वार्ताका लागि अमेरिकी दूत पाकिस्तान जाँदै, तर इरान भन्छ 'प्रत्यक्ष वार्ताको योजना छैन'

तस्बिर स्रोत, AFP via Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ र उनका ज्वाइँ ज्यारड कुश्नर इरानसँगको थप वार्ताका लागि शनिवार पाकिस्तान जान लागेको ह्वाइट हाउसले जनाएको छ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेर विदेशमन्त्री अब्बास अराग्ची इस्लामाबाद पुगिसकेका छन्। तर इरानको विदेश मन्त्रालयका प्रवक्ताले प्रत्यक्ष वार्ताको योजना नभएको र उनले पाकिस्तानी उच्च पदस्थ अधिकारीहरूसँग मात्रै भेट गर्ने बताएका छन्।
पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत त्यसबारे सन्देश सम्प्रेषित गरिने इरानी दाबी छ।
इस्लामाबाद पुगेका विदेशमन्त्री अराग्चीले पाकिस्तानका फिल्ड मार्शल असीम मुनिरसँग भेट गरेको इरानी सञ्चारमध्यमले जनाएका छन्।
अराग्चीले पाकिस्तानका बैठकहरूपछि आफू ओमान र रुस जाने बताएका छन्। सामाजिक सञ्जालमा उनले गरेको पोस्टमा ती भ्रमणहरू आफ्ना साझेदारहरूसँग द्विपक्षीय विषयमा समन्वय गर्ने र क्षेत्रीय विकासमा परामर्श गर्ने उद्देश्यले हुन लागेका हुन्।

तस्बिर स्रोत, Getty Images
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिले इरानमा सत्ता चलाइरहेका व्यक्तिहरूसँग अधिकारीहरूले छलफल गरिरहेको बताएका थिए।
उनका अनुसार इरानले अघि सारेको प्रस्तावमा अमेरिकी पक्षले आफ्नो धारणा बनाउने छ।
अमेरिकी दूतहरू आउने तयारीसँगै पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा व्यवस्था बढाइएको छ।
पछिल्लो तयारी पाकिस्तानको अनुरोधमा युद्धाविराम अनिश्चितकालका लागि लम्ब्याउने राष्ट्रपति ट्रम्पको निर्णयसँगै आएको हो। अमेरिकाले तेहरानले एकीकृत प्रस्ताव ल्याउने अपेक्षा गरिएको बताएको छ।
युद्धविराम यता होर्मुज जलमार्गको विषयलाई लिएर वशिङ्टन र तेहरानबीच द्वन्द्व बढेको छ। इरानको परमाणु क्षमता र विभिन्न प्रोक्सी समूहहरूलाई उसले गरेको भनिएको समर्थनले पनि दुरी बढाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























