त्रिशूली ३एको सुरुङभित्र फसेका मानिससम्म 'उद्धारकर्मीहरू २-३ घण्टामा पुग्ने आशा'

तस्बिर स्रोत, SHRI RAM NEUPANE
त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूबाट आवाज आएको जानकारी प्राप्त भएपछि अबको केही घण्टामा उनीहरूको उद्धार हुन सक्ने आशा नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले व्यक्त गरेका छन्। उनी आयोजनास्थलमै छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाबाट सयौँ मानिसहरू सम्पर्कविहीन भएका छन्। लाङटाङको एउटा सुरुङमा बिहीवार दुई जनाको शव फेला परेको भए पनि अरू स्थानमा फसेको ठानिएका मानिसहरूको अवस्थाबारे यसअघिसम्म कुनै जानकारी प्राप्त भएको थिएन।
"यहाँ खोजी तथा उद्धारको नेतृत्व गर्नुभएका कर्नेल गङ्गा बरालले हामीलाई भित्रबाट आवाज आएको जानकारी दिनुभएको हो," राउतले बीबीसी न्यूज नेपालीसँग बने।
"उहाँले 'हामीले यताबाट आवाज दियौँ। 'भाइहरू, हामी उद्धार टोली हो। आउँदै छौँ, धैर्यधारण गर है' भनेपछि उताबाट 'हुन्छ, हुन्छ। हामी धेरै जना छौँ' भन्ने सम्मको खबर आयो।"
उनले उद्धारकर्मीहरू त्यहाँ पुग्ने आफूहरूले आशा राखेको बताए। "अबको दुई तीन घण्टाभित्रैमा फर्स्ट आवरभित्रै सबैज नालाई निकाल्न सफल हुन्छौँ भन्ने हाम्रो उद्देश्य छ।"
गृहमन्त्री सुधन गुरुङको निर्देशन
आयोजनास्थलमा पुगेर गृहमन्त्री सुधन गुरुङ पुगेर आफूहरूलाई निर्देशन दिएको पनि उनले जानकारी दिए।
सुरुङमा उद्धारका लागि बनाइएका दुईवटा योजना (प्लान ए र प्लान बी) जारी राख्न उनले निर्देशन दिएको राउतले बताए।
उद्धारको प्रयास र मानिसहरूसँग सम्पर्क भएको विषयमा बीबीसी न्यूज नेपालीले सोद्धा नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले त्यसबारे औपचारिक तरिकाले नै जानकारी दिइने बताए।
तर बिहानसम्म सेना करिब १०० मिटर भित्र प्रवेश गरेको उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















