सुरुङभित्र फसेकाहरूलाई नवौँ दिनसम्म पनि किन निकाल्न सकिएन?

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र त्यसभित्र रहेका उत्पादन केन्द्र ('पावरहाउस')हरूमा मानिसहरू थुनिएको नौ दिन बितिसक्दा पनि अहिलेसम्म चार जनाभन्दा बढीको जीवित उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

विभिन्न जलविद्युत् आयोजनाका सुरुङ संरचनाभित्रबाट तीन वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। बिहीवार लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट थप दुई जनाको शव निकालिएको आयोजनाका प्रवर्धकले बताएका छन्।

कैयौँ दिनको प्रयासबाट पनि जलविद्युत्‌को सुरुङमा फसिरहेको ठानिएका १५० जनाभन्दा धेरै मानिसहरूसम्म उद्धारकर्मी किन पुग्न सकिरहेका छैनन्?

बीबीसीले सुरुङ प्रविधिका जानकार, उद्धारस्थलमा रहेका व्यक्ति र अधिकारीहरूलाई यसबारे सोधेको छ।

'सुरुमा अनुमति दिएको भए ...'

बाढीको नवौँ दिनमा बिहीवार नेपाली सेनाले रसुवाको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकाल्यो।

यसअघि उद्धारकर्मीहरू उक्त आयोजनामा बाढी पसेको सुरुङबाट प्रवेश गर्ने प्रयास गर्दा १०० मिटरभन्दा भित्र जान सकेका थिएनन्।

नेपाली सेनाले आयोजना आफैँलाई विज्ञहरू र प्राविधिक लैजान सुरुमा अनुमति दिएको भए सुरुङभित्र फसेका धेरैलाई जीवितै निकाल्न सकिने आफूहरूलाई लागेको आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले बीबीसी नेपालीसँग बताए।

"हामीले पहिलो दिनबाटै हाम्रा प्राविधिक मान्छे लगिदेऊ भनेको हो। जलविद्युत् अरूजस्तो संरचना होइन। हामीलाई अनुमति दिएको भए धेरैलाई बचाउन सकिन्थ्यो भन्ने लाग्छ," भट्टराई भन्छन्।

आयोजना आफैँलाई उपकरण र प्राविधिक लैजान अनुमति दिएलगत्तै उनीहरूले मानिसहरू फसेको ठाउँसम्म पुग्ने बाटो बनाएको भट्टराईले दाबी गरे।

"हाम्रो प्राविधिक टीम बाइफर्केशन पाइपबाट भित्र पसेर पेनस्टकको पाइपबाट माथि पुगेर त्यहाँ प्वाल पारियो। हामीलाई जहाँ मानिसहरू फसेका छन् भन्ने जानकारी थियो, त्यसमा मान्छे भित्र छिर्ने प्वाल बनायौँ। त्यहाँबाट सेना भित्र पसेर शवहरू निकालिरहेको छ," भट्टराईले भने।

उनका अनुसार यसअघि उनीहरू रहेको आशङ्का गरिएकै ठाउँमा सुरुङको १५० मिटर भित्र दुई जनाको शव निकालिएको थियो।

सुरुङबाट ल्याइएको पानी तीव्र गतिमा पावरहाउससम्म पठाउन प्रयोग गरिने 'पेनस्टक' पाइपको मुखसम्म जानका लागि पावरहाउसभन्दा माथिबाट १५० मिटर लामो सुरुङ बनाइएको थियो। त्यही ठाउँमा काम गरिरहेका १५ जना सम्पर्कविहीन भएको आयोजनाको दाबी छ।

सुरुङ र पावरहाउसमा किन पुग्न सकिएन?

अधिकारी र आयोजना सञ्चालकहरूको आकलनअनुसार भोटेकोशी-त्रिशूली जलाधार क्षेत्रमा रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजनामध्ये हालसम्म पाँच वटा आयोजनाका सुरुङमा वा सुरुङभित्र रहेका पावरहाउसमा मानिसहरू फसिरहेका छन्।

रसुवागढी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली १ र त्रिशूली ३ ए आयोजनाका सुरुङ वा यससँग सम्बन्धित संरचनामा १५० जनाभन्दा धेरै मानिसहरू फसिरहेको मानिएको छ।

सांसद समेत रहेका सुरुङ इन्जिनियर श्रीराम न्यौपाने जलविद्युत् आयोजनाका सुरुङबाहिर बाढीले लेदो र 'घरजत्रा' ठूला ढुङ्गा ल्याएर थुपारेका कारण छिचोलेर भित्र प्रवेश गर्न नसकिएको बताउँछन्।

माथिल्लो त्रिशूली ३ 'ए' मा रहेर उद्धारमा समन्वय गरिरहेका न्यौपानेले उक्त आयोजनामा सुरुङको मुख पत्ता लगाउनै समय लागेको बताए।

अन्य सुरुङमा पनि सुरुङको विशेषताअनुसार फरकफरक उपाय लगाइएको उनी बताउँछन्।

"त्रिशूली बगेर आएको दिशातिरै मुख भएका सुरुङभित्र त लेदो पसेको हुन्छ, ठूलाठूला ढुङ्गा र गेग्र्यान पसेका हुन्छन्। भित्र गएर माथिल्लो भागमा पानी अनि तल खस्रा वस्तु र ढुङ्गा बसेका हुन्छन्," न्यौपाने भन्छन्।

"त्यहाँ तालिमप्राप्त उद्धार टोली नै जाने हो। तर लेदोले भरिएर थुनिएको सुरुङमा चाहिँ बाहिर निकाल्ने प्रविधि र त्यहीअनुसारका मशीनहरू चाहिन्छन्।"

नुवाकोटको सदरमुकामभन्दा उता बाटो 'ध्वस्त' भएका कारण आवश्यक उपकरण लैजान नसकिएको नेपाली सेनाले बताएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पनि कैयौँ आयोजनाका सुरुङको मुखमा हेलिकप्टर र सुरुङभित्र जम्मा भएको वस्तु हटाउने उपकरण राख्ने ठाउँ नभएको बताए।

"सुरुङभित्र छिर्ने ठाउँमा हेलिकप्टर उतार्ने ठाउँसमेत छैन। त्यसकारण ठूला उपकरण लगेर हामीले सुरुङभित्रको अवरोध खोल्न सकेका छैनौँ," बस्नेतले बीबीसी न्यूज नेपालीसँग भने।

सैन्य प्रवक्ता बस्नेतले हालसम्म चार जनाको सुरुङभित्रबाट र २८९ जनाको सुरुङ क्षेत्रबाट जीवित उद्धार गरिएको बताएका छन्।

सुरुङ इन्जिनियर छत्र बस्नेत भन्छन्, "माथिल्लो भेगमा रहेका जलविद्युत् आयोजनाहरूमा सुरुङको मुख नै सबै तासेर लगेको छ। त्यसले गर्दा हेलिकप्टरहरू राख्नलाई 'प्ल्याट्फर्म' पनि भएन। माथिल्लो त्रिशूली ३ 'ए' बाट डिपोजिशन अर्थात् माथिबाट बगाएर ल्याएका सामान थुपार्ने क्रम सुरु भयो," बस्नेत भन्छन्।

"हाम्रो जलविद्युत् आयोजनाका सुरुङका मुखहरू खोलातर्फ नै फर्किएका कारण त्यहाँबाट बाढीसहित हिलो, ढुङ्गा र खोलाले बगाएर ल्याएका अरू कुराहरू पनि छिरेको हुनाले सुरुङमा उद्धार गर्ने काम जटिल बन्न गयो।"

सुरुङभित्रको पावरहाउमा २५ जना हाराहारी मानिसहरू फसिरहेको ठानिएको माथिल्लो त्रिशूली ३ 'ए'को मुख्य प्रवेशद्वार खोलाको सतहभन्दा ३०-३५ फीट माथि थियो। मुख्य प्रवेशद्वारभन्दा पनि नौ फीट माथि अर्को केबल टनेल थियो। तर अहिले त्यस भन्दा पनि ४०-५० फीट माथिसम्म बाढीले ठूल्ठूला ढुङ्गा, गेग्र्यान र पक्की स्ल्याबहरू ल्याएर अडिट टनेल समेत पुरेको आयोजनास्थलमा रहेका नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउत बताउँछन्।

त्यसै गरी सबैभन्दा धेरै ११५ जना मानिसहरू फसिरहेको ठानिएको माथिल्लो त्रिशूली १ आयोजनामा खोलाबाट पानी प्रवेश गराउने मुहानदेखि पहिलो अडिट टनेलबीचको चार किलोमिटर सुरुङ क्षेत्रमा कामदारहरू फसिरहेको ठानिएको छ। यो ठाउँमा ठूला ढुङ्गा, गेग्र्यान र माटोले पुरिएको अनि त्यहाँभित्र प्रयोग भएका मशीन, ट्रकहरू त्यहाँ आएर अड्किएको आयोजनाका महाप्रबन्धक गिरिराज अधिकारी बताउँछन्।

कहाँ चुक्यो उद्धार?

सुरुङभित्र फसिरहेका मानिसहरूका परिवारले सरकारले अन्तर्राष्ट्रिय विज्ञ टोली र प्राविधिक उपकरण ल्याउन ढिलो गरेको गुनासो गरिरहेका छन्।

अमेरिकाले उपलब्ध गराएका सुरुङभित्र लैजान सकिने साना अत्याधुनिक उपकरणहरू बुधवार मात्रै काठमाण्डू आइपुगेका छन्। यसअघि उपकरणको अभावमा कोरियाबाट आएको प्राविधिक उद्धार टोलीले काम अघि बढाउन नसकेको विवरण आएका थिए।

"आफ्ना तर्फबाट भएको स्रोतसाधन प्रयोग गरिरहनुभएकै छ तर सही औजार र उपकरण, सही जनशक्ति र सही विधिको चाहिँ अलि कमी भएको देखिन्छ," सुरुङ इन्जिनियर बस्नेत भन्छन्।

"सही मानिसहरूलाई सही समयमा खोज र उद्धार लगाएको भए राम्रो हुन्थ्यो। त्यो भनेको आयोजनाका डिजाइनर, इन्जिनियर र निर्माण व्यवस्थापकसहितको टोलीलाई पनि संलग्न गराउनुपर्ने प्रमुख काम हो। तर सही उपकरण नभएसम्म त्यहाँ जो गए पनि केही गर्न सकिँदैन। उद्धारस्थलमा उपकरणहरूको प्रयोगमा कमी देखिन्छ।"

नागढुङ्गा सडक आयोजनाको प्रमुख रहेर काम गरिसकेका सांसद न्यौपाने नेपाली जनशक्तिले नै ४०० किलोमिटरभन्दा धेरै सुरुङ बनाइसकेको अनुभव भए पनि उद्धारमा भूबनोट र बाढीको क्षतिको स्तरले उद्धारमा समय लागेको बताउँछन्।

"हामीलाई सबै उपकरण हुँदा पनि एक दिनमा ८० देखि १०० मिटरभन्दा सुरुङ खन्न सकिँदैन। खन्नभन्दा खोल्न छिटो हुन्छ तर त्यहाँ जान र उपकरण पुर्‍याउनै समस्या भयो। अर्को कुरा, हामीसँग अत्याधुनिक उपकरण पनि नभएकै हो," उनले भने।

लाङटाङ खोला आयोजनाका प्रबन्ध निर्देशक गिरिराज अधिकारी अहिलेको विपत्तिले नेपालीलाई ठूलो पाठ सिकाएको बताउँछन्। उनले कैयौँ देशहरूमा कोइलाखानीका सुरुङमा पुरिएका मानिसहरूको सकुशल उद्धार भएको उदाहरण दिँदै नेपालको उद्धार प्रक्रियाको समीक्षा हुनुपर्ने बताए।

"अब कसैलाई दोष दिएर अर्थ छैन। तर मलाई नेपाली सेना यसमा अब्बल छ जस्तो लागेको थियो। तर उहाँहरूसँग पनि उद्धारकर्मी मात्रै हुनुहुँदो रहेछ, उपकरण रहेनछ," उनले भने।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले प्रभावित क्षेत्रका विद्युत् आयोजनाका सुरुङमा खोज र उद्धारका लागि हेलिकप्टरहरू परिचालन गरिए पनि जटिल भूबनोटका कारण उद्धार कठिन भएको बताएका थिए। तर कतिपयले उद्धारमा निजी क्षेत्रको संलग्नता र विदेशी विज्ञ तथा उपकरण मगाउन भएको ढिलाइबारे सरकारमाथि प्रश्न गरिरहेका छन्।

"हामीले उद्धारमा सही विधि प्रयोग गर्‍यौँ कि गरेनौँ? भनेर सोच्ने बेला आएको छ। हामी सुरुङ खन्ने विधि बनायौँ तर थुनिएको ठाउँमा के गर्ने भन्ने विधि बनाउनुपर्ने रहेछ भन्ने महसुस पनि गरायो," बस्नेत भन्छन्।

सुरुङ इन्जिनियर बस्नेत भविष्यका लागि योजना बनाउन अहिलेको घटनाले ठूलो पाठ सिकाएको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।