लिने, पर्याप्त प्रोटीन खाने र सजाय पाएको जसरी नगरी रमाइलोसँग व्यायाम गर्ने।

वास्तवमा आफ्ना पछिका इन्स्टाग्राम भिडिओहरूमा टीएल ह्वाङले घर फर्कँदा सबभन्दा गाह्रो भएको उल्लेख गरेकी छन् किनभने "सामान्य" खानपान कस्तो हुन्छ भन्ने उनको शरीरले बिर्सियो।

स्वस्थ्य पोषणमा कम्तीमा पाँच भाग फलफूल र तरकारी प्रतिदिन हुनुपर्छ तथा एक हप्तामा करिब १५० मिनेट (साढे दुई घण्टा) सक्रिय हुनुपर्छ।

गुलिया पेय पदार्थको साटो पानी पिउनु अनि धेरै बोसो र धेरै चिनी भएका खानेकुराबाट टाढा रहनु फाइदाजनक हुन्छ।

भेदभाव

कसरत गर्दै टीएल ह्वाङ

तस्बिर स्रोत, TL Huang

तस्बिरको क्याप्शन, चीनमा मोटोपना भएका मानिसहरू भेदभावका सिकार हुन सक्ने वान्चिङ जाङले बताए

बीबीसीको ग्लोबल चाइना यूनिटका वान्चिङ जाङका अनुसार सन् २००० को सुरुतिर एउटा टेलिभिजन कार्यक्रमले यस्ता शिविरबारे सामग्री प्रसारण गरेपछि यस्ता शिविर धेरै देखिए। तर यसको धेरै विस्तार चाहिँ सामाजिक सञ्जालको विस्तारसँगै बितेको एक दशकमा भएको छ।

"यदि तपाईँले चिनियाँ सामाजिक सञ्जाल हेर्नु भयो भने तपाईँले शिविर सञ्चालकबाट वा सहभागीबाट राखिएका निकै धेरै किसिमका सामग्री देख्नुहुन्छ," जाङले भने।

कुनै शिविर ह्वाङले बताएको जस्तो हुन्छ भने कुनै अझै कडा हुन्छ, जहाँ सहभागीहरू रहने वासस्थलबाहिर सीसीटीभी जडान गरिएका हुन्छन् - बाहिरबाट कसैले खानेकुरा मगाएका छन् कि भनेर जाँच्न।

अनि कुनै कुनै चाहिँ शान्त तलाउको सामुन्ने आरामसित ट्रेडमिल चलाउन पाइने खालका विलासी पनि हुन्छन्।

यी सबैको मूल कारण भनेको विश्वभर बढ्दै गएको मोटोपना हो - करिब दुईतिहाइ देशहरूमा त्यहाँका आधाभन्दा धेरै वयस्कहरूलाई मोटोपना भएको भनेर वर्गीकरण गरिएको पाइन्छ। चीनमा करिब ३४% वयस्कहरूको तौल बढ्ता रहेको अनि करिब १६% लाई मोटोपना नै भएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

अनि यसमा सांस्कृतिक पक्ष पनि रहेको जाङले बताए। "चीनमा कार्यस्थलमा वा डेटिङ दुनियाँमा मोटोपना भएकाहरूले भेदभाव बेहोर्नुपरेको हुन्छ।"

भात, डम्प्लिङ तथा चाउचाउमा हुने प्रशोधित कार्बोहाइड्रेट एउटा समस्या हो। साथै संसारभरिका मानिसहरूले बाहिर हिँडडुल गर्नुभन्दा खाली समय घरभित्र तिनको फोन वा ट्याब्लेटमै बिताउने गर्छन्।

यसबीच ह्वाङको इन्स्टाग्राममा अब उनी थाईल्यान्ड पुगेको र त्यहाँको अर्को ३० दिने तौल घटाउने शिविरमा सहभागी भएको देखिन्छ, जहाँ उनी चर्को गर्मीमा दैनिक दुई घण्टा कसरत गरिरहेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।