तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ह्वाइट हाउस नजिकै गोली चलाउने सन्दिग्ध हमलाकारी मारिए
- Author, हेलेन सुलिभान र ट्याबी विल्सन
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
संयुक्त राज्य अमेरिकामा ह्वाइट हाउस नजिकै गोली चलाउने एक जना संदिग्धलाई सिक्रेट सर्भिस एजेन्टहरूले मारिदिएका छन्।
अधिकारीहरूले एक जना शङ्कास्पद व्यक्ति राष्ट्रपति भवन नजिकैको चेक पोइन्टतर्फ गएर उसले सुरक्षा बुथमा गोली चलाएको जनाएका छन्।
एजेन्टहरूले तत्कालै जवाफी फायरिङ गरेका र त्यसबाट सन्दिग्ध हमलाकारी र सम्भवतः नजिकै रहेका एक जना व्यक्ति घाइते भएको जनाइएको छ।
आरोपित हमलाकारीलाई त्यसपछि अस्पतालमा लगिएको र त्यहाँ उसको मृत्यु भएको भनिएको छ।
उक्त घटना भएपछि संवाददाताहरूलाई सुरक्षित आश्रय प्रदान गर्नका लागि हतार हतार ह्वाइट हाउस भित्र लगिएको थियो।
त्यस बेला राष्ट्रपति ट्रम्प ह्वाइट हाउस भित्रै थिए।
ह्वाइट हाउस करेस्पोन्डेन्ट्सको डिनरमा संवाददाता र सरकारी अधिकारीमाथि एक जना बन्दुकधारीले गोली चलाएको एक महिनापछि यो घटना भएको हो।
अहिलेसम्म हामीलाई के थाहा छ?
बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजले सन्दिग्ध २१ वर्षका पुरुष नासिर बेस्ट भएको र उनीबारे सिक्रेट सर्भिसलाई पहिला नै जानकारी रहेको उल्लेख गरेको छ। उनको मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको पनि भनिएको छ।
सिक्रेट सर्भिसले एक जना नजिकै उभिएका व्यक्ति पनि गोली लागेर घाइते भएको बताएको छ र सम्बन्धित व्यक्तिको अवस्थाबारे थप विवरण दिइएको छैन।
आक्रमणमा कुनै पनि अधिकारी घाइते नभएको सिक्रेट सर्भिसले पुष्टि गरेको छ।
गोली प्रहारको उक्त घटनाबारे अनुसन्धान भइरहेको छ र ह्वाइट हाउस वरपर सडकमा आवतजावतमा लगाइएको रोक राति पनि जारी रहने ठानिएको छ।
सिक्रेट सर्भिसका अनुसार सेभेन्टिन्थ स्ट्रिट र पेन्सिलभिनिया एभिन्यू एनडब्ल्यू नजिकैको आइजेनहावर एक्जकिटिभ अफिस भवन नजिकै उक्त घटना भएको थियो। उनीहरूले सीबीएसलाई १० देखी २० पटक गोली चलेको जानकारी दिएका छन्।
सिक्रेट सर्भिसले एक जना पुरुषले झोलाबाट बन्दुक निकालेर शनिवार साँझ ६ बजेतिर गोली चलाउन थालेको उल्लेख गरेको छ।
सिक्रेट सर्भिस पुलिसले जवाफी फायरिङ गरेका थिए जुन सन्दिग्ध आक्रमणकारीलाई लागेको भनिएको छ।
सीबीएसले पछि ती व्यक्ति २१ वर्षका नासिर बेस्ट रहेको जनाएको थियो।
ह्वाइट हाउसमा छिर्ने प्रयास गर्दा सन् २०२५ को जुलाईमा उनी पक्राउ परेका थिए र त्यसपछि मानसिक उपचार केन्द्रमा पठाइएका थिए।
राष्ट्रपति ट्रम्पलाई 'बिफ्रिङ'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुकधारी विरुद्ध 'तत्काल र व्यावसायिक ढङ्गले' कारबाही गरेकोमा सुरक्षा अधिकारीहरूको प्रशंसा गरेका छन्।
एक जना अधिकारीले ट्रम्पलाई उक्त आक्रमणबारे ब्रिफिङ गरिएको सीबीएसलाई बताएका छन्।
गोली चलेको आवाज सुनिएपछि ह्वाइट हाउसमा रहेका संवाददाताहरूलाई तत्कालै ब्रिफिङ कक्षमा लगिएको थियो।
कतिपयले गोली चल्दा भिडिओ खिचिरहेका थिए र उनीहरू बोलिरहँदा गोली चलेको आवाज पृष्ठभूमिमा कैद भएको थियो।
एबीसी न्यूज संवाददाता सेलिना वाङले सार्वजनिक गरेको फुटेजमा ह्वाइट हाउसको उत्तरी बगैँचाबाहिरको क्षेत्रमा शृङ्खलाबद्ध गोली चल्दा उनले सुरक्षाका लागि ओत लागिरहेको देख्न सकिन्छ।
वाङले आफूहरूलाई दौडिएर प्रेस ब्रिफिङ कक्षमा जान भनिएको भन्दै त्यहाँ आफूहरू बसिरहेको एक्समा लेखेकी छन्।
सीबीएस न्यूजकी अशोसिएट प्रोड्युसर एमा निकोल्सनले सामाजिक सञ्जाल पोस्टमा एक जना 'न्यूज क्रु' ले रिकर्ड गर्न लागिरहँदा पटक पटक गोली चलेको आवाज आफूहरूले सुनेको भन्दै त्यसपछि जोगिनका लागि भुईँतर्फ झुकेको जनाएकी छन्।
बीबीसीले सिक्रेट सर्भिस, ह्वाइट हाउस र स्थानीय प्रहरीलाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।