युक्रेनद्वारा रुसमाथि 'हालसम्मकै भीषण' ड्रोन हमला

मस्को क्षेत्रमा ड्रोन हमलाको असर

तस्बिर स्रोत, Vorobiev Live / Telegram

Published
पढ्ने समय: ३ मिनेट

युक्रेनमाथि सन् २०२२ मा अतिक्रमण गरेयता रुस सबैभन्दा भीषण ड्रोम हमलामा परेको देखिएको छ।

देशका १४ वटा क्षेत्रमा रातभरि ५५६ वटा ड्रोन खसालेको रुसी सेनाले जनाएको छ।

मस्को क्षेत्रमा कम्तीमा तीन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

राजधानीदेखि उत्तरमा पर्ने खिम्कीस्थित एउटा घरमा एक महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर एन्ड्रेई भोरोबिएभले बताए।

ड्रोन हमलामा परी पोगोरेल्की गाउँमा अर्का एक पुरुष र एक महिलाको मृत्यु भएको हो।

क्षेत्रीय गभर्नर भोरोबिएभका अनुसार ड्रोन हमलामा परी तीन पुरुष र एक महिला घाइते भएका छन् भने कैयौँ घरहरूमा क्षति पुगेको छ।

निशानामा तेल केन्द्र

युक्रेनले निशाना बनाएका स्थानमध्ये राजधानीस्थित प्रमुख तेल प्रशोधन केन्द्र पनि रहेको छ।

मस्कोका मेयर सेर्गेई सोबियानिनका अनुसार उक्त केन्द्रमाथि हमला गरिँदा १२ जना घाइते भएका छन्।

रुसी ड्रोन हमलामा युक्रेनमा आठ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।

यसअघि शुक्रवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कडा जबाफ दिने बताएका थिए।

रुसले युक्रेनमाथि १,५०० ड्रोन प्रहार गर्दा २४ जना मारिएपछि जेलेन्स्कीले उक्त चेतावनी दिएका थिए।

"राति ३ बजेदेखि हवाई प्रतिरक्षा फौजहरूले ठूलो सङ्ख्यामा ड्रोनहरूलाई निस्तेज पारिरहेका" क्षेत्रीय गभर्नर भोरोबिएभले आइतवार सबेरै टेलिग्राममा लेखेका थिए।

मस्कोदेखि दक्षिण-पश्चिममा पर्ने सुबोटिनो गाउँमा एउटा निजी घरमा आगलागी भएको भोरोबिएभले बताए।

युक्रेनले मस्को क्षेत्रमा गरिएका पछिल्ला ड्रोन हमलाहरूबारे कुनै प्रतिक्रिया दिएको छैन।

पाँचौँ हिस्सामाथि कब्जा

जेलेन्स्कीले एअरक्राफ्ट, एउटा हेलिकप्टर र एउटा कार्गो जहाजसहित ठूलो मूल्यका रुसी सैन्य उपकरणहरू ध्वस्त पारिएको शनिवार बताएका थिए।

"ठूलो दूरीसम्मका हाम्रा आक्रमणले रुसी तेल केन्द्रहरू तथा जहाजहरूलाई निशाना बनाएका छन्," ड्रोन हमलाहरूलाई इङ्गित गर्दै जेलेन्स्कीले भने, "हाम्रा अधिकांश कारबाही अझै जारी छन्।"

पछिल्ला महिनाहरूमा युक्रेनी सेनाले रुसका महत्त्वपूर्ण ऊर्जा केन्द्रहरूमाथि आक्रमण तीव्र पारेको छ।

युद्ध जारी राख्न ती केन्द्रहरूले भूमिका निर्वाह गर्ने भएर तिनीहरू वैध निशाना भएको किएभले बताउने गरेको छ।

युक्रेनमा भएको क्षति

तस्बिर स्रोत, Dnipropetrovsk regional administration / Telegram

पछिल्लो विवरण अनुसार रुसले शनिवार अबेर रातियता २८७ वटा ड्रोन प्रहार गरेको युक्रेनी हवाई फौजले जनाएको छ।

उसका अनुसार २७९ वटा ड्रोन खसालिएको अथवा निस्तेज पारिएको छ। तर आठ वटा ड्रोनले विभिन्न सात स्थानमा प्रहार गरेको उसले जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको अतिक्रमण थालेकामा मस्कोले अहिलेसम्म झन्डै २० प्रतिशत युक्रेनी भूभागमाथि कब्जा गरिसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।