बाढी आएका नदीमा मात्रै सात जलविद्युत् आयोजना, क्षतिको लेखाजोखा यस्तो छ

रसुवागढी जलविद्युत् आयोजनाको बाँध
तस्बिरको क्याप्शन, रसुवागढी जलविद्युत् आयोजनाको बाँधबाट केरुङ नाका नजिकै देखिन्छ (फाइल तस्बिर)
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नेपाल-चीन मितेरी पुलभन्दा ५०० मिटर मात्र तल रसुवागढी जलविद्युत् आयोजनाका लागि पानी लैजाने बाँध थियो।

सोमवार रातिको बाढीले उत्तरी छिमेकी चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने उक्त पुल मात्रै बगाएन, १११ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँध नाघेर खोला बगिरहेको भिडिओहरूमा देखिन्छ।

तिब्बतबाट आएको बाढीले त्रिशूली नदीको माथिल्लो क्षेत्रका तीन वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। तिब्बतबाट आएर रसुवागढीमा मिसिने ल्हेन्दे र केरुङ खोला अर्थात् तल्लो क्षेत्रमा त्रिशूली भनिने नदीमा मात्रै सात वटा जलविद्युत् आयोजनाहरू सञ्चालनमा छन्।

बाढीका कारण मङ्गलवार त्रिशूलीमा सञ्चालित सबै जलविद्युत् आयोजनाहरूबाट उत्पादन बन्द गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताएका छन्।

"त्रिशूलीमा रहेका सबै आयोजनाहरूबाट आज (मङ्गलवार) उत्पादन बन्द गरिएको छ। राष्ट्रिय प्रसारणमा करिब ३०० मेगावाट आपूर्ति रोकिँदा हुँदा विद्युत् निर्यात प्रभावित भएको छ," उनले भने।

विद्युत् प्राधिकरणले रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनर्निर्माणका लागि ठूलो खर्च र लामो समय लाग्न सक्ने आकलन गरेको छ।

चिलिमे जलविद्युत् आयोजनामार्फत् नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी रहेको उक्त आयोजनामा सर्वसाधारणहरूको पनि उल्लेख्य लगानी छ। उक्त आयोजनाबाट गत वर्ष पुसबाट मात्रै व्यावसायिक रूपमा जलविद्युत् उत्पादन सुरु भएको थियो।

कुनकुन आयोजनामा पुग्यो क्षति

चिलिमे जलविद्युत् आयोजना
तस्बिरको क्याप्शन, चिलिमे जलविद्युत् आयोजना

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूली जलाधार क्षेत्रको नेपालतर्फ सबैभन्दा माथि रहेको रसुवागढी जलविद्युत् आयोजनामा तिब्बतबाट आएको बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको छ।

"यसमा कति क्षति भयो भन्ने आकलन हुनै बाँकी छ। तर हेर्दा पुनर्निर्माणका लागि लामै समय लाग्ने देखिन्छ," प्राधिकरणका प्रवक्ता ढकालले भने।

प्राधिकरणका अनुसार लेदोसहितको पानी परेका कारण चिलिमे जलविद्युत् आयोजना बन्द गरिएको छ।

"प्रारम्भिक रूपमा चिलिमेमा सामान्य खालकै क्षति होला भन्ने अनुमान छ। पावरहाउसमा सफा गरे पुग्छ भन्ने छ," उनले भने।

बाढीबाट क्षति बेहोरेको एक जलविद्युत् सबस्टेशन
तस्बिरको क्याप्शन, जलविद्युत् आयोजनासँगै नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा पनि बाढीले क्षति पुर्‍याएको छ

मैलुङनजिकै रहेको प्राधिकरणकै त्रिशूली थ्री 'ए'मा पनि बाढीले क्षति पुर्‍याएको छ।

"त्यसमा पनि दुई वटा गेटमा क्षति छ। पावरहाउसको भित्र चाहिँ खासै समस्या छैन भन्ने कुरा आएको छ," प्राधिकरणका प्रवक्ता ढकालले भने।

जलविद्युत् आयोजनासँगै नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा पनि बाढीले क्षति पुर्‍याएको छ।

"सबैभन्दा धेरै क्षति चाहिँ त्रिशूली थ्री-बीको सबस्टेशनमा भएको छ। खोलाले त्यहाँ बाटो बदलेर कटान गरेको कुरा आएको छ," उनले भने।

त्रिशूली जलाधार क्षेत्रमा कुनकुन आयोजना छन्?

सान्जेन जलविद्युत् आयोजना
तस्बिरको क्याप्शन, सान्जेन जलविद्युत् आयोजना भने सञ्चालनमै रहेको विद्युत् प्राधिकरणले जनाएको छ

रसुवागढीसँगै तिब्बत हुँदै त्रिशूलीमा आउने जलाधार क्षेत्रमा स्याफ्रुबेँसीनजिकै नेपाल विद्युत् प्राधिकरणको लगानीकै चिलिमे जलविद्युत् आयोजना छ।

प्राधिकरणको ५१ प्रतिशत शेअर स्वामित्व रहेको चिलिमेबाट स्याफ्रुबेँसीमा २०६० भदौबाट २२.१ मेगावाट बिजुली उत्पादन भइरहेको छ। मङ्गलवारको बाढीका कारण यो आयोजना पनि बन्द गरिएको छ।

स्याफ्रुबेँसीनजिकै तर रसुवागढीबाट आउने बहावले नभेट्ने नदीमा सान्जेन जलविद्युत् आयोजना पनि अवस्थित छ। यो क्षेत्रमा रहेका आयोजनामध्ये सान्जेनबाट मात्रै विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ।

रसुवाकै हाकुबेँसीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना निर्माणाधीन छ। प्रत्यक्ष वैदेशिक लगानीमा बन्दै गरेको यो आयोजनामा नौ वटा कम्पनीको लगानी छ। निजी जलविद्युत् उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार यो आयोजनामा उल्लेख्य क्षति पुगेको छैन।

साथै मैलुङमा ६० मेगावाट क्षमताको त्रिशूली थ्री ए जलविद्युत् आयोजना छ। उक्त आयोजनाबाट छ वर्षअघिमात्रै विद्युत् उत्पादन सुरु भएको हो। यो आयोजनामा पनि उल्लेख्य क्षति नपुगेको प्रारम्भिक अनुमानमा देखिएको प्राधिकरणले जनाएको छ।

त्यसभन्दा तल प्रधानमन्त्री केपी शर्मा ओलीको पनि लगानी लगेको त्रिशूली थ्री बी जलविद्युत् आयोजना छ।

'जनताको जलविद्युत् कार्यक्रम' अन्तर्गत बन्दै गरेको ३७ मेगावाट क्षमताको यो आयोजनाका लागि प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा १० हजार कित्ता शेअर किनेका थिए। उनकी पत्नी राधिका शाक्यसहित तत्कालीन मन्त्री, प्रशासन र सर्वसाधारणहरूले पनि यो आयोजनामा लगानी गरेका थिए।

त्यसै गरी त्रिशूली नदीमै नुवाकोटको बेत्रावती बजारनजिकै २७ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना छ। यो पनि बाढीपछि बन्द गरिएको छ।

नुवाकोटको बट्टार बजारनजिकै त्रिशूली नदीमै रहेको १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना पनि बन्द गरिएको प्राधिकरणले जनाएको छ।

निजी क्षेत्र पनि चिन्तित

जलविद्युत् आयोजनाको तस्बिर

पछिल्लो बाढीका कारण निजी क्षेत्र पनि चिन्तित बनेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।

यसअघि गएको असोज अन्तिममा आएको बाढीले निजी क्षेत्रले उत्पादन गरेका २० वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको थियो। उक्त बाढीले पुर्‍याएको क्षतिका कारण राष्ट्रिय प्रसारण लाइनमा १,००० मेगावाट विद्युत् कम भएको नेपाल विद्युत् प्राधिकरणले त्यस बेला जनाएको थियो।

ऊर्जामन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा मात्रै २ अर्ब ४५ करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक आकलन सार्वजनिक गरेका थिए।

त्यसअघि साउनमा हिमताल फुटेर थामेमा आएको बाढीका कारण पाँच वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। तीमध्ये नाम्चे जलविद्युत् आयोजनामा करिब २० करोड रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरिएको थियो।

यसअघि सन् २०१४ मा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोका कारण सानिमा जलविद्युत् कम्पनीको सुनकोशी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो। पहिरोले नदी थुनेर ताल बन्दा उक्त आयोजनाको पावरहाउस एक महिनाभन्दा लामो समयसम्म डुबानमा परेको थियो।

"यस्तो किसिमको बाढी आउँदा निजी क्षेत्रका ऊर्जा उत्पादकहरूलाई लगानीको चिन्ता हुने नै भयो, देशकै चिन्ता पनि हुन्छ। जलविद्युत् आयोजनाहरूमा सुरक्षाको अधिकतम मापदण्ड पूरा गरिने भए पनि सबै प्राकृतिक विपद् आकलन गर्न सकिने किसिमका हुँदैनन्," इप्पानका अध्यक्ष कार्की भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।