तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरमा 'कैयौँ मानिस फसे'
दक्षिणपश्चिम जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कैयौँ मानिसहरू फसेको अधिकारीहरूले बताएका छन्।
म्याग्निट्यूड ७.१ का गएपछि कुमामोतोस्थित इओन मलमा विस्फोटन भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आपत्कालीन सेवाहरूले त्यहाँ "धेरै मानिसहरू" फसेको बताएका छन्।
क्यूशू टापुको भित्री भागमा स्थानीय समयानुसार दिउँसो ४:२७ बजे भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने डेढ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ।
भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो। तर एक घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो।
कुमामोतोको क्षेत्रको काशिमा नगरमा "एउटा शपिङ कम्प्लेक्सको दोस्रो तल्ला भत्किँदा कैयौँ मानिसहरू भित्रै फसेका छन्," अग्निनियन्त्रण विभागले एउटा विज्ञप्तिमा भनेको छ।
शक्तिशाली परकम्प आउन सक्ने चेतावनी
जापान विश्वमै भूकम्पको बढी जोखिममा रहेको देशहरूमध्ये एक हो। त्यहाँ एक वर्षमा करिब १,५०० वटाजति भूकम्प जाने गर्छन्।
अहिलेको भूकम्प जमिनमुनि १० किलोमिटरको गहिराइबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ।
राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडिओमा सडक तथा पुलहरू चर्किएका र कैयौँ भवनहरूमा आगो लागेको देखिएको छ।
"हामी अझै पनि घाइते र सम्पत्तिमा पुगेको क्षतिबारे विवरण सङ्कलन गर्दै छौँ। तर मलाई प्राप्त जानकारीअनुसार अहिलेसम्म कैयौँ मानिस घाइते भइसकेका छन्," प्रधानमन्त्री सनाए ताकाइचीले भनिन्।
एनएचकेका अनुसार घाइतेमध्ये १० जनाजति वृद्धवृद्धा हेरचाह केन्द्रमा बसोबास गर्ने व्यक्ति थिए भने कम्तीमा ५० जनाको अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।
जापानको मन्त्रिपरिषद्का मुख्यसचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपत्कालीन सेवाका टोलीहरू परिचालन गरिएका छन्।
"कम्पन तीव्र भएका क्षेत्रका बासिन्दाहरूलाई रेडिओ, टेलिभिजन र इन्टरनेटमार्फत् स्थानीय अधिकारीहरूले जारी गरेका सूचनाहरूमा ध्यान दिन र शान्त भई काम गर्न हामी आग्रह गर्द छौँ," उनले भने।
गत डिसेम्बरमा पूर्वोत्तर जापानमा म्याग्निट्यूड ७.५ को भूकम्प जाँदा ३० जना घाइते भएका थिए।
मार्च २०११ मा जापानको पूर्वी भागमा म्याग्निट्यूड ९.० को भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। त्यसमा परी १८,००० जनाको मृत्यु भएको थियो।
आणविक ऊर्जा केन्द्र 'सुरक्षित'
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले सामाजिक सञ्जालको प्ल्याट्फर्म 'एक्स'मा पोस्ट गर्दै भूकम्पले "केन्द्रविन्दुबाट झन्डै १०० किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुऱ्याएको र यो सञ्चालनमै रहेको" जनाएको छ।
"आईएईएले स्थितिको अनुगमन जारी राख्ने छ," उसले भनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।